जनता बनेर बाँची हेर जिन्दगीका दुःखहरू

जनता बनेर बाँची हेर जिन्दगीका दुःखहरू


■ बबिता बस्नेत

प्रसङ्ग खोटाङ दिक्तेलकी शिक्षक विन्दा थापाबाट सुरु गरौँ । एक्कासी छातीमा समस्या भएपछि एम्बुलेन्सबाट काठमाडौं ल्याइयो । घान्द्राङघुन्द्रुङ गर्दै चल्ने पुरानो एम्बुलेन्स त्यति लामो बाटो हिँड्न मिल्ने खालको थिएन । तर, अरु गाडीमा आउँदा स्वीकृति लिन या भनौँ गाडीको पास लिन समय लाग्ने र त्यतिबेलासम्म बिरामीलाई जे पनि हुन सक्ने जोखिमका कारण बाटोमा ब्यहोर्नुपर्ने झन्झट खपेकाहरूले जस्तो भए पनि एम्बुलेन्समै जाने सुझाव दिएपछि त्यसरी ल्याइएको थियो । छिटो–छरितो स्वास्थ्य सेवा प्राप्त गर्न आएको राजधानी काठमाडौं उनीहरूले सोचे जति सहज थिएन । एम्बुलेन्सले नै पुऱ्याएका कारण अस्पताल पुग्न सजिलै भए पनि सार्वजनिक यातायात नचलेका कारण आफू बस्ने ठाउँ फर्कन सहज थिएन । पन्ध्र सय तिरेपछि एउटा ट्याक्सी पाइयो, धेरै ठाउँ अस्पतालका कागजपत्र देखाउनु पऱ्यो । घर पुग्न लाग्दा ट्याक्सीवालाले भने– ‘देखिहाल्नु भो, बाटोमा कस्तो गर्छन्, अब म कसरी फर्कने ? तपाईंहरूलाई ल्याइदिएबापत अब म दिनभरि कताको सडकमा थन्किनुपर्छ भन्न सकिन्न ।’

महाराजगञ्जस्थित शिक्षण अस्पतालबाट सुरु भएको हस्पिटल यात्रा सार्वजनिक यातायात नभएका कारण बासस्थान पायक पर्ने भएकाले भैंसीपाटीस्थित मेडिसिटी पुग्यो । त्यहाँ हाडजोर्नी हेर्ने डाक्टरले स्त्री–रोगसम्बन्धी डाक्टरलाई पनि देखाउन सुझाव दिए । स्त्री–रोगवाला डाक्टरले बिरामीका कागजात हेर्दै रुखो स्वरमा तपाईं भरखर तीन दिन भएछ काठ्माडौं आउनुभएको, क्वारेन्टिन नबसी अस्पताल किन आएको ? भनेर झपारिन् । त्यति मात्र होइन, उनले पहिला सिभिलमा देखाउनुभएको रहेछ, अहिले किन यहाँ आएको ? पनि भनिन् । उनको आवाजले बिरामीलाई थप नर्भस बनायो । ल्याबमा गएर रगत, पिसाब दिनुस् र क्वारेन्टिन बसेर मात्र आउनुस् भन्दै आफूले लेखेको कागज लिएर जान भनिन् । पाँच सय तिरेर गाली खाएपछि केही पनि नजँचाइ बिरामी मनमा दुव्र्यवहारको पीडा लिएर फर्किइन् । विगतमा प्रखर वक्ताको रूपमा परिचित उनले कमजोर बिरामी शरीर र हतास मानसिकताका कारण हुन सक्छ, ‘म र म जस्ता मानिस बिरामी भएका कारणले तपाईंले यो अस्पतालमा काम पाइरहनुभएको छ डाक्टरसा’ब, आफ्नो ब्यवसायिक दायित्व पूरा गर्नुस्’ भन्न सकिनन् ।

विगतमा प्रखर वक्ताको रूपमा परिचित उनले कमजोर बिरामी शरीर र हतास मानसिकताका कारण हुन सक्छ, ‘म र म जस्ता मानिस बिरामी भएका कारणले तपाईंले यो अस्पतालमा काम पाइरहनुभएको छ डाक्टरसा’ब, आफ्नो ब्यवसायिक दायित्व पूरा गर्नुस्’ भन्न सकिनन् ।

अर्कै अस्पतालमा उपचार जारी नै थियो । घरमा ९९ सय वर्षकी सासु बिरामी भएको खबर आयो । घर फर्कनका लागि गाडी खोज्दा २० हजार भाडा लाग्ने रहेछ । सार्वजनिक यातायातमा भए टाटासुमोमा तीन हजारमा पुगिन्थ्यो । अब सुरु भयो गाडीको पासको चक्कर । आफ्नो वडाबाट उनीहरू यता आउँदैछन्, बिरामी हो भन्ने पत्र ल्याएपछि काठ्माडौं जिल्ला प्रशासनबाट जानका लागि स्वीकृति पत्र लिनुपर्ने । सार्वजनिक यातायात चल्दैन, त्यहाँसम्म कसरी पुग्नु ? जसोतसो पुग्नै पऱ्यो । सिंहदरबारनजिक रहेको जिप्रकामा मानिसको घुइँचो कति भने एकले अर्को मानिसलाई नछुने अवस्था थिएन, छैन । त्याहाँ त्यतिका भीडभाडका बीच घण्टौँ कुर्नुपर्ने । केही घण्टापछि भनियो, इमेलमा पठाइदिउँला । भीडमा रहेका एक ब्यक्तिले सोधे– ‘इमेल भनेको के हो ? कहिले आउँछ ? बडो निरिह दृष्य थियो त्यो । एकछिनपछि पानी दर्कियो । अगाडि सिंहदरबार छ, छिर्न पाउने कुरा भएन, वरिपरि ओत लाग्ने ठाउँ कतै छैन, कहाँ जाने ? सैयौँ मानिसहरू खुल्ला अकाशमुनि भिजेर पास पर्खिरहेका छन् । भित्र छिर्न कसैलाई पनि दिइएको थिएन, सबै सकडमा । न त ट्वाइलेट जाने ठाउँ छ न त खानेपानी नै ।

आपत विपदमा परेका मानिसहरूका निरिह अनुहार हेर्न अहिले टाढा जानु पर्दैन, सिंहदरबारसँगै रहेको जिल्ला प्रशासन कार्यालय पुगे हुन्छ । कसैका बाबुआमा मरेका छन्, काजक्रियाका लागि आफ्नो घर जानु छ, कसैका बिरामी, कसैका के । कतिका आँखा ओभाना देखिँदैनन् तर तिनलाई गर्ने ब्यवहार भेँडाबाख्रालाई जस्तो छ । कर्मचारीहरू गेटभित्र, पास लिन गएका सर्वसाधारण गेट बाहिर । गाडीलाई पासको ब्यवस्था किन गरिएको हो ? त्यहाँ पुगेपछि बुझ्न सकिँदैन । कोरोनाकै डरले पासको ब्यवस्था गरिएको भए त्यस प्रकारको भीडभाड आँखाअगाडि राखेर पासले कोरोना भगाउँछ भन्ने ठान्नु मुर्खताबाहेक केही पनि होइन । वर्तमान परिस्थितिमा भिडभाड गर्न हुन्न भन्ने मान्यता र अभ्यास गर्नेमा यो पङ्क्तिकार पनि पर्छ । तर अहिले मुलुकमा जे भइरहेको छ, यसले सर्वसाधारणलाई जिन्दगीमा कहिल्यै नभोगेको भुक्तमान भोगाइरहेको छ । शिक्षक विन्दा थापाका आफन्तहरू अस्पताल पुऱ्याउन सक्ने थिए, गइन्, तर जसका आफन्तजन छैनन् या आफ्नो सवारी साधन छैन तिनले अस्पताल–घर कसरी गर्नु ?

गाडीलाई पासको ब्यवस्था किन गरिएको हो ? त्यहाँ पुगेपछि बुझ्न सकिँदैन । कोरोनाकै डरले पासको ब्यवस्था गरिएको भए त्यस प्रकारको भीडभाड आँखाअगाडि राखेर पासले कोरोना भगाउँछ भन्ने ठान्नु मुर्खताबाहेक केही पनि होइन ।

अहिले प्रधानमन्त्री, मन्त्रीहरू, अस्पताल, स्वास्थ्यकर्मी र उच्च तहका कर्मचारीहरूलाई कोरोनाबाहेक अन्य रोगबाट पनि मानिसहरू जोखिममा छन् भन्ने जानकारी छ जस्तो देखिँदैन । एक चर्चित अधिवक्ताले गत हप्ता पत्थरीको अप्रेशन गर्नका लागि पिसिआर टेष्ट नगरी गर्न मिल्दैन भनेर तीन दिन कुर्नुपऱ्यो । उनका अनुसार, ती तीन दिन अहिलेसम्मको जिन्दगीकै सबैभन्दा पीडादायी दिन थिए । मुटु र मृगौलाका रोगीहरूको अवस्था त्यस्तै छ । आपतकालीन अप्रेशनहरूमा रगत लिन यताबाट उता जानु पर्छ । सार्वजनिक यातायात नभएपछि हिँडेर समयमा रगत पुऱ्याउन सकिँदैन । हरेक अस्पतालमा त्यसप्रकारको समस्यामा पर्नेहरूलाई सवारी साधनको ब्यवस्था गरिदिए के जान्थ्यो ? स्वास्थ्य क्षेत्रको अहिलेको अवस्था हेर्दा यो देशमा मन्त्रीसहितको स्वास्थ्य मन्त्रालय पनि छ भनेर मान्न सकिने अवस्था छैन । भन्नलाई यस्तो बेलामा हामी सबै कोभिडमा केन्द्रित भएका छौँ भन्ने गरिएको छ । क्वारेन्टिन र आइसुलेसनहरूको हालत त्यस्तो छ । किन त्यस्तो भयो ? के गर्न सकिन्थ्यो ? सकिन्छ ? केही मतलवै छैन । अस्पतालहरूले बिरामीलाई कस्तो ब्यवहार गरिरहेका छन् ? कोरोनाका बिरामीको अवस्था के छ ? कोरोनाबाहेकका बिरामीहरूले भोगेका सास्ती या सहजताका कुरा अनुगमन गर्ने कुनै निकाय छैन । यस्तो पनि हुन्छ ? स्वास्थ क्षेत्रको लथालिङ्ग बेथिति हेर्दा यस्तो लाग्छ यो देशमा नेतृत्व भन्ने नै छैन ।

कोरोनाको सङ्क्रमण फैलने निश्चित भएपछि सरकारले एउटा उच्चस्तरीय समिति बनाएको थियो । त्यसले कोरोनालाई केन्द्रित गरेर ‘स्मार्ट वे’मा काम गर्न सक्थ्यो । विज्ञ तथा डाक्टर, अन्य स्वास्थ्यकर्मी, सरोकार पक्ष सबैलाई राखेर विभिन्न समूह बनाई काम गर्न सक्थ्यो । तर उहाँहरू काम गर्नभन्दा पनि के सामान कहाँबाट किन्दा कति फाइदा हुन्छ भन्नेतिर लाग्नुभयो । अरुलाई नैतिक साहसपूर्वक काम लगाउन आफू ‘फेयर’ हुनुपर्छ । नेतृत्वमा रहने कसैले पनि जब उत्तरदायित्व र जवाफदेहिताबाट आफूलाई टाढा राख्छ उसलाई अरुले पत्याउँदैनन्, पत्याउने वातावरण बन्दैन । अहिले अस्पतालदेखि लाशको ब्यवस्थापनसम्ममा जे–जस्ता कुराहरू देखिइरहेको छ ती सब हेर्दा हाम्रो नेतृत्व सुरुदेखि नै चुकेको देखिन्छ । नेतृत्वको दक्षता र कार्यशैली अप्ठ्यारो परिस्थितिमा देखिने हो । जुन हामीकहाँ देखिएन । गाडीको पास गृह मन्त्रालयअन्तर्गत पर्छ । गाडी यातायातले चलाउँछ, कोरोना ब्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयमा पर्छ । मन्त्रालयहरूबीच एकर्कामा संयोजन छैन । जसको मार सर्वसाधारणले भोगिरहेका छन् । यस्ता सबै कुराको एकद्वार प्रणालीबाट ब्यवस्थापन गर्नका लागि सायद उच्चस्तरीय समिति बनाइएको थियो । अवधारणा राम्रो थियो तर अभ्यास अर्कै कुरामा गएर टुङ्गियो ।

नेता र कर्मचारीबाहेक सर्वसाधरणले अहिले यो देश मेरो पनि हो भन्ने महसुस गर्न पाएका छैनन् । यो देशमा सर्वसाधारण जनता भएर बाँच्न निकै गाह्रो छ । नेतृत्वप्रति मात्र नभएर जिन्दगीप्रति नै वितृष्णा लाग्ने माहोलबाट अब जनताले मुक्ति पाउनु पर्छ ।

कोरोनाको नाम नसुन्दा पनि अस्पतालमा बिरामीहरू जान्थे । यतिका स्वास्थ्यकर्मी र अस्पतालको ब्यवस्थापन मानिसहरू बिरामी भएकै कारण चलेको थियो । कोरोना बाहेकको उपचार सुचारु राख्नका लागि सोहीअनुरुपको सुरक्षित तयारी हुनुपर्नेमा इमर्जेन्सी परेर अस्पताल पुगेको बिरामीलाई तपाईं पीसिआर गरेर आउनुस्, क्वारेन्टिन बसेर आउनुस् भन्ने अभ्यास भइरहेको छ । केही अस्पताल र क्लिनिकहरूले सुरक्षित तयारी गरेका छन् । तिनबाट सिकेर अरुलाई पनि त्यस्तो ब्यवस्था लागु गराउन सकिन्छ । यता सार्वजनिक यातायात पनि सुरक्षित तवरबाट खुलाउन सकिन्छ । एउटा गाडीमा कति जना मानिस बस्ने, सेनेटाइज अनिवार्य गर्ने, कसैले एउटै गाडीमा दुई–तीन वटा सिटको पैसा तिरेर यात्रा गर्न चाहन्छ भने त्यस्तोलाई प्रोत्साहन गर्नेलगायतका काम गर्न सकिन्छ । तर अहिलेको जुन तरिका छ, यसबाट सर्वसाधारणले जिन्दगीमा नसोचेको दुःख भोगिरहेका छन् । नेता र कर्मचारीबाहेक सर्वसाधरणले अहिले यो देश मेरो पनि हो भन्ने महसुस गर्न पाएका छैनन् । यो देशमा सर्वसाधारण जनता भएर बाँच्न निकै गाह्रो छ । नेतृत्वप्रति मात्र नभएर जिन्दगीप्रति नै वितृष्णा लाग्ने माहोलबाट अब जनताले मुक्ति पाउनु पर्छ ।