सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्यो

सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्यो


सर्लाहीको धनकौल गाउँपालिकामा आइतबार राति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा गोली चल्दा १८ जना घाइते भएका छन् ।

सर्लाही प्रजिअ मोहनबहादुर जिसीका अनुसार रातको समयमा भएको झडपमा नेकपाका १५ र नेकाका तीन कार्यकर्ता घाइते भएका छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले झडपमा दुई जना प्रहरीसमेत घाइते भएको जानकारी दिएका छन् । झडप नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड आश्रुग्यास प्रहार गरेको र घटनास्थल अहिले शान्त रहे पनि त्यहाँ व्यापक मात्रामा प्रहरी परिचालन गरिएको बताइएको छ ।

जिल्लाको रामनगर गाउँपालिकामा नेकपा कार्यकर्ताको हत्या गरिएको विरोधमा धनकौल गाउँपालिकामा आइतबार साँझ ७ बजे निकालिएको मसाल जुलुसमा कांग्रेस कार्यकर्ताले गोली चलाएको नेकपाका स्थानीय नेता अजय सिंहको आरोप छ । आफ्ना कयौँ नेता तथा कार्यकर्तालाई गोलीको छर्रा लागेको र लाठीको प्रहारबाट घाइते भएको सिंहले दाबी गरेका छन् । घटनाका घाइतेमध्ये केहीको बरहथवामा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई वीरगञ्जतर्फ पठाइएको पनि उनले बताएका छन् ।

तर नेपाली कांग्रेसको भनाई बेग्लै छ । नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको कांग्रेसले आरोप लगाएको छ । नेकपाका कार्यकर्ताले निकालेको मसाल जुलुसले कांग्रेस कार्यकर्ता धिरु वर्माको घरअगाडि टायर बाल्नुका साथै कुटपिट गरेको नेपाली कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले बताएका छन् । नेकपा कार्यकर्ताको कुटाइबाट आफ्ना ६ जना कार्यकर्ता घाइते भएको उनको भनाई छ ।