विप्लव नेतृत्वको नेकपाका ६ जना प्रहरी नियन्त्रणमा

विप्लव नेतृत्वको नेकपाका ६ जना प्रहरी नियन्त्रणमा


प्रतिबन्धित नेकपाका कैलाली जिल्ला प्रमुखसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विप्लव नेतृत्वको सो पार्टीका कैलाली प्रमुख दलबहादुर विकसहित धनगढी नगर इञ्चार्ज र विद्यार्थी नेता पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार कैलाली जिल्ला सदस्य बबरजंग सिंह, विद्यार्थीका जिल्ला अध्यक्ष सुवास जोशी, सदस्य डम्बर सुनार र लक्की शाह पनि पक्राउ परेका हुन् ।

उनीहरुलाई धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

शङ्कास्पद गतिविधिमा संलग्न भएको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको जनाउँदै प्रवक्ता विष्टले पक्राउ परेका प्रमुख विक हातहतियार तथा खरखजाना मुद्दामा फरार रहेका अभियुक्त रहेका समेत बताएका छन् ।