पूर्वसदस्यसचिव सिंहको शोकमा राखेपका कार्यालय बन्द

पूर्वसदस्यसचिव सिंहको शोकमा राखेपका कार्यालय बन्द


राष्ट्रिय खेलकूद परिषद् (राखेप)का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय सोमबार (१५ असार) बन्द गरिने भएको छ । पूर्वसदस्य सचिव सिंहको शोकमा राखेपअन्तर्गत मुलुकभरका सम्पूर्ण कार्यालय बन्द रहने राखेपले जनाएको हो ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व. सिंह प्रशासक र खेलाडीका रूपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । सिंहको ८८ वर्षको उमेरमा शुक्रबार छाउनीस्थित निवासमा निधन भएको थियो । उनले राखेपको सातौँ सदस्यसचिव रूपमा २०४८ देखि २०५० सालसम्म जिम्मेवारी सम्हालेका थिए । सिंह नेपाली फुटबल टोलीको पूर्वकप्तानसमेत थिए ।

यसैबीच राखेपले आफ्नो मातहतमा कार्यरत कर्मचारीलाई आइतबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । राखेपमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, मालीलगायतलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

राखेप सदस्य–सचिव सिलवालले सम्बन्धित निकायका प्रतिनिधिलाई उक्त सामग्री हस्तान्तरण गरे । हस्तान्तरण गरिएका सामग्रीमा पिपिई, केएन ९५ मास्क, सर्जिकल मास्क, फेस सिल्ड, हेड गार्ड, जुत्ता, स्यानेटाइजर, चस्मा र पञ्जा छन् । कोभिड–१९ को जोखिमलाई ख्याल गरी सतर्कताका साथ काम गर्न सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको राखेपअन्तर्गत खेलकूद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपालीले जानकारी दिए ।