घरमै बस्दा सामिप्यताको साटो झन् बढि हिंसा

घरमै बस्दा सामिप्यताको साटो झन् बढि हिंसा


■ विष्णु नेपाली

कोरोना भाइरसको महामारी जब विश्वव्यापी रूपमा फैलिन थाल्यो, विश्वका थुप्रै देशहरूले यसबाट बच्ने उत्तम विकल्पको रूपमा लकडाउनलाई रोजे र आफ्ना नागरिकलाई सुरक्षित रहन घरभित्रै बस्न आव्हान गरे । यो बन्दाबन्दीले मानिसको जीवनयापनमा कठिनाई त थपेको छ नै साथसाथै परिवारसँग समय बिताउन, घरायसी अपुरा काम गर्न, बालबालिकासँग समय बिताउन, करेसाबारीमा काम गर्न, घरभित्रको काममा सघाउन र श्रीमान्–श्रीमतीले एकअर्कालाई बुझ्ने ठुलो अवसर सृजना गरेको छ ।

तर, दुर्भाग्य ! हाम्रो जस्तो अल्पविकसित देशहरू जहाँ अधिकांश निर्णय पुरुषको तजबिजमा चल्दछ, सम्पत्तिमाथिको अधिकार र घरमुलीको जिम्मा पुरुषलाई नै सुम्पिने गरिन्छ, साथै सेवा तथा अवसरहरूमा पुरुषप्रधान नै हुन्छ र महिलालाई अधीनमा राखे मात्रै पुरुषत्व कहलिने प्रचलन छ, त्यहाँ घरधन्दाको कामहरू जस्तैः खाना पकाउने, भाडा माझ्ने, लुगा धुने, घरको सरसफाई गर्ने, बालबालिकाको स्याहार सुसार गर्ने र मेलापात गर्ने काम महिलाको मान्ने प्रचलन छ भने घरबाहिरको विशेषतः आम्दानी आउने काम पुरुषको हो । यदि महिलाले गर्नुपर्ने भनी तोकिएका कामहरू पुरुषले गरेमा पुरुषत्व नरहने भन्ने हानीकारक सामाजिक मान्यता भएकाले घरधन्दाको कामको बोझले पुरुषहरू घरमै बस्दा पारिवारिक सामिप्यता बढ्नुको सट्टा महिलाहरूले झन् बढी हिंसा बेहोर्नु परेको छ ।

समग्र, लैङ्गिक उत्तरदायी र जवाफदेही न्यायमा पहुँच सुदृढीकरण (सहज) परियोजनाद्वारा प्रदेश नं. २ र ५ का ३३ वटा पालिकाका ३३० घरधुरीमा गरिएको द्रुत परिवेश विश्लेषणको प्रतिवेदनअनुसार लकडाउनले परिवारसँगै बस्ने रमाउने वातावरण सृजना त गरेको छ तर सँगसँगै ४५ प्रतिशत परिवारमा लैङ्गिक हिंसा बढेको पाइएको छ । धेरैजसोले लकडाउनका कारण घरायसी कामको बोझ बढेको र पुरुषहरूले आफ्नो नैराश्यता महिलामाथि खन्याउने गरेको अनुभव राख्नुभएको थियो भने दैनिक आधारभुत आवश्यकताको व्यवस्थापनको विषयले हिंसालाई बढावा दिएको पाइएको छ ।

नेपाल प्रहरीको रेकर्डअनुसार लकडाउन शुरु भएको मिति २०७६/१२/११ देखि २०७७/२/१७ सम्म १०९३ जनाले आत्महत्या गरेका छन् । यो तथ्याङ्कले दैनिक १५ जनाले आत्महत्या गरेको देखाएको छ । लकडाउनकै समयमा रूपन्देहीमा आफ्नै बाबुले १५ वर्षीया छोरीलाई बलात्कार गरेका छन् । बालिकाको किटानी जाहेरीको आधारमा ४० वर्षीय बाबुलाई पक्राउ गरिएको छ ।

राष्ट्रिय महिला आयोगले २०७७ साल जेठ २५ गते सार्वजनिक गरेको हेल्पलाइनको रेकर्ड अनुसार चैत्र २०७६ साल ११ गते देखि २०७७ साल जेठ १० गते सम्म १ हजार ३ सय ६१ वटा फोनहरू आएकोमा ६०४ वटा फोनहरू महिला हिंसासँग सम्बन्धित थिए । आयोगका अनुसार मानसिक हिंसा १६ प्रतिशतले वृद्धि भएको छ । लकडाउनअघि दुई महिनामा ३८ प्रतिशत थियो भने लकडाउनमा ५४ प्रतिशत पुगेको छ । शारीरिक हिंसा ५ प्रतिशतले वृद्धि भएको पाइएकोछ । यसअघि २३ प्रतिशत थियो भने लकडाउनको अवधिमा २८ प्रतिशत पुगेको छ ।

त्यसैगरी यौनिक हिंसा २ प्रतिशतले वृद्धि भएको छ । महिला पुनःस्र्थापना केन्द्र (ओरेक)को तथ्याङ्कअनुसार लकडाउन शुरु भएदेखि जेठ २७ गते सम्म ६२४ जना महिला तथा बालबालिकामा विभिन्न प्रकारका हिंसा भएका छन् भने ६१ प्रतिशत महिलामाथि घरभित्रैबाट हिंसा भएको पाइएको छ । यो तथ्याङ्कले हिंसाको मुख्य श्रोत घरभित्रै हुन्छ र लामो समय सम्म घरभित्रै बस्दा हिंसा बढ्ने रहेछ भन्ने प्रमाणित गर्दछ ।

नेपाल प्रहरीको रेकर्डअनुसार लकडाउन शुरु भएको मिति २०७६/१२/११ देखि २०७७/२/१७ सम्म १०९३ जनाले आत्महत्या गरेका छन् । यो तथ्याङ्कले दैनिक १५ जनाले आत्महत्या गरेको देखाएको छ । लकडाउनकै समयमा रूपन्देहीमा आफ्नै बाबुले १५ वर्षीया छोरीलाई बलात्कार गरेका छन् । बालिकाको किटानी जाहेरीको आधारमा ४० वर्षीय बाबुलाई पक्राउ गरिएको छ । यसै अवधिमा बाँकेको बैजनाथ गाउँपालिकामा बैंकको गार्डको रूपमा काम गर्ने श्रीमानले कोदालोले हानी श्रीमतीको हत्या गरेका छन् । परपुरुषसँग फोनमा कुरा गरेको, अनलाइनमा कुरा गरेको, महिनावारी भएको समयमा पनि इच्छाविपरीत पतिले यौनहिंसा गरेको र चरित्रहत्या गरिएका उजुरीहरू राष्ट्रिय महिला आयोग र प्रहरीमा आएकोलगायत पतिको चरम मानसिक यातनाले मनोसामाजिक समस्या बढेको तथ्याङ्क राष्ट्रिय महिला आयोग, सिएससी नेपाल, टिपियो नेपाल जस्ता मनोविमर्श सेवा प्रदान गर्ने संस्थाहरूसँग रहेको छ ।

विभिन्न देशमा विभिन्न पत्रपत्रिकाहरूले पतिपत्नी सँगै बस्नु तनावपुर्ण भएको, आफ्नो हिसाबले समय बिताउन नपाउँदा तनाव बढेको, आत्माहत्याको दर बढेको र सम्बन्ध बिच्छेद बढेको देखाइरहेको पाइन्छ । यी त तथ्याङ्कमा आएका सीमित घटनाहरू भए तर अधिकांश लैङ्गिक हिंसाका घटनाहरू पारिवारिक दबाब, इज्जत र मानप्रतिष्ठा लगायत कानुनी अज्ञानता, खर्चिलो तथा ढिलो न्याय सेवा प्रणालीले गर्दा बाहिर आउँदैनन् भने अर्कोतिर पित्तृसत्तामा आधारित हाम्रो वैवाहिक र पारिवारिक संस्थाभित्रका आचार व्यवहार कहिले नाता सम्बन्धका नाममा, कहिले आत्मीय सम्बन्धका नाममा, परम्परा, मर्यादा र सामाजिक अभ्यासको नाममा लैङ्गिक हिंसाका घटनालाई सहजै स्वीकार्य बनाइन्छ ।

लकडाउनले महिलामाथि मार बढाएको पाइन्छ । परिवारका सबै जना दिनभरी घरमै बस्ने र महिलाले धेरै पटक धेरै थरी परिकार पकाउनु पर्ने, भाँडा माझ्नु पर्ने, कपडा धुनुपर्ने, घरको सरसफाई गर्नु पर्ने जस्ता कार्यबोझका साथसाथै चाहना हुँदा वा नहुँदा यौनको लागि तयार हुनुपर्ने अवस्थाका साथै कुनै परिवारमा अभावका कारण पारिवारिक किचलो सहनु पर्ने, काम नहुँदा मादक पदार्थ सेवन गरेर अनाहक नै कुटाई खानुपर्ने अवस्थाले महिलाहरू अपमानित हुनुका साथै विभेदपूर्ण जीवन जीउन बाध्य भएका छन् ।

हिंसाकै रूपमा गणना नहुने तर प्रायः महिला सधैं प्रताडित भइरहने अर्को विषय हो घरधन्दा । लकडाउनले यो मार महिलामाथि अझ बढाएको पाइन्छ । स्कुल, कलेज, कार्यालय, कल कारखाना लगायत बन्द हुँदा परिवारका सबै जना दिनभरी घरमै बस्ने र महिलाले धेरै पटक धेरै थरी परिकार पकाउनु पर्ने, भाँडा माझ्नु पर्ने, कपडा धुनुपर्ने, घरको सरसफाई गर्नु पर्ने जस्ता कार्यबोझका साथसाथै चाहना हुँदा वा नहुँदा यौनको लागि तयार हुनुपर्ने अवस्थाका साथै कुनै परिवारमा अभावका कारण पारिवारिक किचलो सहनु पर्ने, काम नहुँदा मादक पदार्थ सेवन गरेर अनाहक नै कुटाई खानुपर्ने अवस्थाले महिलाहरू अपमानित हुनुका साथै विभेदपूर्ण जीवन जीउन बाध्य भएका छन् ।

नेपालको संविधान २०७२ ले मौलिक हक र कर्तव्य अन्तरगत धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हकको उपधारा १ मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हनेछ भनि उल्लेख गरिएको छ । त्यसैगरी धारा १८ समानताको हकको उपधारा ३ राज्यले नागरिकहरूका बीच उत्पक्ति धर्म, जाति, लिङ्ग, आर्थिक अवस्था भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन भनि उल्लेख गरेको छ । साथै धारा ३८ महिलाको हकको उपधारा ३ मा महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ र उपधारा ६ मा सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ भनी उल्लेख गरिएको छ । तर, जबसम्म महिलालाई मुल्यहीन, दोश्रो दर्जाको नागरिक र हेयको दृष्टिकोणले हेरिन्छ ऐन कानुनमा उल्लेखित प्राव्धानहरू कागजमा मात्रै सीमित हुनेछन् ।

महिला–पुरुषबीचको असमान शक्ति–सम्बन्धले एकअर्काका परिपुरकको सट्टा प्रतिष्पर्धीको रूपमा उभ्याइदिएको छ । घरायसी कामको सम्मान र समान जिम्मेवारी, समविकासको लागि अनिवार्य पुरुष सहभागिता, हानीकारक सामाजिक मान्यता तथा अभ्यासहरू तोड्न अग्रपङ्क्तिमा लाग्नेलाई उत्प्रेरणा तथा परिचालन, समुदायका प्रभावशाली व्यक्तिहरूको पहिचान तथा परिचालन, सकारात्मक पुरुषत्वको प्रवर्द्धन, प्रभावितको पक्षमा आमसमुदाय र जवाफदेही तथा पीडितमैत्री सुरक्षा र न्याय सेवा प्रणाली भए मात्रै मौनताको संस्कृतिलाई तोड्न र न्याय खोज्ने प्रवृत्तिलाई बढाउन सकिन्छ ।

(लेखक ‘इन्टरनेशनल अलर्ट’का वरिष्ठ कार्यक्रम अधिकृत हुनुहुन्छ । प्रस्तुत लेखमा व्यक्त विचार तथा धारणा लेखकका निजी हुन् ।)