बर्दघाटस्थित फेन्सी पसलमा आगलागी, दश लाखको क्षति

बर्दघाटस्थित फेन्सी पसलमा आगलागी, दश लाखको क्षति


नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–१४ स्थित एक फेन्सी पसलमा आगलागी हुँदा करीब दश लाखको क्षति भएको छ ।

आज बिहान (१५ असार) विद्युत् सर्ट हुँदा यूनिक फेन्सी क्लेक्सन गङ्गाबस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पसलमा रहेका कपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

बताइएअनुसार पसलको सटरबाट धुवाँ निस्किरहेको देखेपछि घरधनीले पसल सञ्चालकलाई खबर गरेका थिए । आगलागीबाट पसलमा रहेका फेन्सी सामान कामै नलाग्ने गरी जलेको सञ्चालक प्रदीप पाण्डेले बताए । स्थानीयवासीको सहायतामा आगलागी तत्कालै नियन्त्रणमा लिइएको थियो ।