जसले सिङ्गो शताब्दीभर निःशुल्क समाजको सेवा गरिरहे

जसले सिङ्गो शताब्दीभर निःशुल्क समाजको सेवा गरिरहे


डिल्ली अम्माई,
दमेक (बाग्लुङ)

लोक कल्याणको लागि आत्मत्याग गर्ने महापुरुषहरूमा बैदिक महर्षि दधीचिको नाम अत्याधिक आदरपूर्वक लिइन्छ । वृत्रासुर राक्षसबाट पीडित देवराज इन्द्र सहयोगको याचना गर्दै महर्षि दधीचिसँग जान चाहँदैनथे, किनकि इन्द्रले एकपटक दधीचिलाई अपमान गरेका थिए । त्रिदेवको भनाइअनुसार दधिचिको हाडबाट बनेको बज्रबिना वृत्रासुरको बध असम्भव थियो । किनकि उसलाई मार्न कठोर तपस्या वा श्रमबाट बज्रसमान बलियो ब्रह्म ऋषिको पवित्र हाड आवश्यक हुन्थ्यो । मानिन्छ कि त्यो कालमा ब्रह्मविद्याको ज्ञान संसारभर केवल महर्षि दधीचिसँग मात्र थियो । महर्षिले त्यो विद्या कुनै उपयुक्त पात्रलाई दिन चाहन्थे । स्वर्गका राजा इन्द्र ब्रह्मविद्या प्राप्त गर्नको लागि अत्याधिक इच्छुक थिए । दधीचिको दृष्टिमा कामुक र महत्वाकांक्षी इन्द्र ब्रम्हविद्याको लागि उपयुक्त पात्र थिएनन् । त्यसैले इन्द्रको अनुरोधलाई दधिचिले अस्विकार गरि दिए । दधीचिले उनको अनुरोधलाई अस्विकार गरेपछि इन्द्र रिसाए । त्यसपछि दधीचिलाई अन्य कसैलाई त्यो विद्या सिकाए मारिदिने धम्की दिएर स्वर्ग गए । महर्षिले पनि इन्द्रको चुनौतीलाई अस्विकार गर्दै उपयुक्त पात्र भेटिए ब्रह्म विद्या सिकाइदिने प्रतिउत्तर दिए ।

त्यो घटनाको केही समयपछि इन्द्रलोकबाट स्वर्गका चिकित्सक अश्विनीकुमारद्वय महर्षि दधीचिसँग ब्रह्म विद्या सिक्न आए । दधीचिले अश्विनीकुमार ब्रह्म विद्याको लागि योग्य पाए । उनले अश्विनीकुमारलाई इन्द्रसँग भएको सबै घटना बताए । इन्द्रको चुनौती थाहा पाएपछि अश्विनीकुमारले दधिचिको शीर छेदन गरी घोडाको शीर लगाएर अश्वमुखबाट ब्रहमविद्या सिके । इन्द्रले यो थाहा पाएर महर्षिको टाउको काटे । विख्यात चिकित्सक अश्विनीकुमारले तत्कालै महर्षिको असली शीर पहिलेको जस्तै गरेर लगाइदिए । त्यसपछि इन्द्रले देशद्रोहको आरोपमा दुवै अश्विनीकुमारहरूलाई इन्द्रलोकबाट निश्कासन गरिदिए ।

त्यहि कारणले इन्द्र दधीचिको अस्थिपन्जर माग्न चाहँदैनथे । देवलोकमा वृत्रासुर राक्षसको अत्याचार दिन–प्रतिदिन बढिरहेको थियो । केही सिप नलागेपछि देवराज इन्द्रले इन्द्रलोकको रक्षा र देवताहरूको भलाइको लागि देवताहरूसहित महर्षि दधीचिको शरणमा आउनै प¥यो । महर्षि दधीचिले इन्द्रलाई सम्मान गर्दै आँफूसँग आउनाको कारण सोधे । इन्द्रले महर्षिलाई आफू आउनाको सबै कारण बताए । तब महर्षि दधीचिले बिना कुनै हिचकिचाहट आफ्नो आस्थिपन्जर इन्द्रलाई दान दिन स्वीकार गरे । उनले समाधी लगाएर बसे र कामधेनु गाईलाई चाट्न लगाए । बिस्तारै शरीरको मासु सकिँदै गयो र अस्थिपन्जर मात्र बाँकी रह्यो । जसलाई देवलोकको हितको लागि समर्पित गरे र परोपकारको पराकाष्टापूर्ण ब्यवहारबाट प्रमाणित गरि देखाए । पछि दधिचिकै हाडबाट बनेको बज्रले वृत्रासुर राक्षसको बध भएको कुरा पुराणहरूमा पाइन्छ ।

भन्न खोजेको कुरा के भने, जब संसारको हितको कुरा आउँछ राज्य वा ब्याक्तिगत हित गौण हुन्छ । त्यस्तै जब देशको वा समुदायको हितको कुरा आउँछ तब ब्यक्तिको हित गौण नै हुन्छ । तर ब्यक्तिगत हित अगाडि आउन थाल्यो भने संसारमा अराजकता र स्वार्थ सिवाय केही रहँदैन । स्वार्थले गाँजेको समाजमा परोपकारको प्रकाशले आफ्नो प्रतिष्ठा अझै बढाइरहेको हुन्छ । संसारमा केही निःस्वार्थी महान् मान्छेहरू हिजो पनि थिए, आज पनि छन् र मानव सभ्यता रहेसम्म जन्मिरहने छन् ।

जन्मँदा न कोही आफ्नो हुन्छ न पराई । सबैलाई सन्तको आँखाले हेरिन्छ । सन्तका आँखा वा परम सनातनी आँखाबाट हेरिने हेराइ नै सृष्टिको सबैभन्दा सुन्दर हेराइ हो । अनपढ तर वैदिक उपचार पद्धतिको अपार ज्ञान भएका ब्यक्तिको बारेमा प्रेरणाको लागि लेख्नैपर्छ । घटना र विचारमा ‘दमेकका देवता हाम्रा मामा’नामक वृत्त प्रकाशित भइसकेपछि ती ऋषिमन भएका आधुनिक दधिचिको बारेमा अझै थप लेख्ने प्रेरणा मिलिरहेको छ । अहिलेसम्म नौ दशक काटिसकेका बाग्लुङ जिल्ला दमेकको कालापातलमा जन्मेका जयलाल सापकोटा त्यहि कोटीका परोपकारी वैद्य हुन् । उनको आयुर्वेदिक कलाबारे संसारले जान्न पाउनु जन–जनको नैसर्गिक अधिकार हो । आयुर्वेदिक उपचारका झन्डै ७० वर्षको सिङ्गो युग आफ्नो अद्भुत सेवाले उचाल्ने ती महावैद्यसँग कति यस्ता ज्ञान छन् जसलाई पुस्ता हस्तान्तरण जरुरी थियो । नेपालको वैदिक उपचार पद्धतिको लागि नेपाल वैद्यखानाले ती विधिहरू उनीमार्फत सिकेर नपालको मौलिक चिकित्सा पद्धतिको विकासलाई अझै विकसित बनाउन सक्थ्यो । तर, त्यता सम्बन्धित निकायको अझैसम्म ध्यान गएको देखिँदैन । त्यसको बारेमा उहाँ जीवित छँदै उहाँसँग गरिएको महत्वपूर्ण कुराकानीसहित नागरिक समाजमा कसै न कसैले चासो लिनु आवश्यक छ भनेरै प्रस्तुत गर्ने प्रयास गरिएको हो ।

आयुर्वेदिक औषधि विज्ञानको प्रयोग, विकास र उत्पादन विधिबारे सोधिएको एक जिज्ञासामा ९४ वर्षीय वैद्य जयलाल सापकोटा भन्नुहुन्छ, ‘हरेक जडिबुटी संकलनको एक विशेष मुहुर्त हुन्छ । त्यो औषधिमा औषधीय गुणको विकास हुन समय लाग्छ । जसरी एउटा मकैको घोगा लाग्दैमा दाना लागेको सम्झेर त्यो घोगा भाच्यौँ भने काम लाग्दैन, औषधि पनि त्यस्तै हो । वैद्यहरूले कुन औषधि कहिले भण्डारण गर्ने भनेर हमेसा हेक्का राख्छन् । ठुला दबाइहरू मध्ये केही अँधेरी रातमा टिपिन्छ । अँधेरी रातमा ती दबाइले छाडेको प्रकाशको कारणले चिनिन्छ । कुनै दबाइ जेठको उज्याली पक्षमा चन्द्रमाको प्रकाशमा टिपिन्छ । ती औषधिका फूलहरूमा चन्द्र प्रकाशमा धुवाँ निस्केको देखिन्छ । त्यो जडिबुटी नफुली खन्नु हुँदैन । कुनै औषधिको भालेमा मात्र औषधीय गुण हुन्छ, कुनै औषधिमा पोथीमा त्यो गुण हुन्छ । कुनै च्याउहरू जडिबुटी हुन्छन् जस्तो यार्सागुम्बा ।

गुर्जो तामातत्व बढी भएको निलो हुन्छ, क्षारीयतत्व बढी भएको रातो र आइरनतत्व बढी भएको कालो गुर्जो पनि दुर्लभ औषधि हो । कालो गुर्जो अँधेरीमा राति त्यसको पाचन प्रक्रिया शुरु भएको बेला खनेमा प्रभावकारी हुन्छ । ‘औषधि जतिखेरसुकै नटिप्न सुझाव दिँदै उहाँले औषधिमा प्राकृतिक गुण विद्यमान हुन पनि समय लाग्ने र कुसमयमा टिपेको औषधिले काम नगर्ने बताउनुभयो ।’ औषधिले केवल अनुभवी वैद्यलाई मात्र चिन्दछ, औषधिको प्राकृतिक मुहुर्तमा म घुम्तेको लेकमा १५ दिन र गाजा लेक एक हप्ता लगाएर औषधि सङ्कलन गर्दथेँ । केही औषधि चौरासेतिर र केही हाम्रै वरपर पनि पाइन्छन् । ठुलो दबाई लिन प्रायः घुम्टे जानु पर्दथ्यो । कुनै जेठको शुभ मुहुर्तमा फुल्दछ र मुहुर्त सकिएपछि फुलसँगै बोट पनि मर्दछ ।

उनले भन्दै गए, ‘मैले पनि गुरुहरूबाटै संकलन र प्रयोगविधि सिकेको हुँ । केही प्रयोगबाट पनि सिकेँ । गुरुहरू धेरै हुनुहुन्थ्यो । आफूले जीवनभर सेवा गरेँ तर मैले निःशुल्क वैदिक उपचार पद्धतिअनुसार परोपकार गर्ने उपयुक्त पात्र नै भेटिनँ । जनावरको रोग पहिचान र उपचारविधिबारे म आफैले विकास गरेका सुत्रहरू छन् । उपचार विधिमा उमेर तौल आदिले प्रभाव पार्दछ । जुन प्रयोगकै शिलसिलामा ज्ञान हुँदै जान्छ ।’

‘वैद्यले समुन्द्रझैँ समभाव राख्नुपर्छ । सबैको प्राणको रक्षा गर्नु नै वैद्यको धर्म हो । वैद्यको लागि देश, काल, वर्ग, जातको भेद हुनु हुँदैन । वैद्यको न कोही मित्रु हुन्छ न त शत्रु । सबै परिवारजस्तै समान प्रिय हुनुपर्छ । रावणकालमा लंकाका महान् वैद्य सुषेण जसले आफ्ना राजाका शत्रु लक्ष्मणलाई बचाएका थिए । त्यस्तै राजा भरतले राजामा हुने सुयोग्य गुण आफ्ना छोराहरूमा नदेखेपछि नागरिकमध्येबाट राजा चुनेका थिए । त्यसै सार्वजनिक जीवनमा भएकाहरूले समुहको स्वार्थलाई केन्द्रमा राखेका नजिरहरू संसारभरी प्रशस्त पाइन्छन् । राजाको देश सेवा नै प्रधान धर्म हो भने एक स्वास्थ्यकर्मीको उपचार गर्नु नै मुख्य कर्तब्य हो ।’

‘सुषेण बैद्य र राजा भरत जस्तो समभावी गुणसम्पन्न पात्रमा मात्रै युद्ध शिक्षा तथा चिकित्सा विद्या प्रदान गर्नुपर्छ । आयुर्वेदिक विद्या सिक्नका लागि कम्तीमा ५ वर्ष लाग्छ । राज्यले चाह्यो वा उपयुक्त पात्र भेटियो भने अझै केही शिक्षा हस्तान्तरण गर्न सकिन्थ्यो जस्तो लाग्छ । तर अहिले धेरै बुढो भएँ त्यसैले कान कम सुन्छु, हिँड्न अलिक गाह्रो हुन्छ । मेरो उर्जाशील कालमा सय दिनमा दश दिन पनि परिवारलाई दिन सकिनँ । परिवारलाई पनि विस्तारै बानी पर्दै गयो । सबै समय समुदायलाई दिन सक्ने मान्छे भेट्टाउन एकदम गाह्रो हुन्छ ।’

‘यो ज्ञान सुयोग्य मान्छेलाई हस्तान्तरण गर्ने चाहना थियो । समय दिन सक्ने पवित्र सोच भएको शिष्य अझैसम्म पाएको छैन । अयोग्य शिष्य प¥यो भने अस्वस्थामाको जस्तो हाल हुन्छ । हस्तिनापुरका राज गुरु दोर्णचार्यले आफ्नो पुत्रमोहमा फसेर अस्वस्थामालाई ब्रमास्त्रको शिक्षा दिए, जसको परिणामले झन्डै पृथ्वी ध्वस्त हुन पुगेको थियो । त्यसैले पराजित हुँदा समेत प्रकृतिलाई सम्मान गर्ने, परोपकारी, दयावान र सन्त भाव भएको ब्याक्ति चिकित्सा विद्याका लागि आवश्यक हुनुपर्छ भनिएको हो ।’

‘औषधि चिनेर मात्र हुँदैन, मात्रा मिलाएर ख्वाउन सकिएन भने मान्छेलाई काम गर्दैन । ठुलो दबाइ थोरै बढी भयो भने मान्छे तुरुन्तै मर्दछ । कतिपय झोल बनाएर मिलाउनु पर्छ, कतिपय धुलो बनाएर सेवन गर्नुपर्छ र केही बोधोझैँ मुखमा छाप्ने दबाइ पनि हुन्छन् ।’

‘संजीवनी पनि जडिबुटी हो, भनिन्छ त्यो धेरै जडिबुटीको मिश्रणबाट बन्दछ । जसमा आवश्यक मात्रा मिलाएको हुनु पर्छ । संजीवनीले रोगका चक्रलाई उल्टो दिशाबाट ध्वस्त पार्छ । शरीरको एक जीवित कोष मर्दा १० कोष निर्माण गर्ने औषधि भएकोले मृत संजीवनी भनिएको हो । यसले जीवित कोषलाई पुनर्जीवित गरिरहने भएकोले मान्छे नमर्ने बनाउन सक्छ । सृष्टिको नियमविरुद्ध हुने भएकोले मृत संजीवनी औषधिको सुत्र शुक्राचार्य जस्ता यो विद्याका ज्ञाताहरूले पुस्ता हस्तान्तरण गरेनन् ।’

उहाँको भनाइअनुसार जंगलमा भएका प्रकृतिप्रदत्त हरेक औसधीहरूको अथाह सम्मान आवश्यक छ । एक वैद्यले औषधिको जरा प्रयोग गरेपछि एक जरासहित त्यो औषधि त्यही सारिदिनु पर्छ वा पूरै उखेल्नु हुँदैन । काण्ड प्रयोगमा एक काण्ड छोडिदिनु पर्छ । त्यसो गरियो भने अर्को वर्ष त्यही स्थानमा औषधिले वैद्यलाई पर्खेर बसेको हुन्छ र दुर्लभ औषधिहरू लोप हुँदैनन् । कालो गुर्जो अत्यन्त दुर्लभ औषधि हो । त्यसले शरीरमा भएका ३३ थरिका गुलिया, अम्लिय रोगहरूलाई निवारण गर्छ । उहाँका अनुसार मध्येपहाडी जंगलमा पाइने दम्दमे सुक्ष्म जीवप्रतिरोधी, क्याल्सियम र फस्फोरसयुक्त जडिबुटी जसले काटेको घाउमा संक्रमण हुन दिँदैन । त्यस्तै प्राकृतिक रूपमा पहराको रसानमा पाइने दंकेर्ना यस्तो जडिबुटी हो, जसले रोगको अवधि हेरेर पन्ध्र दिनदेखि दुई महिनासम्म सेवन गरेमा अल्सर, क्यान्सर, आन्द्रा र आमासयाको इन्फेक्सन र सुगर रोगलाई ठिक पार्छ । यो त्यस्तो औषधि हो जसलाई न त नर्सरीमा उमार्न सकिन्छ न सारेर सर्दछ । यो चुन डुंगाको पहरामा बढी फैलिन्छ । सिलाजित पोटासिय र सरिरलाई चाहिने खनिज तत्वहरूको स्रोत हो ।
अन्त्यमा, उहाँले ‘कलियुगका मान्छेहरू धेरै अवगुणी, स्वार्थी र दानवीय प्रवृत्तिका भएकोले संसारले दुःख पाएको’ बताउनुभयो ।

‘जीवनमा तीन पटक बसाई सरेँ । मैले परोपकारको रथ कहिल्यै छोडिनँ, हाकिरहेँ । मलाई कालापातलबाट लामखोरिया बसाइँ सर्दा त्यस्तो केही भएन । लामखोरियामा ३१ सालमा ठुलो पैह्रो आयो । घरको आँगनसम्मै खसाल्यो । कहालीलाग्दो थियो त्यो रात । अब यहाँ केटाकेटी राख्न हुन्न भन्ने लागेर भुसालबासे जिम्मालको घर किनेर केटाकेटी सारियो । फटाहा परेछन्, किनेपछि धुरीखाँबो र बारीमा भएका सुन्तलाका बुटा मैले बेचेको छैन भनेर झगडा गरे । राम्जाली काण्ड सम्झेँ, डर लाग्यो र धुरी खाँबो उखेलेर लान दिएँ । धेरै समयसम्म मैले किनेको बारीका सुन्तला उनले टिपेर खाए । संसारमा किनेका घरको धुरीखाँबो समेत लुट्ने विचित्रका फटाहा पनि बनहुँमा थिए भन्दा अहिले जग हाँस्छ । उनको घरमा समेत पुगेर धेरै पटक बालक, वृद्ध तथा वस्तुभाउको निःशुल्क उपचार गरेको छु । त्यसैले ममा भएको कुनै पनि नकारात्मक सोच मेरो वैदिक सनातनीय सेवाभावको महासागरमा डुबेर तुरुन्त आत्महत्या गर्दछ । अनि सेवाको दौडमा रातो, सेतो, निलो, पहेँलो, हरियो र कालो केही पनि देख्दिनँ, संसार पानीजस्तै सङ्लो देखिन्छ ।’