■ केशवप्रसाद भट्टराई
१. हालै आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले परोक्ष रूपमा आफूलाई हटाउन भारत सक्रिय रहेको आरोप लगाउनु भयो ।
यो नेपालमा निरन्तर लगाइने गरिएको सस्तो र रून्चे राजनीतिक आरोप हो ।
अघिल्लो पटक आफूलाई हटाँइदा पनि उहाँले दोष भारतलाई दिनुभएको थियो ।
सबैलाई थाहा छ, त्यसपटक उहाँलाई हटाउने प्रतक्ष भूमिकामा रहनुभएका प्रचण्ड नै अहिले उहाँको दलको कार्यकारी अध्यक्ष हुनुहुन्छ ।
ओलीजीले नै प्रचण्डसँग पार्टी एकता गर्नुभएको हो ।
एकताका बडे–बडे गुड्डी हाक्नु भएको हो ।
२. अहिले पनि उहाँलाई हटाउने भूमिकामा मूलतः प्रचण्ड नै हुनुहुन्छ तर ओली भारतलाई दोष दिइरहनु भएको छ ।
एक्लै चुनावमा जाँदा पनि राम्रो वहुमत पाउने अवस्था हुँदाहुँदै पनि उहाँलाई हिजो चुनावी जँघार तर्न किन माओवादीको आड चाहिएको थियो त्यो समयले उहाँसँग सोध्ला नै ।
यता आफ्ना राजनीतिक सीमा र क्षमताका अभावहरूबाट उत्पन्न समस्याहरूलाई छोप्न र त्यसबाट आफ्नो पार्टीभित्र उठेको विरोधको लहरलाई व्यवस्थापन गर्न नसकेर उत्पन्न हुन गएको राजनीतिक सङ्कटबाट आत्तिएर उक्त सङ्कटलाई गौरवीकरण गर्ने उद्देश्यले त्यसलाई भारतीय हस्तक्षेपसँग जोडेर बताउन थाल्नुभएको पनि प्रष्ट हुँदै आएको छ ।
३. उहाँसँग दुई तिहाई संसदीय बहुमत छ ।
रौँ रौँमा राष्ट्रियताको तेज भरिएको दाबी गर्ने उहाँका दलका सांसद छन् ।
उहाँको सिङ्गो पार्टी पङ्क्ति छ ।
आफ्नै पार्टीका सांसद र नेता बाहेक अरू कसैले हटाएर उहाँ हट्ने होइन ।
विपक्षी दलसँग त्यो बल र सामर्थ्य छैन ।
क्षमता भए हटाउनु उसको राजनीतिक धर्म नै हुन्थ्यो होला ।
केही चलखेल भए त्यहाँभित्रै हुने हो ।
कसैले खेल्ने हो भने पनि ओलीजीले छानी–छानी ल्याएका पार्टी पङ्क्ति र त्यसैगरी टिकट दिएका सांसदहरूमै खेल्ने हुन् ।
त्यस अवस्थामा आफ्ना पार्टीका नेता र सांसद भारतको हातमा बिकेको आशय उल्लेख गरेर प्रधानमन्त्रीले स्वयम् आफ्नो पार्टीका सांसद र नेताको मात्र होइन,
पार्टीकै समेत अपमान गरिरहनु भएको छ ।
तर यो राजनीतिक चरित्र प्रदर्शनमा ओली एक्ला होइनन् ।
उनका पार्टीका अन्य पूर्व प्रधानमन्त्रीहरूले पनि त्यस्तो आरोप भारतमाथि लगाउने गरेका हुन् ।
४. ओलीजीले भनेको सही हो भने पनि ठूला र शक्तिशाली राष्ट्रहरूको चरित्र नै हो त्यो ।
आफ्नो मुलुकको हित र सुरक्षामा अनुकूल नभएका मुलुकको राजनीतिक नेतृत्व विरूद्ध ठूला र शक्तिशाली राष्ट्रहरूले त्यो गर्छन्,
गरिरहन्छन् ।
हिजो पनि त्यो भएको हो र आज पनि भइरहेको छ ।
राष्ट्रहरूको विखण्डन र विघटन पनि गराउँछन् उनीहरूले ।
अमेरिकाले रूसमा त्यस्तो हस्तक्षेप गर्दछ, गरेको छ ।
रूसले अमेरिका जस्तो मुलुकमा पनि त्यस्तो हस्तक्षेप गरेकोबारे अमेरिकाले न्यायिक जाँच बुझ नै गऱ्यो ।
चीनले अमेरिकी र भारतीय राजनीतिमा हस्तक्षेप गरेको समाचार क्षेत्रबाट आइरहेको छ ।
चीनले एमाले र माओवादीको एकता र ओली सरकारको सङ्कट टार्न भूमिका खेलेको प्रष्ट देखिएको अवस्थामा सकेमा भारतले ओली सरकार ढाल्न भूमिका खेल्न सक्दछ ।
खेल्छ ।
कुनै नौलो कुरो होइन यो ।
५. नक्साको राजनीति कति राष्ट्रियता र देशभक्ति हो अनि कति सत्ता स्वार्थ र महत्वाकांक्षा हो त्यो समयले बताउँदै जाला ।
नक्सामा देखिएको राष्ट्रिय एकता दवाव हो कि स्वेच्छया हो ।
चुनावी भविष्य र स्वार्थको जोहो हो वा निष्ठा हो ।
त्यो पनि समय क्रममा प्रष्ट हुँदै जाला ।
मुलुकको नयाँ नक्सा जारी हुनुअघि नक्सा सम्बन्धी तालुक मन्त्री र सरकारको मुखियाको भनाई दुनियाँले सुनेकै हो ।
हाम्रै विज्ञ र विश्लेषकले आज एउटा र भोलि अर्को कुरा गरेको पनि हामीले पढेकै सुनेकै हो ।
नेपाली जनता र विश्वले हाम्रो नक्सा पनि देखेका छन् ।
प्रमाण हामीसँग पनि होला र दुनियाँसँग पनि ।
दुनियाँ न्याय र विवेकको भाषा मात्रै बोल्दैन, शक्ति र दवावको भाषा अझ बढी बोल्छ र बुझ्छ– त्यो पनि हामीले देखेकै बुझेकै हो ।
हामीले त्यही दबाबख र सीमाभित्र बाँच्ने क्षमता आर्जन गर्ने हो ।
६. भारतले पञ्चायत र राजा वीरेन्द्रलाई फाल्न सहयोग गरेको होइन र ?
राजधानीको मुटुमा प्रधानमन्त्री ओलीको दल समेतको आयोजनामा भएको कार्यक्रममा भारतका नेताहरू राजा र पञ्चायत विरूद्ध बुरूक बुरूक हुँदा खुशीले उहाँहरु तीन हात माथि उफ़्रिएको होइन ?
भारतीय रेडियो, टेलिभिजन र समाचार पात्रहरूले राजा र रानीबारे जथाभावी भन्दा कति खुशी हुने गर्नुहुन्थ्यो उहाँहरू ?
दल पो थिएन त, पञ्चायत पनि त जनअनुमोदित थियो ।
मरिचमान पनि त निर्वाचित प्रधानमन्त्री थिए ।
हजारौँ हजार वर्षको विश्वको इतिहासमा दलहरूको इतिहास भनेको त केही सय वर्षको इतिहास त हो नि ।
७. त्यति भएर पनि पञ्चायत विघटन गरेर र सम्पूर्ण सत्ता सुम्पिएर संवैधानिक भएका राजा वीरेन्द्रले एक वचन भारतविरूद्ध बोलेको थाहा छ कसैलाई ?
उहाँहरूले धक्कु लगाउने गरेको गणतन्त्र ल्याउन भारतकै बल र रणनीतिक चाहनामा राजा ज्ञानेन्द्रलाई हटाएको होइन उहाँहरुले ?
राजा ज्ञानेन्द्रले कहिल्यै भारतविरूद्ध तीतो पोखेको थाहा छ ?
नेपालका कुनै राजनीतिक दल वा दलहरू विरूद्ध एक वचन कतै बोलेको सुनिएको छ ?
त्यही हो राजधर्म ।
त्यही हो नेपाल जस्तो मुलुकले माग्ने कूटनीतिक र राजनीतिक संयम र मर्यादा ।
सकेसम्म मुलुकको आन्तरिक उर्जा र क्षमता बढाउँदै जाने, अर्थतन्त्र मजबुत बनाउँदै जाने र सुरक्षा यन्त्रलाई आधुनिक र सशक्त बनाएर लैजाने भन्दा बढी पो के गरेका थिए उनीहरूले ?
कठालो टालेको कोट लगाएको सुनेकै हो राजा वीरेन्द्रले ।
ज्ञानेन्द्रको रहन सहन पनि औषत नेपाली राजनीतिक नेताको भन्दा धेरै माथि बताउन्नन् देखी जान्नेहरू
राजा वीरेन्द्रले आफ्नो मुलुकको प्रतिरक्षा क्षमतालाई सानो हदसम्म बढाउन खोजेका त थिए ।
मुलुक भएपछि दुई–चार घण्टासम्म टिक्ने सैन्य क्षमता त राज्यसँग हुनुपर्यो नि ?
भारतसँग केही हतियार किन्न खोजे ,
भारतले चर्को मूल्य बतायो ,
चीनसँग किने ।
तर ओलीजीहरू नै भारतसँग मिलेर राजा वीरेन्द्रविरूद्ध जाइलाग्नु भयो ।
वीरेन्द्रले सत्ता छोड्नु भयो , जसलाई उहाँले सत्ता सुम्पनु भयो तिनले उहाँको जीवन रक्षा गर्न नसकेको हो नी होइन रु
९. राजा ज्ञानेन्द्रले के गरेका थिए ?
उनी राजा हुनुभन्दा वर्षौं अघि देखि मुलुक अनन्त हत्या–हिंसाको चक्रमा थियो ।
दलहरू नै द्वन्द्व र हिंसा अन्त्य गर्न जिम्मेवार थिएनन् ।
आपसी हानाहान र तानातानमा थिए ।
‘म पनि हेर्छु नि त ।
मलाई केही समय देऊ ।
तिमीहरूले यतिका वर्षसम्म सकेनौ, मलाई तीन वर्ष देऊ ।
तै शान्ति स्थापना गर्न सक्छु कि त’ भनेका त थिए नि ।
दलहरूले तीन वर्ष दिएनन् ।
उनले पनि थाम्न सकेनन्, शान्त, भद्र, सभ्य, शिष्ट राजधर्म र नागरिक धर्म निर्वाह गरेर राजा ज्ञानेन्द्र नारायणहिटीबाट बिदा भएर हिँडे ।
राजकाजमा मोडेल हुन् राजा ज्ञानेन्द्र ।
१०. चुनाव गराउने जिम्मा लिएर प्रतिनिधिसभा विघटन गरेर आएको बहादुरले म चुनाव गराउन नसक्ने भएँ सरकार भनेर कान समातेकै हुन् ।
उनलाई हटाउन राजा कहाँ बिन्ती पत्र हाल्न गिरिजाप्रसाद, माधव नेपालहरू जानुभएकै हो ।
त्यस अवस्थामा शासन सञ्चालनमा कसैको वैधानिक अधिकार बाँकी रहेको थिएन ।
निर्वाचित प्रधानमन्त्रीले विघटन गरेको र सर्वोच्च अदालतले समेत सदर गरेको उक्त विघटनलाई उल्ट्याउने माग सडकको लागि उचित थियो होला तर एउटा राष्ट्र प्रमुखले त्यो काम गर्न सक्दैन थिए ।
उनले पनि ओलीजीले जस्तै चीनसँगको सम्बन्धबाट मुलुकको रणनीतिक क्षितिजलाई अलिकता फराकिलो खोजेका त थिए ।
सबै मिलेर राजा ज्ञानेन्द्रलाई हटाएको मात्र होइन, हटाउन सहयोग गरे ।
भारतको चाहना मुताविक गर्ने कागज गरेर आएका व्यक्ति नै ओलीजीको दलका कार्यकारी अध्यक्ष छन् ।
तिनै ओलीजीले प्रचण्डसँग नेहोरा गरेर पार्टी एकता गर्नुभएको हो ।
उनैसँग पार्टीको कार्यकारी अध्यक्ष र प्रधानमन्त्रीको पालो बाँधेर एकतामा जानुभएको हो ।
सुहाउँछ राष्ट्रियताको ठूला ठूला कुरा गर्न ?
११. राजनीतिक अदूरदर्शिता क्षुद्र राजनीतिक महत्वाकांक्षाले १९४७ अघिको एउटा भारत आज तीन टुक्रा भएको छ क्ष्
बेलायतले भारतलाई दुई टुक्रा बनाएर गयो ।
भारतले पाकिस्तानलाई दुई टुक्रा बनाइदियो ।
पाकिस्तान अझै विखण्डनको सङ्घारमा छ ।
यही हो वर्तमान विश्व ।
ठूला र शक्तिशाली मुलुकले आन्तरिक रूपमा कमजोर मुलुकलाई बाँच्न पनि दिँदैनन् ।
हामीले हेर्या हेऱ्यै चीनले तिब्बत र सिञ्जियाङलाई रक्तपात मच्चाएर आफूमा मिलायो ।
भारतको ठूलो भाग नियन्त्रणमा लिएर बसेको छ ।
साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर भारतले सिक्किमलाई सर्लक्क निलिदियो ।
प्रजातन्त्रको निहुँमा निलिदियो ।
१२. मूल्य व्यक्तिको स्वतन्त्रताको पनि हुन्छ र राष्ट्रको स्वतन्त्रताको पनि ।
स्वतन्त्र राष्ट्रको रूपमा बाँच्ने हो भने नेपालले केही मूल्य चुक्ता गर्न सक्नु पर्दछ ।
आफ्नो स्वतन्त्र परिचय पनि निर्माण गर्नु पर्दछ ।
केही मूल्य र संस्कृति निर्माण गर्नु पर्दछ ।
दलहरूले त्यो परिचय, मूल्य र संस्कृति निर्माण गर्न नसक्ने रहेछन् ।
प्रजातन्त्रले मात्रै पनि त्यो सम्भव बनाउन सक्ने रहेनछ ।
प्रजातन्त्रको आडम्वर मात्रै पालेर बस्ने हो भने नेपाल अर्को बिहारमा मात्रै खुम्चिने अवस्था बन्ने रहेछ ।
समाजवाद र साम्यवादको नारा घोकेर मात्रै बस्ने हो भने नेपाल अर्को उत्तर कोरिया बन्ने सम्भावना निर्माण हुँदै छ ।
किन स्वतन्त्र र सार्वभौम नेपाल ? भन्ने प्रश्न नै समय क्रममा हराउने अवस्था देखिँदै छ ।
१३. अर्को बिहारलाई कालापानी, लिपुलेक र लिम्पियाधुरा चाहिन्न ।
अर्को उत्तर कोरियाले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपाली भूभागमा जोड्न सक्दैन ।
अर्को विहार वा अर्को उत्तर कोरिया हुनलाई स्वतन्त्र र सार्वभौम नेपाल आवश्यक पर्दैन ।
१४. चल्तीका केही राजनीतिक नारालाई फालेर पूर्ण संवैधानिक राजा सहितको हिन्दु राष्ट्रले मात्रै नेपाललाई अर्को विहार वा उत्तर कोरिया बन्नबाट छेक्न सक्छ ?
सिक्किम विलयपछि नेपालको तराईलाई भारतमा लैजाने इन्दिरा गान्धीको रणनीतिक लक्षलाई भारतीय सुरक्षा तन्त्रले परित्याग गरेको छैन,
स्थगित मात्रै गरेको हो भन्ने कुरा बुझ्न शायद ढिलो हुँदै छ ?
स्वतन्त्र र सार्वभौम नेपालको भौगोलिक अखण्डताको सुरक्षाको लागि पनि अन्तर्राष्ट्रिय प्रत्याभूति सहितको स्वतन्त्र, तटस्थ र शान्ति क्षेत्र नेपालको औचित्य बुझ्नु पर्दछ ?
नेपाललाई उत्तर कोरिया बनाउने राजनीतिले नक्सामा लिम्पियाधुरा जोड्ला तर मधेश ?
उत्तर कोरिया बन्ने र बनाउने प्रयाससँगै नेपालको अर्को भूभागलाई दक्षिण कोरिया बनाउने अभ्यास शुरू नहोला र ?
सत्तारूढ दलको राजनीतिले आमरूपमा पहाडलाई भारतविरोधी मधेशलाई चीन विरोधी बनाइदिएको अवस्थामा लिम्पियाधुरा होइन,
नेपाल सिङ्गै रहन्छ कि विखण्डित रहन्छ भन्ने सवाल हो ।
प्रश्न सिङ्गो नेपाल उत्तर कोरियाबन्छ कि ? पहाड उत्तर कोरिया र मधेश दक्षिण कोरिया बन्न जाने हो ?
१५. हेक्का राख्नु नै पर्ला दोस्रो विश्व युद्धको अन्त्यमा संसारका करिव ५० भन्दा केही बढी मुलुकहरूबाट नै उत्तर र दक्षिण कोरिया जसै गरेर आज संसारमा दुई सय भन्दा बढी मुलुक बन्न गएका छन् ।
स्वतन्त्र र सार्वभौम मुलुकको रूपमा मुलुकको आन्तरिक एकता र अखण्डता धान्न पनि न्युनतम आर्थिक, कूटनीतिक, राजनीतिक र सैनिक क्षमता चाहिन्छ र बुझ्नु पर्दछ नेपालमा दलहरूले शासन गरेको तीन दशक भयो र गणतन्त्रले शासन गरेको पनि डेढ दशक भयो ।
प्रतिक्रिया