कोरोनाका कारण पहिलोपटक रौतहटका युवकको मृत्यु

कोरोनाका कारण पहिलोपटक रौतहटका युवकको मृत्यु


आरके श्रीवास्तव, रौतहट

रौतहटमा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट एक युवकको मृत्यु भएको छ । कोरोनासंक्रमित भइ फतुवा विजयपुर–७ का २९ वर्षीय युवकको गएराति मृत्यु भएको हो ।

लामो समयदेखि हृदय रोगबाट ग्रसित युवकको उपचारको क्रममा ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएको र मृतकलाई कोरोना भाइरस संक्रमित पुष्टि भएको अस्पतालले पुष्टि गरेको छ ।

फतुवा विजयपुर नगर स्वास्थ सहसंयोजक प्रभु पटेलका अनुसार पछिल्लो लामो समयदेखि हृदय रोगबाट ग्रसित उक्त युवकलाई केही दिनअघि उपचारको लागि वीरगंजस्थित नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियोे । बयोधामा अवस्था सुधार नहुँदा गत शुक्रबार राति एम्बुलेन्सबाट ललितपुरस्थित स्टार अस्पतालमा पठाएको सहसंयोजक पटेलले जानकारी दिएका छन् ।

मृतक युवक त्यसअघि वीर अस्पतालमा पनि केही समय भर्ना रहेको पटेलले बताएका छन् । कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टिसँगै उनको परिवारका सबै सदस्य र एम्बुलेन्स चालकसहित उनको परिवारका सबै सदस्यलाई फतुवा विजयपुरस्थित क्वारेन्टाइनमा राखिएको छ । रौतहटमा हिजोसम्म कोरोना संक्रमितको संख्या ११ सय ८९ पुगेको थियो ।

रौतहटमा कोरोना जितेर घर फर्किनेको संख्या ७ सय ७१ रहेको सिडियो बाशुदेव घिमिरेले जनाएका छन् । रौतहटमा कोरोनाबाट २ जना वडाअध्यक्षसहित केही कर्मचारी संक्रमित हुँदा ईशनाथ र बौधिमाई नगरपालिका सिल गरिएको छ ।