प्रहरी प्रमुखमा थापा कि पाल ?

प्रहरी प्रमुखमा थापा कि पाल ?


नेपाल प्रहरीको नेतृत्व परिवर्तनको समय नजिकिँदै गर्दा आममानिसमा समेत भावी आइजीपी को बन्लान् भन्ने जिज्ञासा पैदा भएको छ । तर रोचक पक्ष के छ भने यसअघि आइजीपी बन्न प्रतिष्पर्धीहरूको निकै दौडधुप हुने गरेकोमा यसपटक पूर्ण शान्ति देखिएको छ । नेताहरू आफैं पनि आ–आफ्ना मानिसलाई आइजीपी बनाउन निकै चलखेल गर्ने गर्दथे, यसपालि नेताहरू समेत शान्त छन् ।

प्रतिष्पर्धीहरू शैलेश थापा र हरि पाल दुवै जना प्रहरी प्रमुख बन्न योग्य मानिन्छन् । हरि पालसँग फिल्डमा काम गरेको र कमाण्ड सम्हालेको लामो अनुभव छ भने शैलेश थापासँग प्रहरी प्रधान कार्यालयमा बसेर काम गरेको लामो प्रशासनिक अनुभव छ । दुवै एआइजीपीहरू भद्र र विवादरहित मानिएका छन् ।

शैलेश थापालाई आइजीपी बनाउन भक्तपुरका युवा नेता महेश बस्नेत, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र राजन भट्टराई विशेष रुपले क्रियाशील भएको पाइएको छ । त्यस्तै ईश्वर पोखरेल समेत थापाकै पक्षमा भएको बताइन्छ । पोखरेल, रिमाल, भट्टराई र बस्नेत लागेका हुनाले आइजीपीमा शैलेश थापाकै चयन हुन सक्ने सम्भावना ज्यादा देखिएको छ । कमाण्डको अनुभवलाई प्राथमिकतामा राखेको अवस्थामा मात्र हरि पालको पक्षमा निर्णय हुने हो, अहिलेसम्म प्रधानमन्त्रीको निकटवर्तीहरू कमाण्ड अनुभवलाई आधार मानेर आइजीपी चयन गर्ने मानसिकतामा छैनन् ।

असार २४ गते वर्तमान आइजीपीको कार्यकाल समाप्त भइ प्रहरी सङ्गठनले नयाँ आइजीपी प्राप्त गर्नेछ ।