गैसस महासंघ मकवानपुरका अध्यक्षको परिवार सवार जीप दुर्घटना

अध्यक्ष धितालका छोरा र श्रीमतीको मृत्यु

मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा. कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा धितालकी श्रीमती र छोराको मृत्यु भएको छ । जीपमा सवार तीन जना घाइते भएका छन् ।



सोमबार (१५ असार) साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतम र छोरा अनुजको मृत्यु भएको हो । स्कर्पियो जीपमा काठमाडौंबाट हेटौंडातर्फ जाने क्रममा भारतीय ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ ।

बताइएअनुसार धितालकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने छोरा अनुजको उपचारका क्रममा आज (१६ असार) बिहान मृत्यु भएको हो ।

दुर्घटनामा परी चालक राजन घिमिरे गम्भीर घाइते भएका छन् । यस्तै कृष्ण धिताल र छोरी वर्षा मध्यम अवस्थामा रहेको चितवन प्रहरीले जनाएको छ । धिताल परिवार सवार बा१३च ५९२९ नंको स्कर्पियो एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रतिक्रिया