‘दमेकका देवता हाम्रा मामा !’

‘दमेकका देवता हाम्रा मामा !’


■ डिल्लीराम अम्माई

‘ए माइला, जा–जा, कालापातल पिपल्कोटे जेठानलाई लिएर आइज ! कृष्णे एक हप्ता भयो बिरामी भएको ! पहेँलो हुँदै गयो, दिशापिसाब ओछ्यानमै गर्छ । के दशा लागेका होला कुन्नि ! ८ वर्षको केटो, यस्तो भयो । छौँडासौँडा लागेर हो कि ?’

वि.सं. २०३०–३१ सालतिरको कुरो होला सायद । म थत्ताउरे छँदै नयाँघरे जेठाबाले हाम्रा बालाई अह्राएको हिजो जस्तै लाग्छ । हाम्रा जयलाल मामालाई बाले लिएर आए । जेठाबाको छोरो कृष्णे निस्लोट परेर बिस्तारामा थियो । ‘ए ! भान्जालाई त बेगारले थला पारेच । शरीरमा रगतै छैन, नारि मधुरा छन् । खै आँसी ल्याउ त बैनी ?’– मामाले कृष्णेको नाडी समात्दै स्वास्थ्य–निर्णय सुनाइदिनुभो ।

जेठियाँले आँसी ल्याउनुभयो र मामालाई दिनुभयो । मामाले पुरानो जङ्गली औषधिको दोकान फिँजार्नु भयो । दुइटा कुन्नि केका जरा खुर्कनु भयो । ‘तीन खुराक, यो दुधसँग सत्तुवा र यो बेगारको दबाई, एक खुराक अहिले ख्वाइहाल ! भोलिबाट बेगारका जुका फाल्न थाल्चन् र तीन–चार दिनमा निखार्चन्’– मामाले दबाइ फुक्नुभयो कृष्णेलाई पनि फुक्नुभयो । मामाले दिएको एक खुराक दबाइ भाइलाई जेठाबाले बलपूर्वक ख्वाएको आनन्द दाइले बिर्सनुभयो कि खै ? मैले अझै मज्जाले सम्झन्छु ।

भाइको उपचारपछि मामा हाम्रा घ’राँ पनि आउनुभयो । आँवोइ र आमासँग केहीबेर गफिनुभो । कान्छियाँले चिया बनाउनुभो, चिया पिउन धन्सारमा उक्लनुभो । केही बेरपछि हाम्रा घ’राँ झर्नुभो । अलिकति मकैका फुला, मरोटीको छोप अनि बाक्लो मोहीले चित्त बुझाएर कालापातालतिर सोझिनुभो ।

न त हाम्रा मामाले उपचारको कुनै शुल्क लिनुभो न मेजमानी नै खानुभो । मान्छे बचाउन, पहेँलिँदै गएको भान्जाको जीवनलाई हरियो बनाउन मामा आउनुभो । हामी राति अबेरसम्म नयाँघरे जेठाबाको घर थुप्रियौँ । भाइ धेरै छट्पटायो । सबैले राम–राम भनियो । भाइ रातको सन्नाटाबीच धेरै उचालिनी–पछारिनी गर्‍यो । सबै चिन्तित थिए । ‘साहुँ परेको के गर्नु, खै परान जान साह्रै गाह्रो भयो ।’ जेठाबा यसो भन्दै रोए, हाम्री आमा, जेठी आमा, कान्छी आमा, कान्छाबा सबै सुक्सुकाए । आनन्द दाई डल्ली दिदी, देवी बैनी, रामेदाइ सबै टुँयौला भयौँ । त्यो बेला म रोएँ कि रोइनँ बिर्सें । रामेदाइले भन्नुभो– ‘मामाले बेगारले हो, अलि–अलि लागेको पनि रहिछ । भान्जालाई केही हुन्न भन्नु भैच्च, न आत्तिनु जेठाबा !’ रामेदाइको मामाप्रतिको अद्भुत विश्वास देखेर म गमक्क परेँ ।

हाम्रा मामा कति जाति, सित्तैमा बिरामीलाई बचाउनु हुन्छ । न आएको ज्याला लिनुहुन्छ न भाडा ! उहाँको अत्यन्त सम्मान छ दमेकभरि ! दमेकभरि मात्रै हैन बाग्लुङको दक्षिणी भेगमै । म हाम्रा मामाको कर्मलाई त्यो बेला के–कति सम्मान गर्थें थाह भएन । तर अचेल ती महाबैद्य मामालाई देख्दा प्रेरणा प्राण बनेर शरीरभरि दौडिन खोज्छ ।

भोलिपल्ट नयाँघरे कृष्ण भाइले धेरै जुका फाल्यो । तीन दिनसम्म मुठाका मुठा जुका फाल्यो । भाइ दिनका दिन बौरिँदै आयो ! अर्को हप्तापछि त केटो तन्दुरुस्त भइहाल्यो ।

ऊबेलै दोकाने कान्छा’बाले भनेको सुनेको, ‘पिपलकोटे जेठानले धेरैको परान बचाउनुभो । भैंसीले पाडा फाल्न नसकेर बोलाउने उहाँलाई हो । मान्छे सुत्केरी हुन नसकेपछि पनि उहाँले नै हो आमा र बच्चा दुईतिर बनाउने ।’ हाम्रा मामा झारफुके लामा पनि हुनुहुन्थ्यो, गाइनोक्लोजिष्ट पनि हुनुहुन्थ्यो, हाडजोर्नीका डाक्टर पनि हुनुहुन्थ्यो र हाउस डाक्टर पनि हुनुहुन्थ्यो ।

त्योबेलाका हाम्रा पिपल्कोटे डाक्टर दमेक सिनियर डाक्टर जयलाल सापकोटा अहिले ९५ वर्षको भैसक्नु भएको छ । चितवनको वीरेन्द्रनगर सिक्स ग्रुपमा बस्नुहुन्छ । आफ्ना पुराना दिनहरू सम्झेर भन्नुहुन्छ– ‘मेरो जमानामा मैले सयौँ घरमा खुशी ल्याइदिन सहयोग गरेँ र हजारौँ बस्तुभाउको प्राण बचाएँ । मैले धेर शिशुहरूलाई औषधिमुलोबाट सन्चो बनाएको छु । मैले दुईतिर बनाएका बाबुहरू अझै जिउँदै छन् । त्यसैले विगतको कर्मप्रति कुनै पछुतो छैन ।’

पुराना महान् डाक्टरको त्यही निःशुल्क परोपकार सम्झेर होला बाग्लुङबाट तराइ झर्ने जो–कोही पनि उहाँलाई भेट्न वीरेन्द्रनगर सिक्स ग्रुप पुगेकै हुन्छन् ।

हाम्रा मामाले गरेको धेरै परोपकार मैले आँखैले देखेको हुँ । ३२ सालतिर मामा कालापातालबाट लाम्खोरिए सर्नुभएको थियो । मैले मामाको करामत आफैं देखेको अर्को घटना ०३३ सालतिरको हो । आँटी पुर्ने–पुर्ने बेलामा सुन्तालाचौरको स्कुल पल्ट्यो । मलाई सम्झना छ, त्यो वर्षको बतासे झरी धुन्धान थियो । पैह्राले धेरै हिनामिना गर्‍यो । त्यही बर्खा हो, ढुंगामुनि मुख्य पुसाजुको भैँसीले पाडो फाल्न सकेन । पुसाजुले हाम्रा पिपल्कोटे मामालाई तुरुन्त लिन पठाए । केही बेरमा मामा आउनुभो । भैंसीको पेटबाट पाडो थुत्नुभो । दुईतिर मुख भएको पाडो जन्म्यो । पाडो पछि मर्‍यो क्यारे ! स्याना केटारीले पाडा थुतेको वा भैँसी ब्याएको हेर्न हुन्न भनेर हामीलाई नजिक पर्न दिएनन् । तैपनि मामाले थुतेपछिका गँस्सुवा जुम्लेहा पाडा देख्यौँ ।

अर्को सम्झना– हाम्रै घरमा गौबुजो फर्काउने भैँसी थियो ! भैँसी बस्यो कि सत्यनास ! ह्वात्तै भँडार फर्काउने, अनि मामा नभइनहुने । मामालाई त्यसपछि १५ दिन तारिक लाग्यो । बाले भन्नुहुन्थ्यो, ’हाम्रा मामालाई त्यो बेला निःशुल्क सास्ती थियो ।’

मामालाई लिन सेरादेखि मध्यरातमा पनि लिन आउँथे, रोपाइको दिन मामा लिन बलेवा र फलेबासबाट समेत मान्छे आइपुग्थे । दमेकको त मामाले दवाई नबाँडेको सायद घर नै नहोला । तर मामाले कहिल्यै झिँजो मान्नुभएन, ढिलो गर्नु भएन, उपचारमा जातीय विभेद गर्नु भएन र आर्थिक अवस्था पनि हेर्नु भएन । दमेकमा महान् हुनुहुन्थ्यो हाम्रा मामा, दमेकीका प्राण हुनुहुन्थ्यो हाम्रा मामा र स्वास्थ्य–संकटमोचक हुनुहुन्थ्यो हाम्रा मामा । एकै शब्दमा भन्दा दमेकका देवता हुनुहुन्थ्यो हाम्रा मामा ।