‘नेपालका सरकारलाई विदेशीले हटाउने वा राख्ने हैसियत यसकारण राख्दछन्’

‘नेपालका सरकारलाई विदेशीले हटाउने वा राख्ने हैसियत यसकारण राख्दछन्’


डा. अम्बरिश पोख्रेल

१.
नेपाललाई एकीकरण गरिदिएका पृथ्वीनारायण शाहका सन्तान वीरेन्द्र वीर विक्रम शाहदेवको वंश विनाशलाई वैधानिकता दिने नेपालको ठूलो संवैधानिक राजनीतिक पार्टीहरुमध्ये नेकपा एमाले पनि हो । एमालेका वरिष्ठ नेताहरु जस्तै नेपाल, खनाल र हालका पिएम ओलीहरु प्रमुख हुन् ।

२. सात पार्टीहरू मिलेर भारतलाई मध्यस्त राखी १२बुँदे सम्झौता गर्ने–गराउने मध्येका केपी ओली पनि प्रमुख हुन् । उनले कहिल्यै पनि त्यो सम्झौताको विरोध गरेका थिएनन् र छैनन् ।

३. त्यो मात्र कहाँ हो र ? पृथ्वीनारायण शाहको विरासतलाई, त्यही भारतीयहरूसँग मिलेर राजा ज्ञानेन्द्र शाहलाई सत्ता च्युत गर्ने–गराउने मध्येका पिएम ओली पनि प्रमुख पात्र हुन् । कम्तीमा पनि किचलो निकालीदिएर त्यो कुरालाई अलमल गराइदिन सक्थे उनले, त्यो हैसियत थियो । तर, त्यो गरेको कुरा, कहिल्यै कतै देख्न, पढ्न वा सुन्नमा आएन, किन होला ?

४. यदि माथिका कुरामा नेकपा एमाले (तत्कालीन) पिएम ओली (हाल)को हात छैन वा समर्थन थिएन भने, १२बुँदे सम्झौता उल्टाउनको लागि आफ्नो भूमि नेपालभित्र अर्को प्रकारको राष्ट्रिय महत्वको राष्ट्रिय सम्झौता गर्न–गराउन उनलाई कसले रोकेको छ अहिले पनि ? किन त्यो कुराको संकेत समेत गर्दैनन् ?

५. नयाँ प्रकारको राष्ट्रिय सम्झौता किन गर्ने–गराउने कोशिश गर्दैनन् अहिले पनि पिएम ओली ?

६. यस्तै कारणहरूले गर्दा, आउँदा दिनहरुमा पनि नेपालका सरकारहरूलाई विदेशीहरुले आफ्नो बुट देखाउनु कुनै ठूलो कुरा होइन, ताकि समय–समयमा लात हान्न पाइयोस् । हानिरहेका पनि छन् ।

७. नारायणहिटीमा हुने छलफलको अधिकारलाई कुनै दूतावासमा सार्नेहरुलाई (एमाले, काङ्ग्रेस, माओवादी तथा अन्य पार्टीहरू) समय–समयमा लात नहानेर के हान्ने ?

अस्तु ।