‘फेक न्यूज’ सम्प्रेषण गरेको परराष्ट्रमन्त्रीको आरोप

‘फेक न्यूज’ सम्प्रेषण गरेको परराष्ट्रमन्त्रीको आरोप


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीनबीच सीमासम्बन्धमा विवाद नरहेको दाबी गरेका छन् । राष्ट्रियसभाको आज (१५ असार)को बैठकमा विशेष समय लिएर उनले केही सञ्चारमाध्यमले नेपालको भू–भाग चीनले अतिक्रमण गरेको भन्ने ‘फेक न्यूज’ सम्प्रेषण गरेको भन्दै दुई देशको सम्बन्धलाई असर पर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरे ।

‘नेपालका केही भूभाग चीनले अतिक्रमण गऱ्यो भन्ने समाचार सार्वजनिक भयो, नेपालको भू–भाग चीनतर्फ पनि चारकिल्लामा सीमा अतिक्रमण गरेको भन्ने समाचार कसरी आयो ?’, मन्त्री ज्ञवालीले भने ‘सो कल्ड प्रतिवेदन कस्ले कसरी बनायो, त्यसको बारेमा सरकारले अध्ययन गरिरहेको छ, गलत सूचनाले दिग्भ्रमित बनाउँछ, त्यस्तो काम नगरौँ ।’

मन्त्री ज्ञवालीले दुई देशको सुमधुर सम्बन्धमा असर पार्ने सम्वेदनशील समाचार प्रकाशन नगर्न र भ्रमपूर्ण समाचार नछाप्न आग्रह गर्दै नेपाल–चीनबीच सीमासम्बन्धी कुनै पनि समस्या नभएको दोहोऱ्याए ।

उनकाअनुसार दुई देशबीच सीमासम्बन्धी शान्ति तथा मैत्री सन्धिमा संयुक्त रुपमा हस्ताक्षर भएको छ । हरेक १०–१० वर्षमा सीमाको निरीक्षण गर्ने समेत सहमति भइरहेको जानकारी गराउँदै उनले तेस्रो पटकको सीमा निरीक्षणले सीमा सत्यता होस् भन्नका लागि भौगोलिक सीमा स्तम्भ राखिने निर्णय गरिएको जानकारी दिए । पश्चिमतिर त्रिदेशीय विन्दुका विषयमा भने टुङ्ग्याउने तयारी भइरहेको पनि उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामनारायण विडारी, नेपाली कांग्रेसका प्रकाश पन्थ र समाजवादी पार्टीका प्रमिला कुमारीले दुई देशको मित्रतामा खलल पुऱ्याउनेलाई कानूनी कारवाही गर्नुपर्ने सुझाव दिँदै नेपालको नयाँ नक्शा जारी भएपछि भारतसँगको कूटनीतिक सम्बन्धका बारेमा जिज्ञासा राखेका थिए ।

उक्त सुझाव बारेमा मन्त्री ज्ञवालीेले सदनमा सांसदले तथ्यमा आधारित भएर मात्र बोल्नुपर्ने आग्रह गरे । ‘नेपालमा मिडिया व्यावसायिक बन्ने क्रममा छन्, गलत सूचना बेलाबेलामा आउन सक्छन्, पत्रिकामा केही आउने वित्तिकै सांसदले अध्ययन नगरी बोलीहाल्दा राम्रो हुँदैन, सदनमा सांसदले तथ्यमा आधारित भएर मात्र बोल्नुपर्छ, विदेश नीति र राष्ट्रिय सुरक्षा धेरै महत्वपूर्ण कुरा हुन, यस्ता कुरालाई ध्यान दिनुपर्छ, त्यस्ता तथाकथित प्रतिवेदन कहाँ बनाइयो, त्यसलाई कानूनी कारवाही हुन्छ’– उनले भने ।

नेपालको नयाँ नक्शा जारी भएपछि उत्पन्न विवादलाई समाधान गर्नका लागि मित्रराष्ट्र भारतसँग निरन्तर सम्पर्कमा रहेको र नेपाल–भारतबीच सम्बन्ध राम्रो रहेको पनि मन्त्री ज्ञवालीले सदनलाई जानकारी गराए । ‘कूटनीतिक माध्यमबाट नै समस्या समाधान हुन्छ भन्ने मान्यता र विश्वास छ, दुई देशको बहुआयामिक सम्बन्धलाई असर पार्ने कुनै पनि काम हुँदैन, कुनै समस्या नपरोस् भन्नेमा सरकार सजग छ, यस्मा सबैको सहयोग हुन जरुरी छ’, मन्त्री ज्ञवालीको भनाई छ ।