राष्ट्रिय पुनर्निर्माणमा सँगसँगै ‘एक एनआरएन एक रोजगार अभियान’

■ कुल आचार्य



नेपाल सरकारका अनुसार झन्डै ४० लाख नेपाली खाडी मुलुकहरू, मलेसिया तथा कोरियामा काम गर्छन् । यसबाहेक भारतमा झन्डै १५ लाख नेपालीहरू काम गर्ने अनुमान गरिएको छ । ती मध्ये कोरोना संक्रमणका कारण जागिर गुमाएका १५ देखि २० लाख नेपालीहरू स्वदेश फर्कन सक्ने अनुमान गरिएको छ ।

नेपालमा हरेक वर्ष ५ लाख नेपाली युवा श्रम बजारमा प्रवेश गर्ने अध्ययनहरूले देखाएका छन् जसमध्ये अधिकांश तेश्रो मुलुकमा कामको खोजिमा जाने गरेका थिए । अब उनीहरूको लागि पनि स्वदेशमै रोजगारी खोज्नुपर्ने अवस्था आएको छ ।

भारत बाहेकका मुलुकहरूमा झन्डै ६० देखि ७० लाख नेपालीहरू बसोबास गरिरहेको ठानिन्छ । उनीहरूमध्ये रोजगारी गुमाएका, गर्भवती, बिरामी नागरिकहरूलाई स्वदेश फिर्ता ल्याउने जिम्मेवारी राज्यको हो । सर्वोच्च अदालतको आदेश बमोजिम बेखर्ची भएका नेपाली नागरिकहरूलाई स्वदेश फर्काउने व्यवस्था मिलाउन अनुरोध गर्दै यस पङ्क्तिकारले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र पनि लेखेको थियो । साथै नेपाल फर्कंदै गरेका प्रवासी नेपालीहरूलाई कसरी समुदायमा पुनर्स्थापन गर्ने, कसरी उनीहरूको आजीविकाको व्यवस्था गर्ने भन्ने अरु ठूलो चुनौती छ । यसबारे केही चर्चा गर्न चाहन्छु ।

के हो ‘एक एनआरएन एक रोजगार’ अभियान ?

कोरोना संकटका कारण लाखौँ नेपालीहरू स्वदेश फर्किए पनि युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा, दक्षिण कोरिया, जापान लगायतका मुलुकहरूमा झन्डै बीस लाख नेपालीहरू बसोबास गरिरहनु हुनेछ । उहाँहरूले आ–आफ्नो ठाउँबाट सघाउने हो भने स्वदेश पÞmर्किएका नेपालीहरूका लागि रोजगार सिर्जना गर्न त्यति गाह्रो हुने छैन । तर यसका लागि स्पष्ट भिजन, कार्य योजनाका साथै नेपालका संघीय, प्रदेश र स्थानीय सरकारहरू, नेपालको निजी क्षेत्र तथा गैरआवासीय नेपाली संघबीच निकट सम्पर्क, समन्वय तथा सहकार्य हुन अनिवार्य छ ।

यो अभियानअन्तर्गत इच्छुक प्रवासी नेपालीहरूलाई पाँच सयदेखि पाँच हजार डलरसम्म नेपालको बैंकमा स्थानान्तर गर्न आग्रह गरिने छ । उक्त रकम सुरक्षित रहने छ र लगानीकर्तालाई प्रमाणपत्र दिइने छ । शुरुको तीन वर्ष सो रकममा कुनै ब्याज दिइने छैन, चौथो वर्ष उक्त रकम पूरै वा आंशिक रूपमा फिर्ता लग्न सकिने छ ।

यसरी हामीले नेपाल पठाएको रकमबाट हजारौँ नेपालीले रोजगार पाउने छन् भने ३ वर्षपछि हाम्रो रकम पनि फिर्ता आउने छ । हामीले प्रदान गरेको रकम कुनै सामूहिक लगानीको रुपमा वा आयोजनामा लगानी गर्ने इच्छा लागेमा ३ वर्ष पछि त्यो पनि गर्न सकिन्छ । यदि १० लाख जना नेपालीले जनही कम्तीमा एक हजार डलर लगानी गरेमा हामीसँग १० करोड डलर (अहिलेको दरमा झन्डै १२ अर्ब २० करोड ) रुपियाँ संकलन हुने छ । यदि दुई लाख नेपालीले लगानी गरेमा हामीसँग २० करोड डलर (अहिलेको दरमा झन्डै २४ अर्ब ४० करोड ) रुपियाँ संकलन हुने छ । उक्त रकम नेपालमा प्रमुख बैंकहरूमा उच्च ब्याज दर आउने गरि निक्षेप गर्न सकिने छ । त्यसबाट आउने ब्याज प्रशासनिक खर्च, योजना निर्माण तथा प्राविधिक सहयोग उपलब्ध गराउन खर्च गर्न सकिने छ ।

संचालन योजना

यो अभियान संचालनका लागि प्रदेश सरकारहरूसंग समन्वय गरी सातै प्रदेशमा संचालक समिति गठन गरिने छ । केन्द्रमा गठन हुने निर्देशक समितिमा नेपाल सरकारका प्रतिनिधि, निजि क्षेत्रका प्रतिनिधि, प्रतिष्ठित अर्थशास्त्री, व्यवस्थापन विज्ञ तथा एनआरएनएका प्रतिनिधिहरू रहने छन् । नेपालको प्रचलित कानून बमोजिम एक कम्पनी खडा गरी रकम संकलन गरिनेछ । रकम भित्राउने नाममा ‘मनि लण्ड्रिङ’ हुन नपाओस् भनेर सुनिश्चित गरिने छ ।

यो रकम लिन इच्छुक नेपाल फर्किएका प्रवासी नेपालीले आफ्नो परियोजनाको खाकासहित निवेदन दिनुपर्नेछ । परियोजना स्वीकृत भएमा परियोजना रकमको बढीमा ८० प्रतिशत सम्म निर्व्याजी ऋण दिइने छ । ऋण प्राप्त गर्नु हुने सम्बन्धित व्यक्तिको धितो ग्यारेन्टी विदेशमा बसेका हामी नेपालीले दिन सक्ने अवधारणा पनि बनाउनु पर्ने देखिन्छ ।

नेपाल फर्कने प्रवासी नेपालीहरूमा एकातिर श्रम गर्ने संस्कार हुन्छ भने अर्कोतिर केहि न केही सीप पनि सिकेका हुन्छन् । उनीहरूलाई केवल आवश्यक छ त उपयुक्त तालिम, प्रशिक्षण, उद्यम संचालन गर्न र बजारसम्म पहुँच पुऱ्याउन सहयोग । गएको २–३ महिना हामीले नेपालमा उन्नत कृषि, चिया, कफी जस्ता नगदे बाली, पशुपालन, साना तथा घरेलु उद्यम, पर्यटन तथा सेवा क्षेत्रमा नयाँ रोजगारीहरू सृजना गर्न सकिने बहस सुनेका छौँ । नेपाल सरकार र नेपालको निजि क्षेत्रसाँग हातेमालो गरेर हामीले आगामी तीन वर्षमा हजारौं रोजगारी सृजना गर्न सक्छौं । यो नेपालको पुनर्निर्माणमा गैरआवासीय नेपालीहरूको ठोस योगदान हुने छ ।

भूकम्पबाट पीडित नेपालीहरूको सेवाका लागि हामी सबै गैरआवासीय नेपालीहरू एकजुट भएर पुनर्निर्माणमा लागेको भर्खरै ५ वर्ष पूरा भएको छ । त्यस्तै कोरोना संकटले रोजगारी गुमाएका र स्वदेश फर्किएका हाम्रै दाजुभाइ दिदीबहिनीहरूलाई सक्दो सहयोग गरेर नेपालको पुनर्निर्माणमा सघाउने यो ऐतिहासिक घडीमा हाम्रा अग्रजहरू तथा वर्तमान नेतृत्व वर्गको समेत संयोजनकारी भूमिका हुने छ भन्ने संसारभरी फैलिएका गैर आवासीय नेपालीहरूले विश्वास लिएका छन् ।

पङ्क्तिकार न अर्थशास्त्री हो न त व्यवस्थापन विज्ञ नै । पोर्टर, सेफ हुँदै बेलायतजस्तो देशमा व्यवसाय चलाएको अनुभव र गएको १३ वर्षदेखि एनआरएन अभियानबाट सिकेको ज्ञानको आधारमा मैले यस्तो प्रस्ताव गरेको हुँ । नेपाल तथा संसारभरि रहेका विज्ञहरूको सरसल्लाहका आधारमा यो प्रस्तावलाई अन्तिम रुप दिन र आवश्यक परे स्वयंसेवी रुपमा यो अभियानलाई अगाडी बढाउन म तत्पर रहेको अनुरोध गर्दछु । विदेशमा बसीरहेका हामी सबैका लागि यो मातृभूमिको ऋण तिर्ने एक अवसर पनि हो । अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ?

(गैरआवासीय नेपाली संघका पूर्व केन्द्रिय उपाध्यक्ष आचार्य बेलायतमा बसोबास गर्छन् ।)

प्रतिक्रिया