खेलकुद विकास ऐन-२०४८ खारेजी, राष्ट्रिय खेलकुद परिषद् विघटन

खेलकुद विकास ऐन-२०४८ खारेजी, राष्ट्रिय खेलकुद परिषद् विघटन


खेलकुद विकास ऐन, २०४८ खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई प्रमाणीकरण गरेपछि खेलकुद विकास ऐन, २०४८ खारेज भएको हो । राष्ट्रपति भण्डारीले यही असार ११ गते नयाँ खेलकुद ऐनलाई प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ प्रमाणीकरण भएसँगै ऐन प्रमाणीकरण भएको मितिको सातौँ दिनदेखि प्रारम्भ हुने ऐनमा व्यवस्था गरिएको छ । जसअनुसार आज (असार १७ गते बुधबार) रातको १२ बजेदेखि राष्ट्रिय खेलकुद परिषद् स्वतः विघटन हुनेछ । त्यसपछि राखेप सञ्चालन गर्न मन्त्रीपरिषद्बाट ७ जनाको कार्यसमिति गठन गरिने ऐनमा व्यवस्था छ ।

नयाँ ऐनले पुरानो खेलकुद विकास ऐन २०४८ लाई खारेज गरे पनि विगतको परिषद्को कार्यसमितिको बारेमा केही उल्लेख गरेको छैन । यसरी पुरानो ऐनअन्तर्गत नियुक्ति पाएका खेलकुदका पदाधिकारीहरू असार १८ गते बिहीबारदेखि स्वतः खारेजीमा परेका छन् ।

प्राप्त जानकारीका अनुसार युवा तथा खेलकुद मन्त्रालयले असार १७ गते बुधबार परिषदलाई पत्राचार गर्दैछ । अब मन्त्रालयले कस्तो किसिमको पत्राचार गर्छ त्यसपछि मात्रै राखेपका पदाधिकारीहरूको टुङ्गो लाग्ने छ । वर्तमान अवस्थामा मन्त्रालयले यिनै पदाधिकारीलाई दोहऱ्याउने सम्भावना प्रवल छ ।