रुकुम घटनाको विरोध प्रदर्शनमा कांग्रेस कार्यकर्तामाथि प्रहरी दमन

रुकुम घटनाको विरोध प्रदर्शनमा कांग्रेस कार्यकर्तामाथि प्रहरी दमन


रुकुम पश्चिमको सोती नरसंहारमा नवराज विकलगायत ६ जनाको बर्बर एवम् नृशंश तवरले भएको जघन्य हत्याको विरुद्धमा संयुक्त राजनीतिक दलित संघर्ष समिति (नेपाल दलित संघ लगायत विभिन्न १४ राजनीतिक दल निकट भ्रातृ संस्थाहरु) र दलित नागरिक समाजको आयोजनामा भएको निरन्तरको आन्दोलनको क्रममा आज (१५ असार) प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र एकघण्टे शान्तिपूर्ण धर्नामा बस्ने क्रममा प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीले लाठीचार्जका साथैधरपकड गरेको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसले जनाएअनुसार सुरक्षाकर्मीले नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय जीवन परियार र लक्ष्मी परियार, राजकुमार हिङ्माङ्ग, टेकबहादुर विश्वकर्मा, रणबहादुर रम्तेल, शर्मिला वागचन्द, सुनिता मरिक, राम नेपाली, नानीमैयाँ पुरकुटी, शोभा विश्वकर्मा, संघर्ष दाहाल, हिक्मत महरा, लक्ष्मी थापा, धर्म विडुवाल र दुर्गा विश्वकर्मालाई गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका सबैलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

सुरक्षाकर्मीको लाठी प्रहारबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी परियार गम्भीर घाइते हुनु भएकोले थुनाबाट उपचारका लागि अस्पताल लगिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । उक्त घटनामा अन्य धेरै व्यक्तिहरु घाइते भएका उनको भनाई छ ।

शान्तिपूर्ण रुपमा ज्ञापन पत्र बुझाउन र धर्ना बस्न पाउने नागरिकको अधिकारमाथि ठाडो हस्तक्षेप गर्दै वर्तमान सरकारले संविधानको भावना र मर्मविपरीतका क्रियाकलाप गर्न थालेको भन्दै घटनाको नेपाली कांग्रेसले घोर निन्दा र भत्सर्ना गरेको छ । गिरफ्तार गरिएका सबैको तत्काल रिहाइ गर्न र घाइतेहरुको उचित उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस सरकारसँग माग गरेको छ ।