बामदेवले नमाने देउवालाई मौका !

बामदेवले नमाने देउवालाई मौका !


आफ्नो सरकार विस्थापित गराउन र सरकारलाई काम गर्न नदिन मूख्य भूमिका निर्वाह गर्ने भनी प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ठम्याइएका प्रचण्ड र माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न नदिन अनेक विकल्प खोजिने भएको छ ।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री ओली आगामी संसदीय निर्वाचनभन्दा अगाडि नै बामदेव गौतमलाई सरकार जिम्मा लगाएर आफू मैदानमा उत्रने सोचमा हुनुहुन्छ । त्यसका निम्ति बामदेव गौतमलाई संसदीय निर्वाचनमा सहभागी गराएर प्रतिनिधिसभा भित्र्याउने निर्णय यसअघि नै सचिवालय बैठकले गरिसकेको छ । केपी ओली अब त्यसको कार्यान्वयनको पक्षमा हुनुहुन्छ र, कुन निर्वाचन क्षेत्रबाट गौतमलाई उम्मेदवार बनाउने भनी त्यसको खोजिमा गम्भीरतापूर्वक लागिपर्नुभएको बताइन्छ ।

बामदेवका लागि सांसद पदबाट राजीनामा दिने व्यक्तिलाई राष्ट्रियसभाको सदस्यसहित निकै आकर्षक अवसर उपलब्ध गराइने भएको छ । ‘लक्ड डाउन’ खोल्ने बित्तिकै एक सांसदको राजीनामा र संदीय उपनिर्वाचन घोषणा गराउने केपीको योजना रहेको छ र, उहाँले यसै साताभित्र पटकपटक भएको गोप्य बैठकमा वामदेव गौतमलाई यस कुराको जानकारी गराइसक्नुभएको बुझिएको छ । आफैं पटक–पटक प्रधानमन्त्री बन्न अग्रसर र इच्छुक प्रचण्ड र माधव नेपालहरूबाट आफूलाई प्रधानमन्त्री बन्न सहयोग पुग्ने विश्वास बामदेव गौतममा छैन । स्वयम् केपी पनि आफूलाई सरकारको नेतृत्व हस्तान्तरण गर्न तयार हुने विश्वास गौतममा रहेको बताइन्छ । त्यसैले स्थायी समितिको बैठक शुरु भएयता प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई भेटेर विश्वास दिलाउने प्रयास गर्नुभएको छ ।

राजनीतिक ‘स्टण्ट्’मा माहिर मानिनुहुने प्रधानमन्त्री केपी ओलीबाट कैयन मानिसले धोखा पाएको भए पनि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावचाहिँ ओलीको अन्तरहृदयकै आवाज भएको बुझिन्छ । यदि केपीको कुरामा वामदेव यसपटक विश्वस्त हुन सक्नुभयो भने गौतम सरकारको रक्षाका निम्ति सक्रिय हुने र ओली बामदेवलाई संसदमा भित्र्याउने तयारीमा तत्काल लागिपर्ने निश्चित छ । यदि वामदेव गौतम सरकारको नेतृत्व लिन इच्छुक हुनुभएन र प्रचण्डका कारण पार्टी विभाजन हुने स्थिति बन्यो भने केपी ओली बरु शेरबहादुर देउवाको नेतृत्वमा सहमतिको सरकार गठन गर्न अग्रसर हुने तर प्रचण्ड–माधवलाई प्रधानमन्त्री बन्न नदिने मानसिक तयारीमा रहनुभएको बुझिएको छ । त्यसैले केपीलाई पदमुक्त गरी आफूहरूले सरकारको नेतृत्व लिने प्रचण्ड–माधवको योजना त्यति सहज देखिएको छैन ।