नयाँ अवतारमा प्रकट हुँदै लोकमान

बहुचर्चित प्रशासक एवम् अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की अब नयाँ अवतारमा जनसमक्ष प्रकट हुन लाग्नुभएको छ । माथिल्लो स्तरका भ्रष्टाचार र सम्भावित भ्रष्टाचारीहरूमाथि अनुसन्धान तथा छानविन र कारवाहीको प्रक्रिया शुरु गर्न लागेपछि षडयन्त्रमुलक ढङ्गबाट २०७३ सालमा रातारात पदमुक्त गरिनुभएका कार्की केही महिना विदेशिएपछि २०७४ कार्तिकदेखि स्वदेशमा रहँदै आउनुभएको छ ।

नेपालमै भएर पनि गुमनामझैँ रहनुभएका उहाँले यो समयको उच्चतम सदुपयोग गर्दै नेपाली जनतालाई बहुउपयोगी कृति दिन लाग्नुभएको छ, तर कार्कीले तयार गर्दै रहनुभएको कृति संस्मरणात्मक या भ्रष्ट्राचार र भ्रष्ट्राचारीहरूको बारेमा हुने छैन । पाँच वर्षको अध्ययन, श्रवण र मननपश्चात लोकमान सिंह कार्कीले नेपाली भाषामा गीताको समष्टि तयार गर्नुभएको छ, जुन बाह्र सय (१२००) पृष्ठको छ ।

कार्कीले गीतालेखन शुरु गर्नुअघि गीताबारे ओशो रजनिशको विचार नियमित सुन्नुभएको थियो । त्यस्तै, कोमल गीता, स्कोनद्वारा तयार गरिएको भागवत गीता, मुकुन्दानन्दकृत गीता र गोरखपुरबाट प्रकाशितलगायतका गीताहरूको बारेमा पनि उहाँले अध्ययन गर्नुभएको थियो । उपलब्ध पुस्तक तथा श्रवण सामग्रीहरूको अध्ययनपश्चात् गीताबारे ओशो रजनीशको व्याख्या नै रसपूर्ण र सम्पूर्ण भएको उहाँको भनाई छ । कार्कीले ओशो या ओशोमार्गीहरूबाट कुनै प्रशिक्षण लिनु भएको छैन, उहाँ ओशोमार्गी पनि हुनुहुन्न, ओशो श्रवण गरेकै भरमा कार्कीले रजनिशको गीता–ब्याख्या पूर्ण र उपयोगी भएको निष्कर्ष निकाल्नुभएको छ ।

यसबारेमा घटना र विचारसँग संक्षिप्त कुरा गर्दै उहाँले भन्नुभयो– ‘आदी शङ्कराचार्यले ज्ञानमा केन्द्रीत रहँदै गीताको व्याख्या गर्नुभएको छ र उहाँले जगत मिथ्या भएको बताउँदै ज्ञानमार्गमा हिँड्नेले मात्र उन्मूक्ति प्राप्त गर्ने स्पष्ट गर्नुभएको छ । लोकमान्य तिलकले कर्ममा केन्द्रीत भएर तथा रामानुजले भक्तिमार्गलाई केन्द्रमा राखेर गीताको वर्णन गर्नुभएको छ । तर, गीताको समष्टि कर्म, ज्ञान र भक्ति हो । गीताभित्र दर्शन, विज्ञान र धर्मको मर्म छ, मानष मार्ग हुँदै अन्ततः अध्यात्ममा पुर्‍याउने क्षमता गीतामै छ ।’

कार्कीको भनाई छ– ‘म विगत १२ वर्षदेखि ओशोलाई सुन्दै थिएँ । गीताको बारेमा उहाँको जस्तो सम्पूर्ण व्याख्या मैले अरुबाट पाउन सकिनँ । ओशोको व्याख्या सुनेपछि त्यसैबाट मोती निकाल्ने प्रयास मैले गरेको छु ।’

तपाईंको अहिलेसम्मको जीवन शासकीय र प्रशासकीय कार्यमा बितेको हो, अचानक अध्यात्मतिर ढल्कनुभएछ, यसलाई निरासा या कर्म क्षेत्रबाट विरक्तिएको परिणामका रूपमा बुझ्न मिल्छ ?

हाम्रो यो प्रश्नको जवाफ दिनुअघि उहाँ हाँस्नुभयो र भन्नुभयो– ‘निराशा मेरो लाइफ–डायरीमै नभएको शब्द हो । कर्मबाट विमुख म कहिल्यै हुन सक्दिनँ । गीताले मलाई निष्काम कर्मतर्फ प्रेरित गरेको मात्र होइन वैराग्य भावमा गरिने कर्म नै उत्तम हो भन्ने ज्ञान दिएको छ । अबका मेरा कामहरू थप परिष्कृत र प्रभावी हुने आत्मविश्वास मभित्र उत्पन्न भएको छ । औपचारिक पदीय जिम्मेवारीमा मात्र सीमित हुनु परेको भए मबाट यो महान् कार्य सम्भव हुने थिएन ।’
त्यसोभए बाँकी जीवन धर्म र अध्यात्ममै समर्पित भएर बिताउनुहुने हो कि ?

– अध्यात्मिक र धार्मिक भावले गरिने कर्मको महिमा बेग्लै छ । कर्मप्रतिको विरक्ति ममा छैन, बरु जे गरिन्छ त्यो अध्यात्मिक एवम् धार्मिक भावका साथ गरिन्छ, निर्भयका साथ गरिन्छ ।

कार्कीले तयार पार्नुभएको बाह्र सय पृष्ठ लामो गीता–सारलाई आठ सयदेखि एक हजार पृष्ठमा सीमित गर्ने प्रयास अहिले भैरहेको छ र, उहाँलाई कवि एवम् उहाँकी धर्मपत्नी सुनिता कार्कीले सहयोग गरिरहनुभएको छ ।



आगामी केही महिनाभित्रै लोकमानकृत गीता नेपाली समाजलाई प्राप्त हुने भएको छ । यससँगै लोकमानसिंह कार्कीले अष्टाबक्र गीताको ब्याख्या गर्दै लेखनी शुरु गर्नुभएको छ । अष्टाबक्र गीताको १४५ सुक्तमध्ये एकसय सुक्तको ब्याख्या उहाँले गरिसक्नुभएको छ ।

प्रतिक्रिया