विशाल नेपाल तर्फबाट

विशाल नेपाल तर्फबाट


अभय अधिकारी, अनामनगर/काठमाण्डू

आज बाबाकोे कुटीमा धुँवा व्यप्त थियो । चिसा मुडा आगो सल्कन मानेको थिएन । पत्रकार पुगेर बाबालाई ‘नमन’ भन्यो ।

‘स्वस्ति’ भनेर बाबाले प्रश्न गरे ‘के पढ्दै छौ ?’ के छ त्यो पत्रिकामा कुनै खास नयाँ ?

आज धेरै कुरा छन् यो पत्रिकामा– नागरिकताका कुरा, सिमानाका कुरा, दलितका कुरा, जनजातिका कुरा, घोटलाका कुरा, के मात्र छैन भन्नु र बाबा ?! आमाले छोरालाई गोली हानेर मारेको कथा पनि छ । त्यसैले यिनै प्रसङ्गमा चर्चा गर्न म आएको छु । चर्चा हैन समाधान खोज्न आएको छु भन्नु पऱ्यो ।

पहिले मलाई सम्झाऊ– यो पत्रिका कसको पक्षमा बोल्छ ? कुनै व्यक्ति गुट, दल, सत्ता, शक्ति, समाज वा राष्ट्र ? गन्तव्य के हो ? अथवा आफ्नै देशको गुप्तचरी गर्छ ? सूचना बेच्छ र आफ्नै मुलुकलाई होच्याउँछ ? कसैको त मुखपात्र होला नि ? पत्रकार भुसाल र नक्साविद् कनिष्ठले कुरा फेरेझैँ गर्ने त होइन तिम्रो पत्रकारिता ? कि के ?

पत्रकारले बीचमा बोलेर बाबाको धाराप्रवाह सम्वादलाई खण्डित गर्न चाहेन, जबकि पत्रकार श्री दशनामी सम्वाद खण्डित गर्न अरिँगाल खनिए झैँँ खनिन्थ्यो, श्रृगाल सिंग कमिलाचाहिँ अतिथि अगाडी पऱ्यो कि काउचो लागेझैँ एक्लै उफ्रिन्थ्यो र आफै जान्ने हुन खोज्थ्यो । यो स्थिति बुझेर पत्रकार जगतसँग बाबा स्वयम् विरक्त थिए । तैपनि संयम लिएर उनले यति मात्रै भने- ‘प्रिय पत्रकार ! मि. मोदीलाई उनका सूचकले पनि छले र उनका विश्वासपात्रले बढी नै हावा भरे । उनलाई असफल गराउने र बदनाम गर्ने उनकै निकटका सल्लाहकार हुन् । तिम्रा काका पनि लामो समयसम्म यस्तै तत्वका शिकार भएका हुन् । तिमीले गणित लगाएका छौ ? उता मोदी कति नमजासँग हारे र दुर्नाम भए । उनैको अहमले गर्दा विनायुद्ध सेना मारिए । सेनाको मनोबल घट्यो र जनता क्रुद्ध भए । देशको माटो, जनता र सेनालाई व्यक्तिगत इगोको पूर्तिका लागि दाउमा राख्न मिल्थ्यो र ? आखिर चीनले धरती खाइदियो कि ?’

‘बाबा हाम्रो पनि भूमि इन्डियाले ओगटेको छ नि ?’

‘हो पश्चिम, दक्षिण र पूर्व वरिपरि धेरै ठाउँमा.. । त्यो समाधान हुनुपर्छ । मैले कतै पढेको छु इन्डियाले (क) कि सुगौली सन्धि, (ख) कि विशाल नेपालको सीमा/नेपाल इस्ट इन्डिया कम्पनी (ब्रिटिस)सँग युद्ध हुनुपूर्वको राज्य सीमा (ग) कि टिष्टा शतलज (?) सीमा (घ) कि पौराणिक ग्रन्थमा निर्दिष्ट सीमा शर्तमध्ये जे मञ्जुर हुन्छ– प्रमाण देखाएर भोगोस् किन्तु हठ नगरोस । हठ गऱ्यो भने उसैलाई घाटा होला ।

बाबा एकोहोरो प्रलाप गरेर अप्रसङ्गतिर लागेको ठानेर पत्रकारले भन्यो, ‘बाबा यो अंगीकृत नागरिकको घाउ के हो ? कसरी हेरिनुपर्छ ।’

गतिला मान्छेलाई अंगीकृत बनाउ । झार-घाँस फुस सबैलाई बनाएर समस्या किन बोक्छौ ? अंगीकृतबाट अंगीकृत नै जन्मने प्रणाली बसाऊ, आगो पनि लाउन छोड्छ, पैरो पनि जान छोड्छ । अंगीकृतको नारा जुलुसमा अंगीकृत नै जाने प्रणाली बसाउँ र भोट पनि अंगीकृतलाई अंगीकृतले नै दिने भन्ने नीति बनाऊ । स्ववासीको नेता स्ववासी नै हुने प्रस्ताव राख । असजिलो कहाँ हुन्छ बुझ्न पऱ्यो नि ? अंगीकृतको नारा जुलुसमा पुराना वासिन्दा गोली लागेर मर्ने ? पारीबाट आफ्नै गाउँबाट आफ्नै परिवारका मान्छे ल्याए हुन्न ? अंगीकृतका लागि शहीद हुन मिल्छ ? राज्यले नीति निर्माण गर्ला नि ! स्थानीय पुरातन बासिन्दाको सन्तान जन्मेको पाँच साताभित्र नागरिक पत्र र नम्बर देउ । तब ९९ प्रतिशत समस्या स्वतः समाधान हुन्छ । अँ.. ज्वाईलाई नागरिक बनाउने कि छोरीको सन्तानलाई नागरिक पनि ? मन्थन गर्नुपर्ला नि ! नगरिक पत्रकारको राय चाहिएला कि ! सीमा पत्रकार के भन्छ ? डा. राजेश अहिराजसँग अथवा साध्यबहादुर भण्डारीसँग परामर्श गर सबै अप्ठ्यारा कुराको समाधान हुन्छ ।

बाबा अन्तै अप्रासङ्गिक सन्दर्भतर्फ लागेको देखेर पत्रकार आकुल भयो । उसँग समय थिएन । त्यसैले घडी हेरेर छट्पटाएको देखिन्थ्यो ।

बाबाले भने, मेरो कुरा ध्यान दिएर सुन । सीमा र नागरिकताको समस्या एकै पटक समाधान गर । त्यो अत्यन्त सरल, वैज्ञानिक र जोखिमपूर्ण पनि छ ।

‘बाबा त्यो कसरी ?’

‘विशाल नेपालको सिमानाभित्रका वासिन्दालाई नागरिकपत्र (नागरिकता) दिने व्यवस्था गर । फेरि प्रहरी र सेनामा भर्ना लेउ । विशाल नेपालभित्रका नागरिक तिम्रा, तिनले भोगेको धरती तिम्रो । घर जग्गाको प्रमाण पूर्जा तिम्रा । बस एक पटक आजमा के तो देखो– मान्छे मात्र तिम्रो हुन्छ कि उसले भोगेको धरती पनि तिम्रो हुन्छ ? उसका उत्पादन आफै तिम्रा संसारमा आइपुग्छन् । म योजनाविद पनि खोजिदिन्छु । यदि तिमीसँगै असल अक्कल भए सरकारलाई देऊ । अहिले तिमी जस्तै अक्कलमन्दको खाँचो छ तिम्रो सरकारलाई । गँजडी बाबासँग के बुद्धि हुन्छ – उ त वनवासी जो भैगो ।’

पत्रकार मनमन भन्दै थियो– बाबाले प्रसँग फेरे पनि हुन्थ्यो । त्यसैले मौनता साधेर उ चुप भयो ।

मैले कुरा बुझेँ । दलित बारे यति मात्र भन्छु– संविधानबाट दलित शब्द हटाउनु पर्छ । कसैलाई अपमान गर्न मिल्दैन । दलित भन्ने र भनाउने बाध्यता संविधानले नल्याओस त्यो सम्मानजनक प्रसङ्ग होइन । र, म त भन्छु जो दलितको कित्तामा पारिएका छन् तिनले दलित शब्दको प्रयोग गर्न रोक्नुपर्छ । त्यसरी कसैलाई शताब्दी शताब्दी दलित पार्न र भन्न पाइन्छ ? त्यसो गर्ने अधिकार कसैलाई छैन । यो घातक शब्द हो, यसको अभिप्राय पनि गलत छ । हाम्रो समाजमा तुच्छ, ध्येय त्याज्य कोही छैन, हुनुहुँदैन ।

‘बाबा दलितलाई एकैचोटि उठाउने, प्रशोधन गर्ने कुनै उपाय छैन ?’ बल्ल पत्रकारले सही प्रश्न सोध्यो ।

‘के राम्रो प्रश्न गऱ्यौ । धन्यवाद तिमीलाई । दशनामीभित्रका थर दिनुपर्छ । यो पहिलो प्राङ्गण हो । यहाँबाट जहाँ पनि पुग्न सकिन्छ । यो बाटो सरल पनि छ र त्यत्तिकै वैज्ञानिक पनि । तेस्रो पुस्तामा पुग्दा कुनै दलित रहने छैन । राज्यले विधिवत कागजात कायम गर्नुपर्छ । आफ्नो वंश मनैमा राखुन्, आफन्तसँग चर्चा गरेर इतिहास बुझुन् । त्यो आपत्तिजनक होइन । भिन्न भिन्न कुल वंश वा परिवारबाट दशनामी (गिरी, पुरी, भारती, सरस्वती, सागर, वन, जंगम, योगी ?) आदिको शिष्य भयो, फेरि आएर गृहस्थी बन्यो र दशनामीकै वंश बढायो । परम्परा त यही नै हो । यो उदार मार्ग हो, सीधै शिष्य भएर गृहस्थ जीवनमा पसोस् । मलाई त उपयोगी र औचित्यपूर्ण पथ यही नै लाग्छ ।

बाबाको एकोहोरो संवाद सुनेर पत्रकार दिक्क भैसकेको थियो । ऊ चाहन्थ्यो संवाद चाँडै टुंगियोस् ।

नभन्दै बाबाले आफै भने, ‘हेर, म कसैलाई जनजाति भन्न चाहन्न । बरु यसबारे तिमी नै मलाई सम्झाऊ । म प्रश्न गर्न चाहान्छु जनजाति के हो ? कसरी बुझ्नु ?’

‘अर्थात ?’

‘अर्थात्.. शरीरको खास बनोट हो, अनुहार हो, भाषा हो, भूगोल हो, संस्कृती हो । चालचलन वा रीति रवाज हो, आर्थिक अवस्था हो शैक्षिक गतिविधि हो, सामाजिक चेतना हो, राजनीतिक सोच हो ? के हुँदा जनजाति हुन्छ र के नहुँदा जनजाति हुँदैन ?’

जनजातिको कित्तामा झन्नै ६० समूह होलान् दर्ता गरिएका । तिनमा के समानता छ भौतिक स्वरुपबाहेक ? अध्ययनको पूर्णता पछि मात्रै ‘जनजाति’ भन्ने कि नभन्ने निर्णय गर्नुपर्थ्यो कि ? सम्वत २०३० पछि देखापरेको हो त यो जाति त्यो पनि बाहिरियाले चिनाई दिएको ! मैले यस विषयमा पढेको छैन । शब्दकोषबाट कि यो शब्द हराउन् पर्छ, कि अर्थ फेर्नुपर्छ । मानसिक रुपले अत्यन्त सुसंस्कृत, सभ्य र उदात्त यो जाति कसरी जनजातिमा दर्ता भो ? कहीं जातीय द्वन्द्वका लागि जन्माएको नयाँ जाति त होइन ?

बाबाको प्रवचन सुन्दा सुन्दै पत्रकारका मनमा जनजाति बारे संविधानसभाका सदस्यलाई सोध्ने विचार जन्म्यो र जुरुक्क उठेर कुटीबाट निस्क्यो । बाबाले ठाने आकाश खसेर थिच्ने डरले हिँड्यो ।