अर्गानिक खेती गर्दै पूर्व कप्तान धोनी

अर्गानिक खेती गर्दै पूर्व कप्तान धोनी


भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अर्गानिक खेतीको आरम्भ गरेका छन् । कोरोनाकालमा आफूलाई व्यस्त राख्न धोनी अर्गानिक खेतीतर्फ आकर्षित भएका हुन् ।

अर्गानिक खेती गर्न धोनीले हालै नयाँ ट्रयाक्टरसमेत खरिद गरेका छन् । उनी अहिले त्यही ट्रयाक्टरमा बसेर खेती गर्दै आएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । जसलाई धोनीका फ्यानहरूले अत्याधिक रुचाएका छन् । साथै नयाँ कार्य आरम्भ गरेकोमा शुभकामना पनि दिएका छन् ।

भारतीय क्रिकेट टीममा ‘कुल’ क्याप्टेनको रुपमा परिचित महेन्द्र सिंह धोनी अहिले आफ्नो पूरै समय फार्म हाउसमा बितारहेका छन् । आफ्नो परिवारका साथ फार्म हाउसमा समय बिताइरहेका धोनी यो समयमा अर्गानिक खेतीको बारेमा विशेषज्ञको रायसमेत लिइरहेका छन् ।

कोरोनाका कारण अहिले भारतमा क्रिकेटका सम्पूर्ण गतिविधि बन्द छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कुनै पनि प्रतियोगिता हुन् सकेका छैनन् । अब कहिलेदेखि क्रिकेटको गतिविधि शुरु हुन्छ त्यसको पनि टुङ्गो छैन । यस्तो अवस्थमा आफुलाई ब्यस्त राख्न धोनीले अर्गानिक खेती गर्ने निर्णय गरेका हुन् ।

अझ कोरोनाकै कारण विश्वकै चर्चित क्रिकेट लिग ‘इन्डियन क्रिकेट लिग’ (आईपीएल) कहिलेदेखि सञ्चालन हुने टुङ्गो लागेको छैन । विगत एक वर्षदेखि क्रिकेटसँग टाढा रहेका धोनीले सन् २०१९ मा भएको विश्वकप क्रिकेट प्रतियोगितादेखि क्रिकेट खेलेका छैनन् । उनले न्यूजील्यान्डसँगको भएको सेमिफाइनलमा गरेको प्रतिस्पर्धा नै अन्तिम हो ।

यतिबेला उनी आइपीएलमा चेन्नई सुपर किङ्गको नेतृत्व गर्दै मैदानमा उत्रिँदै थिए । तर कोरोनाका कारण त्यो सम्भव नभएपछि अहिले अर्गानिक खेतीतर्फ लागेका हुन् । धोनीले आफ्नो नेतृत्वमा टीमलाई तीन पटक आइपीएलको उपाधि दिलाइसकेका छन् ।