जनसमुदायमा नकारात्मक सन्देश प्रवाह नगर्न नेकपा रूपन्देहीको आग्रह

जनसमुदायमा नकारात्मक सन्देश प्रवाह नगर्न नेकपा रूपन्देहीको आग्रह


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठकमा व्यक्त सार्वजनिक भएका धारणालाई लिएर पार्टी पंक्ति एवं नागरिकमा उत्पन्न चासोप्रति नेकपा रूपन्देहीले चिन्ता प्रकट गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा रूपन्देही इञ्चार्ज लीला गिरी, केन्द्रीय सदस्य तथा सहइञ्चार्ज दधिराम न्यौपाने, अर्का केन्द्रीय सदस्य तथा रूपन्देही सहइञ्चार्ज एकराज विश्वकर्मा, अध्यक्ष शिवराज सुवेदी र सचिव नारायणबहादुर जिसीले संयुक्त विज्ञप्ति जारी गरी पार्टी एकताको मूल भावनानुरूप एकताको बाँकी कार्यलाई टुङ्गोमा पु¥याई सम्पूर्ण पार्टी पङ्क्तिलाई एकताबद्ध र ऊर्जा प्रदान गर्दै अगाडि बढ्नुपर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्न जारी स्थायी कमिटी बैठक सफल हुने पूर्ण विश्वास व्यक्त गरेका छन् ।

नेपालमा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरी समाजवाद स्थापनाको ऐतिहासिक कार्यभारसहित मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी एकताबद्ध भएको स्मरण गर्दै जिम्मेवारी पूरा गर्न पार्टी शीर्ष नेतृत्वलाई उनीहरूले आग्रह गरेका छन् ।

नेताहरूको संयुक्त विज्ञप्तिमा मुलुकसामु उत्पन्न कोभिड–१९ को महामारी, सीमा समस्या र आर्थिक सङ्कट समाधान गर्न सिङ्गो राष्ट्रिय एकताका साथ अगाडि बढ्नु आजको मूलकार्यभार भएको स्मरण गराउँदै पार्टीभित्र आन्तरिक असहमतिको सन्देश सार्वजनिक गरी नेता, कार्यकर्ता र जनसमुदायमा नकारात्मक सन्देश प्रवाह नगर्न अनुरोध गरेका छन् ।

जिल्लाका केन्द्रीय सदस्य रहेका जिल्ला इञ्चार्ज तथा सहइञ्चार्जसहित जिल्ला अध्यक्ष र सचिवको संयुक्त बैठकले जारी स्थायी कमिटी बैठकमा शीर्ष नेतृत्वलाई पार्टी कार्यकर्ता र जनताको भावनानुसार सहमतिका साथ पार्टीलाई एकताबद्ध बनाएर लैजान विज्ञप्तिमार्फत आह्वान गरेको पार्टी जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईँले जानकारी गराएका छन् ।