महिनावारीमा अडेको सृष्टि

महिनावारीमा अडेको सृष्टि


■ रसना ढकाल

हे प्रकृति ! तिमीले सुन्दर संसार बनायौ, संसार चलाउन मान्छे बनायौ
तिमीलाई कोटी–कोटी नमन छ, यो सुन्दर संसार हामीलाइ देखायौ
हामी त केवल खेलाडी, धर्तीको तिमी नै हाम्रो ‘कोचर’ हौ
सबै काम तिम्रै इच्छाले हुन्छ तिमी नै सर्वश्रेष्ठ छौ !

सबै जान्दाजान्दै पनि यहाँ मानिस यति धेरै क्रुर छ
किनकि मानिसले आफूलाईसर्वश्रेष्ठ प्राणी ठान्छ ।
खुशीका सीमा पार हुन्छन् जब म महिनावारीमा हुन्छु,
आफुलाइ भाग्यमानी ठान्दै शरिरभित्रको यो चक्रलाई म पार गर्छु
तिमीसँग गुनासो छैन प्रकृति, गुनासो यहाँका मानिसहरूसँग छ
जसले मेरो रगतलाई ‘नछुने’ र ‘छाउपडी’ भनी संज्ञा दिन्छ !

रगतमा लटपटिएको मेरो कपडालाई लिएर मानिस कलङ्क लगाइदिन्छन्
कति अबुझ छन् यी प्राणी आखिर यही महिनावारीबाट यिनले जन्म लिन्छन् ।
‘छिः छः छुट्टै बस नछुने भएकी’ भन्दै शब्दका बाछिटा आउँछन् मतिर
पाप र पुण्यका कुरा गर्दै आत्मसम्मानलाई अपमान गर्छन् बोलेर
मेरो प्रजनन प्रक्रिया स्वस्थ हुन्छ जब म महिनावारीमा हुन्छु
तर यही महिनावारीको कारणले कहीँ–कतै सुनसान कोठामा बसेर रुन्छु !

मेरो शरिरको सार्वभौमसत्ता मभित्र निहित छ
मेरो निर्णय मेरो अधिकार हो अरुले किन चलाउन खोज्छ ?
म कमजोर छैन र सोच्दिनँ कहिल्यै म कमजोर छु भनेर
बरु छोडिदिन्छु त्यो बाटो हेर्दिनँ कहिल्यै उसलाई फर्केर

गुनासोको पोको ठूलो छ यो मानिससँग, किनकि मानिस आफूलाई विज्ञ भन्छ
समयक्रमसँग धेरै उतारचढाव आउँछ त्यहाँनिर उ फेरि अनविज्ञ बन्छ
विज्ञानको आविष्कार गर्यो मान्छेले तर ज्ञान आफैले हरायो
चेतनशील प्राणी भनेर के गर्नु ? मानिसले आफ्नो औकात आफै देखायो ।

महिनावारी हुनु शरीरको प्रक्रिया हो, जुन शौभाग्य महिलालाई प्राप्त हुन्छ
हामी सबै मिलेर महिनावारीमा लागेको कलङ्क हटाउनै पर्छ ।
घर–घरमा महिनावारीबारे चेतना फैलाउँ, यसको जिम्मेवार अभिभावकलाई बनाउँ
परिवर्तन घरबाटै आवश्यक छ छोरा–छोरीलाई महिनावारीबारे जानकार बनाउँ,
हटाइदिउँ त्यो कलङ्कलाई जसले राखेछन् नकारात्मक दृष्टि
समय परिवर्तनशील छ हजुर, त्यही भएर त हाम्रो महिनावारीमा अडेको छ सृष्टि !