प्रचण्ड आक्रोश र पतनोन्मुख माओवादी-श्रीधर शर्मा

प्रचण्ड आक्रोश र पतनोन्मुख माओवादी-श्रीधर शर्मा


झन्डै एक हप्ताको आतङ्कबाट त ‘सहर’ मुक्त भयो माओवादीको ‘सहरकेन्द्रित आन्दोलन’ स्थगनपछि, तर वैशाख २५ गतेको प्रचण्डको खुलामञ्चको भाषणले नयाँखालको आतङ्क सिर्जना गरिदियो ।
कथित ‘जनआन्दोलन’ फिर्ता लिन बाध्य हुनुपरेपछि त्यस दिन आयोजित ‘आक्रोशसभा’मा क्रान्तिकारी पार्टीका महान् क्रान्तिकारी कमरेडको आक्रोश हेर्न लायक थियो । बुद्धिजीवी, व्यवसायी, पेसाकर्मी, पत्रकार, लेखकलगायतलाई जसरी अपमानजनक एवम् चेतावनीको ढङ्गमा उनले अभिव्यक्ति दिए त्यसले उनको वास्तविक हैसियतको परिचय मात्र दिएन माओवादीको त्यस वर्गप्रतिको धारणासमेत प्रस्ट भयो । यसैगरी उपत्यकावासीमाथि, आन्दोलनमा सहभागी नभइदिएको कारण, सुकिला-मुकिला र छोटे राजाहरूको नाममा जसरी उनी खनिए त्यसले पनि धेरै कुरा प्रस्ट भयो ।
हो, जहाँ-जहाँ जे-जे भए पनि राजधानी उठेन, जागेन भने हाम्रा कुनै पनि आन्दोलन सफल हुँदैनन् भन्ने इतिहाससिद्ध नै कुरा हो । हरेक आन्दोलनमा राजधानी अलिपछि ब्युँझन्छ, तर उ, ब्युँझेपछि परिणाम आइहाल्छ । तर, राजधानी जायज माग र उपयुक्त अवस्थामा मात्र आन्दोलनमा सहभागी हुन्छ । यसपटकको माओवादी आन्दोलन कुनै जायज मागका साथ भइरहेको छैन, यो कसैको व्यक्तिगत स्वार्थपूरि्तका लागि, अराजकता, उद्दण्डता र अस्थिरताका लागि, लोकतन्त्रको नाममा अलोकतन्त्रका लागि चलाइएको कथित आन्दोलन हो र यसमा सहभागी हुनुको कुनै औचित्य छैन भन्ने बुझेको उपत्यका यसैकारण गाउँगाउँबाट ल्याइएका जनतालाई गल्ली-गल्लीमा घुमाउँदा पनि जागेन, केही लागेन माओवादीको । गाउँगाउँबाट आएका सोझासीधालाई जसरी उत्तेजित बनाउन सकेन राजधानीवासीलाई माओवादीले बरु शान्तिसभामा खनियो अशान्ति आतङ्क र दबाबबाट आजित भएको जनसागर जुन माओवादीलाई पचेन । बुद्धिजीवी, उद्यमी, व्यवसायी, पेसाकर्मी सबै सहभागी भए त्यसमा, जसलाई माओवादीले षड्यन्त्र देख्यो । ती सबैलाई ‘भिजिलान्ते’ र ‘पैसा बाँडेर जम्मा गरेको भीड’ देख्ो प्रचण्ड स्वयम्ले ।
आफ्ना पिछलग्गु नबन्ने, बरु आफ्नै विवेक र विचारमा हिँड्नेहरूलाई भिजिलान्तेको संज्ञा दिने प्रचण्डले त्यसो गरिरहँदा बौद्धिक दरिद्रता मात्र देखाएनन् सचेत बौद्धिक वर्ग र सम्पूर्ण नेपाली जनताकै अपमान गरे । यस्तै हर्कतले गर्दा यतिखेर माओवादी र विशेषत: प्रचण्ड स्वयम् सर्वत्र आलोचनाको पात्र हुन पुगेका छन् । त्यत्रो नेताले आफूलाई मन परेन भन्दैमा कसैलाई, कुनै वर्गलाई तथानाम गाली गर्न सुहाउँछ ? उनी त यस्ता छन् भने पछिलाग्नेहरूले के सिकून् ? अग्रजहरू, नेताहरूले यस्तै शिक्षा दिने हो ? यसैले त माओवादी सभ्य, शिष्ट छैन, जोरजबर्जस्ती र जङ्गली व्यवहार उसको पहिचान बनेको छ । माओवादी भन्नासाथ आतङ्कित हुन्छन् मान्छेहरू ।
फेरि कम्युनिस्टहरू आफूभन्दा मुनिकालाई सधै भेडाबाख्राको बथान बनाउन चाहन्छन्, अझ भनौँ स्यालजस्तै बनाएर राख्छन् जहाँ पनि ता कि अरूलाई सल्लाहले होइन हल्लाले र बुद्धिले होइन बलले, जबर्जस्तीले पराजित गर्न सकियोस्, एउटा कराउँदा सँगसँगै हुइँया मच्चाउन सकियोस् । यही नीति प्रचण्ड र उनको माओवादीको पनि छ । आफ्ना कार्यकर्ता, समर्थकले केही बुझे भने तिनले स्वतन्त्रता खोज्छन्, अधिकार खोज्छन् अनि आफ्नो एकाधिकार धरापमा पर्छ । यसैकारण जनवादी अनुशासनको नाममा नियन्त्रणमा राख्छन् तिनलाई । नारा आकर्षक र लोकप्रिय दिने तर जनतालाई अधिकारविहीन बनाउने । यही त हो लोकतन्त्र र साम्यवादबीचको भिन्नता । भन्दा सबै समान भन्ने तर जो सत्तामा छ, जो ओहोदामा छ त्यसको कतैबाट विरोध गर्न नपाइने, अनि जनतामाथि नमरेसम्म शासन गरिरहने र मृत्युपूर्व जो निकटको छ उसैलाई नेतृत्व सुम्पने अर्थात् श्रीपेचबिनाको राजतन्त्र ।
प्रचण्डले टुँडिखेलबाट राजधानीका सुकिला-मुकिला, बुद्धिजीवी, लेखक, कमाएर डकारेकाहरू त्ाथा पत्रकारलाई धम्की दिएको भोलिपल्ट त्यसको कार्यान्वयन नै प्रारम्भ भयो सिंहदरबार घेराउका क्रममा पत्रकारहरूलाई कुटेर । सधैंझैं माओवादीले ‘आफ्नो यस्तो नीति नरहेको’, आफू ‘प्रेस स्वतन्त्रताको पक्षमा रहेको’ बरु यसमा ‘भिजिलान्तेहरूको हात रहेको हुन सक्ने’ बताएर उम्कियो । तर, प्रमाणहरू साक्षी छन् तिनले जे बोल्छन् त्यसलाई विश्वास गर्नैपर्ने हुन्छ । त्यो सुनियोजित आक्रमण थियो । सम्भवत: आन्दोलनका प्रारम्भिक दिनमा देखिएको शान्तिले अत्तालिएका थिए माओवादी र ठाउँ खोजिरहेका थिए जसको कारण प्रतिकारमा उत्रनेहरूमाथि जाइलागेर सुरु गरेको अशान्ति प्रचण्डको आदेशपछि पत्रकारहरूसम्म पुग्यो जसको जतिसुकै भत्र्सना गरे पनि कमै हुन्छ ।
यसैबीच माओवादीले आफ्नो आन्दोलन सफल भएको निष्कर्ष निकाले पनि वास्तवमा कसैको कुरा नसुनी अहंकारका साथ एक्लै अघि बढ्न खोज्दा माओवादीलाई यसपटक पनि असफलता हात लागोको यथार्थ सबैका सामु प्रस्ट छ । फेरि अर्को आन्दोलनको धम्कीले पनि यो कुराको पुष्टि गर्छ । तर, माओवादीलाई यस्तो आत्मरतिमा रमाउन कसले पो रोक्न सक्छ र ?
यदि माओवादीले साँच्चै आफूलाई विध्वंसबाट निर्माणतर्फ र अराजकताबाट वैधानिकतातर्फ लाग्ने हो र सच्चा राजनीतिक पार्टीको रूपमा स्थापित हुने हो भने यसका नेताले युद्ध र धम्कीको भाषा बोल्न छाड्नैपर्छ । सभ्यता, शिष्टता र अर्काको सम्मान सिक्नुपर्छ । पेसाकर्मी र बुद्धिजीवीहरूमाथि लाञ्छना लगाउने होइन तिनलाई सम्मान गर्न सिक्नुपर्छ । लोकतन्त्रका आधारशिला नै मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेस भएको र तिनको सम्मान लोकतन्त्रको सम्मान हो भन्ने कुरा बुझ्नुपर्छ ।
समग्रमा भन्नुपर्दा पतनको बाटोतर्फ उन्मुख माओवादीका नेताहरूले साँच्चै सबैको मन जित्ने हो भने हरेक कुरामा क्रान्तिकारी देखिन खोज्नु र क्रान्तिकारी देखिन उछृङ्खलता देखाउनुभन्दा हरेक कुरामा बुद्धिमानीपूर्वक अघि बढ्ने, आवेश र उत्तेजनामा बोल्ने होइन गम्भीरतासाथ विषयवस्तुको, वास्तविकताको, समग्र परिस्थितिको विश्लेषण गरी अभिव्यक्ति दिने कुशलता देखाउनुपर्छ । सङ्कीर्ण होइन उदार र खुला बन्न सक्नुपर्छ । डर-धम्कीको भाषा छाड्नुपर्छ, हतियारको मोह त्याग्नुपर्छ । उग्र र असहिष्णु होइन धैर्य र संयमका साथ अघि बढ्ने आँट गर्नुपर्छ र आफूलाई नागरिक पार्टीको रूपमा रूपान्तरित गर्नुपर्छ । अनि मात्र उसका आन्दोलनमा सबैको सद्भाव, सहयोग र समर्थन जुट्छ । अन्यथा ‘भीरबाट लड्ने गोरुलाई रामराम भन्ने न हो, काँधै थाप्न त कसले सक्छ र’ ?