चाप्लुसीमै बित्यो अवालेको चारवर्षे कार्यकाल

चाप्लुसीमै बित्यो अवालेको चारवर्षे कार्यकाल


■ श्रीविक्रम भण्डारी

नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेको चारवर्षे कार्यकाल समाप्त भएको छ । अवालेको चारवर्षे कार्यकाल गत जेठ २१ गते समाप्त भएको हो । आफ्नो चारवर्षे कार्यकाल चाकरी र चाप्लुसीमै बिताएका अवालेको यो अवधि असफल मात्र नभइ उपलब्धिहीन रह्यो । अवाले असफल हुनुमा उनी स्वयम् कारण बने । आपुू सङ्घको अध्यक्ष हुँदासमेत अर्काको रिमोट कन्ट्रोलमा चल्नु उनको लागि ठूलो दुर्भाग्य बन्यो । त्यसमाथि कार्य दक्षतामा अनुभवको कमी, निर्णय शक्तिको अभाव र उनले देखाएको परजीवीको भूमिकाले अवालेलाई मात्र नभइ सिङ्गो बक्सिङ सङ्घलाई नै विवादमा तान्यो । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सानोभन्दा सानो कार्य गर्दा पनि विष्णुगोपाल श्रेष्ठ र श्याम अवालेको औंला समात्न पुगेका अवालेले यो अवधिमा स्वविवेकले कुनै निर्णय गर्नै सकेनन् । साँचो भन्नुपर्दा अवाले आवरणमा अध्यक्षको रूपमा देखिए पनि उनले चार वर्षमा गाउने, बजाउने र नाच्नेबाहेक केही कार्य गरेनन् भन्दा अतिसयोक्ति नहोला ।

आफ्नो चार वर्षे कार्यकालमा अवाले बक्सिङ खेलको विकास र विस्तारका लागि उल्लेखनिय कार्य गर्न नसकेको घामजस्तै छर्लङ्ग छ । तर अवालेले यो अवधिमा आफ्नै कार्यसमितिका पदाधिकारी महासचिव सविन भट्टराई र कोषाध्यक्ष गौतम सजखुलाई आफ्नो काम, कर्तव्य र जिम्मेवारीबाट पन्छाएर एकलौटीरूपमा तानाशाही तरिकाले सङ्घ संचालन गरेर नौंलो कीर्तिमान कायम गरे । अवालेलाई यस्तो कीर्तिमान कायम गराउन उनकै सहोदर भाइ श्याम अवालेले विशेष रूपमा सहयोग गरे । परिणाम वक्सिङ सङ्घ खेलकुद सङ्घको रूपमा नभै पारिवारिक सङ्घको रूपमा चार वर्ष चल्यो, यहि नै तीतो सत्य हो ।

त्यस्तै अवालेलाई निकम्मा तानाशाही बनाउनमा तत्कालिन राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी र राखेपका केही कर्मचारीको पनि विशेष हात रह्यो । ती पदाधिकारी र कर्मचारीले अवालेको निवासमै गएर जसरी नुन सेवन गरे त्यसको चर्चा अहिले पनि खेलकुदमा सेलाएको छैन । अझ केही कर्मचारीले आवालेबाट पाएको ‘दक्षिणा’कै कारण अवालेलाई असफल बनाउन उत्तिकै भूमिका निर्वाह गऱ्यो । जसलाई अवालेले ठूलो उपलब्धि ठाने पनि यो हरकतले उनलाई असक्षम पदाधिकारीको पहिलो पङ्क्तिमा उभ्यायो । र पनि, अवालेले आफ्नो चाकरी–चाप्लुसी गर्ने धन्धालाई निरन्तरता दिन भने छोडेनन् ।

साँचो भन्नुपर्दा अवालेको पहिलो वर्ष पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठको चाकरी चाप्लुसी र निर्देशनमै बितेको थियो । अर्थात्, बक्सिङ सङ्घ अवालेले नभै विष्णुगोपालको प्रत्यक्ष निर्देशनमा चलेको थियो । यसको प्रमाणको रूपमा बक्सिङ सङ्घको लेटरप्याडमा मानार्थ अध्यक्षको रूपमा विष्णुगोपालको नाम राखी खेलकुदका राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका निकायमा गरिएको पत्राचारबाट पनि प्रस्ट हुन्छ । जसले अवालेले विधानविपरित गैरकानुनी कार्य गरेको पुष्टि हुन्छ । यो कुराबाट पनि के पुष्टि हुन्छ भने अवाले बक्सिङ सङ्घको अध्यक्ष बन्न कति लायक थिए भनेर ।

अवालेको चारवर्षे कार्यकाल कति सफल थियो त्यो नेपाल बक्सिङ सङ्घले चार वर्षभित्र आफ्नो ब्यानरअन्तर्गत आयोजना गरेको प्रतियोगिताबाट पनि सोझै अनुमान लगाउन सकिन्छ । यो अवधिमा बक्सिङ सङ्घले आफ्नो ब्यानरमा मात्र दुई वटा प्रतियोगिताको आयोजना गरेको थियो । जबकि प्रत्येक वर्ष उमेर समुहलगायत तीनदेखि चारवटा राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुपथ्र्यो । त्यस्तै, ती प्रतियोगिताबाट उत्पादन भएका उदीयमान खेलाडीको पहिचान गरी उनीहरूलाई प्रशिक्षणमा राख्नुपर्ने थियो । तर यो चार वर्षमा त्यस्तो उल्लेखनीय र चर्चायोग्य कार्य केही भएन । पुरानै खेलाडीको भरमा बक्सिङ सङ्घ सञ्चालन भो ।

बक्सिङ सङ्घ आफ्नो काम कर्तब्य र जिम्मेवारीबाट चुके पनि अन्य गैरसरकारी संस्थाहरूले बक्सिङको राष्ट्रिय प्रतियोगिताको आयोजना गरेर इज्जत जोगाएका थिए । त्यसमा करोडौँ रूपैयाँको लगानीमा आयोजना हुने गणेशमान सिंह स्मृति राष्ट्रिय प्रतियोगिता प्रमुख थियो । जुन राखेपको विशेष सहयोगमा प्रत्येक वर्ष आयोजना गरिन्छ । यही प्रतियोगिताको भरमा खेलाडीले उच्चस्तरीय खेलमा सहभागिता जनाउन पाए । साँचो रूपमा भन्नुपर्दा यो अवधिमा समग्र बक्सिङ खेलको विकास र विस्तारका लागि यो प्रतियोगिता कोशेढुङ्गा नै बन्यो । जस्ले बक्सिङ खेलाडीको स्तरबृद्धिमा आधार स्तम्भको कार्य गऱ्यो । त्यस्तै यो चार वर्षको अवधिमा एक पटक आयोजना भएको स्व. प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताले पनि बक्सिङ खेलको विकासमा अहम भूमिका निभायो । यसको अर्थ यो अवधिमा सङ्घ मात्र तमासै मात्रै बन्यो, अर्काले रोपेको फसल काट्ने कार्य मात्रै गऱ्यो, बास्तविकता यही हो ।

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा बक्सिङ खेलमा १४ वटा स्वर्ण पदकको लागि भीडन्त भएको थियो । उक्त १४ वटा स्वर्णमध्य नेपालले आयोजकको नाताले कम्तीमा पनि ६ स्वर्ण जित्ने अनुमान गरिएको थियो । उक्त कुरा बक्सिङ सङ्घका पदाधिकारी र प्रशिक्षकले समेत दाबी गरेका थिए । तर परिणाम भने त्यस्तो आएन, नेपाल मात्र तीन स्वर्णमा खुम्चियो । यसको खास कारण थियो बक्सिङ सङ्घ राष्ट्रिय खेलकुद परिषद र गैरखेलकुद संस्थाको भरमा पर्नु । यदि राखेप र गैरखेलकुद संस्थाले बक्सिङ खेलाडीलाई प्रतियोगिता खेल्ने अवसरको नजुराएको भए सङ्घले निकै खराब नतिजाको सामना गर्नु पथ्र्यो । तर नेपाली खेलाडीहरूको उत्कृष्ट प्रदर्शनका कारण बक्सिङ सङ्घको साख बचेको हो भन्दा अन्यथा नहोला ।

यदि बक्सिङ सङ्घले आफ्नो बार्षिक कार्य तालिका अनुसार बक्सिङ प्रतियोगिताको आयोजना गर्न सकेको भए नेपालले १३औँ सागमा ऐतिहासिक उपलब्धि हासिल गर्न सक्थ्यो । आफ्नो भूमिमा आयोजना गरिएको प्रतियोगिता कीर्तिमानी स्वर्ण पदक जित्न सक्थ्यो । परिणाम, अरुको इसारामा बक्सिङ सङ्घलाई हाँकिरहेका अवाले पूर्ण रूपमा अक्षम सावित भए । नेपालले स्वर्ण अवसर गुमाउन पुग्यो । कार्य गर्ने व्यक्तिभन्दा पैसालाई बढी महत्व दिएकै कारण चर्चामा आएका अवाले १३औं सागमा खेलाडीको भन्दा आफ्नो तस्बिर मिडियामा छापेर चर्चामा आएका थिए । यो कुराले पनि अवाले बक्सिङप्रति सिरियस नभएको प्रमाणित गर्छ ।

यतिबेला अवालेको बक्सिङको चारवर्षे कार्यकाल सकिएको एक महिना बितिसकेको छ । यस्तो अवस्थामा पुनः बक्सिङ सङ्घको अध्यक्ष हुन अवालेले आफ्नो कार्यकालमा १४ जिल्ला थप गरेका छन् । थपिएका दुई–चारवटा जिल्लाबाहेक अन्यमा बक्सिङको गतिविधि नै नभएको जानकारीमा आएको छ । यस्तो अवस्थामा आगामी दिनमा हुने बक्सिङ सङ्घको निर्वाचनमा पुनः विवाद हुने पक्का छ । योभन्दा अघि बक्सिङका पूर्वअध्यक्ष रविराज थापाले १९ जिल्ला थप्दा विवाद उत्पन्न हुनुको साथै अन्त्यमा आफ्नो पद नै गुमाउनु परेको थियो । यो तथ्यले अहिले अवालेप्रति पनि सङ्केत गर्दैगर्दा उनी पनि शिकार नबन्लान् भन्न सकिँदैन ।