पोखराका विकास आयोजना अनुगमन

पोखराका विकास आयोजना अनुगमन


हरि बास्तोला, कास्की

प्रदेश निर्वाचन क्षेत्र पुर्वधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २(ख) का २५ वटा विकास निर्माण आयोजनाको स्थलगत अनुगमन गरिएको छ ।

कार्यक्रमअन्तर्गत प्रदेशसभा सदस्यहरू विन्दुकुमार थापा, प्रभा कोइराला, कुमार खड्का र मीना गुरुङद्वारा विनियोजित कुल दुई करोड रुपैयाँको लागतमा निर्मित आयोजनाको प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, जनप्रतिनिधि, प्राविधिक तथा सञ्चारकर्मी समेतको उपस्थितिमा आइतबार अनुगमन गरिएको हो ।

कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिकाका वडा नं ४, ८, ९, ११, १६ र २० मा सञ्चालित सडक तथा ढल, सिंचाई, खानेपानी, बहुउद्देश्यीय भवन, मन्दिर, चौतारा पुनःनिर्माण लगायतका योजना छन् ।

योजनाको अनुगमका क्रममा अनुगमन समितिका संयोजक प्रभा कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले जनताका आधारभुत आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान गरेको बताए ।

निर्माणमा गुणस्तरीयता अपरिहार्य भएको बताउँदै उनले तोकिएको समयमा काम सम्पन्न हुनुपर्नेमा जोड दिए । योजनाको प्रभावकारिताका लागि स्थानीय उपभोक्ता समितिको भूमिका महत्वपूर्ण हुनेमा उनको जोड छ ।

चालू आर्थिक वर्षमा सञ्चालित योजनाहरु कोरोना भाइरसका कारण प्रभावित भएको कोइरालाले बताए ।

प्रदेश निर्वाचन क्षेत्र नं २ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य विन्दुकुमार थापाले विकास निर्माणमा जनताका अपेक्षा धेरै भए पनि त्यस अनुरुप बजेट पर्याप्त हुन नसकेको धारणा राखे ।

अर्का सदस्य कुमार खड्काले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा विनियोजित बजेटबाट सञ्चालित योजनामा जनताले अपनत्व बोध गरेको बताउँदै जनता समेतको सहभागितामा अघि बढेका योजना प्रभावकारी बनेको उल्लेख गरे ।

अर्का सदस्य मीना गुरुङले योजनाको बाँडफाँडमा सबै क्षेत्र र बर्गलाई समेटिएको बताउँदै विकास निर्माणका काममा स्थानीय तहले पनि चासो दिनुपर्ने आवश्यकता औंल्याइन् ।

अनुगमनका क्रममा स्थानीय उपभोक्ता समितिका पदाधिकारीले समयमै बजेट प्राप्त नहुँदा काममा ढिलासुस्ती भएको बताउँदै पछिल्ला महिना भने कोरोनाका कारण मजदूर नपाउँदा पनि समस्या भएको गुनासो व्यक्त गरे ।