ठेकेदारको लापर्वाहीले कालोपत्रे सडक खाल्डोमा परिणत भएपछि…

ठेकेदारको लापर्वाहीले कालोपत्रे सडक खाल्डोमा परिणत भएपछि…


■ आरके श्रीवास्तव, रौतहट

ठेकदारको लापर्वाहीले रौतहटको कटहरिया बजारको तीनतर्फको बाटो लामो समयदेखि बिग्रिएको छ । भदौ आउनुअघि नै कटहरियाबाट आवतजावतमा ठूलो कठिनाई पर्न थालेको छ ।

जिल्लाको चर्चित बजारको रुपमा रहेको कटहरिया बजार क्षेत्र, कटहरिया गरुडा, कटहरिया जमुनिया, गमहरियाघाट तथा उतरतर्फ जंगलको बाटोसमेत समयमा मर्मत हुन नसकेको कारण कठिनाई निम्तिएको हो ।

साह निर्माण सेवाका संचालक नागेन्द्र साह, पेटी ठेकेदार सुवोध यादव, कन्काई निर्माण सेवाका संचालक अरविन्द जयसवाल र पेटी ठेकेदार अरविन्द यादवले समयमा काम गर्न नसकेको कारण सडकको बेहाल भएको छ ।

कटहरियादेखि फतेपुरसम्म ठाँउ ठाँउमा पिच फुटेर ठुल्ठूला खाल्डा बनेका छन् । ती खाल्डोमा पानी र हिलो जमेको कारण पैदाल र ससवारी साधन दुवै तवरले आवतजावत गर्न मुस्किल परेको छ ।

त्यसैगरी कटहरिया बजारमा पनि ठाँउ ठाँउमा खाल्डो परेर हिलो जमेको कारण पैदल आउन जानमा समस्या भएको छ । ठेकदार नागेन्द्र र पेटी ठेकदार यादवले एक वर्षअघि सुरु गरेको काम हालसम्म पूरा नभएकाले कटहरिया बहादुरपुर तथा बिर्ती हँथियाही हुँदै जमुनिया जाने बाटो बिग्रोको छ ।

उता लालबकैया नदी गमहरिया घाटमा वारिपारी दुबैतर्फ ठेकदारले कछुवा गतिमा काम गरिरहेकाले काम अधुरो रहेको छ भने दुबवतर्फ हिलो जमेर यातायात अवरुद्ध जस्तै भएको छ ।

वृन्दावनवासीले रोपे सडकमै धान

रौतहटको वृन्दावन नगरपालिका वडा नं ८ स्थित बहुअरी डुमरीया सडकखण्ड भएर आवतजावतमा समस्या भएपछि स्थानीय रुपनारायण साहको घर नजिकैको सडकमा सांकेतिक विरोधस्वरुप धान रोपिएको छ । सडक हिलाम्य भएर स्थानीयले आवागमनमा सास्ती झेलिरहँदा पनि जनप्रतिनिधिको ध्यान नगएपछि सडकमै धान रोपिएको हो ।

बाटोमा माटो मात्रै हालिएको र ग्राभेलको नाममा अक्षता छरेझैँ गिट्टी छरिएपछि वर्षाको पानीले सडक पूरै खेतजस्तो बनेको छ ।

सोही गाउँको दलित बस्तीमा हल्का पानी पर्दा पनि चारैतिर हिलो हुने अवस्थाका वृन्दावन ८ का वडाअध्यक्ष दीनानाथ महतोलाई गुहार लगाउँदा उनले बजेट नपुग्ने भन्दै स्थानीयवासीको मागको उपेक्षा गरिदिए । वडाअध्यक्षको यस्तो रुखो रवैयाका विरुद्ध स्थानीय युवाहरुले विरोधस्वरुप बाटोमै धान रोपाइँ गरिदिएका छन् ।