महानायकको महाअपमान किन ?

महानायकको महाअपमान किन ?


■ देवप्रकाश त्रिपाठी

‘सत्य’ नबिक्ने देशमा सत्यका पक्षमा उभिनु पनि एउटा धृष्टता हुन सक्छ, यसो भन्दैमा इमानको तिरष्कार गरेर झुठको पक्षमा ताली बजाउन यो मन मानेन ।

देशको इतिहास जतिपटक पढ्दा पनि जङ्गबहादुर राणामाथि न्याय हुन नसकेको अनुभूति भएपछि दुई दशकअघि घटना र विचारमा एउटा लेख लेखेर उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराइएको थियो । तर, सिमेन्टझैँ जमेको पूर्वाग्रहलाई खल्बल्याउन सकिएन । प्रजातन्त्र र प्रजातान्त्रिक इतिहासको लेखनीमा बेग्लै तथ्य र कथ्य विवरण प्रस्तुत हुने भए पनि राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर इतिहास लेख्दा बडामहाराजाधिराज पृथ्वीनारायण शाहपछि जङ्गबहादुर राणा, बहादुर शाह, राजेन्द्र लक्ष्मी र राजा महेन्द्रलाई स्मरण गरेनौँ भने इतिहासले पूर्णता प्राप्त गर्न सक्दैन । त्यस्तै कालु पाँडे, भीमसेन थापा, बिसे नगर्ची, भीम मल्ल, चन्द्र शमशेर, राजा वीरेन्द्र, कृष्णप्रसाद भट्टराई र टङ्कप्रसाद आचार्यसम्मलाई हामीले स्मरण गर्नुपर्ने हुन्छ ।

नेपाल एकीकरणको सन्दर्भमा सुरप्रताप शाह, वंशराज पाँडे, श्रीकृष्ण पाठक, बंसु गुरुङ, वीरभद्र उपाध्याय, रामकृष्ण कुँवर, श्रीहर्ष पन्थ, झागल गुरुङलगायतका योद्धालाई बिर्सन सकिँदैन । तर जङ्गबहादुर राणाले नेपालको अस्तित्व, सार्वभौमिक सर्वोच्चता र राष्ट्रिय पहिचान रक्षाका निम्ति पुऱ्याएको योगदानचाहिँ अति विशिष्ट स्तरको भएर पनि हामी किन उनलाई नायकभन्दा बढी खलनायकका रूपमा स्मरण गर्छौं ? किन उनले दिएको योगदानको उचित मूल्याङ्कन गर्न कञ्जुस्याइँ गर्छौं, यो दुःखद आश्चर्यको विषय छ ।

नेपालको इतिहासमा भीमसेन थापाले तीन दशक लामो शासन गरेका थिए र, जङ्गबहादुरले पनि तीन दशक नै शासन गरेका हुन् । त्यस्तै, राजाको सक्रिय नेतृत्वमा पञ्चायती व्यवस्था तीन दशकसम्म चलेको थियो भने प्रजातन्त्रका नाममा शासन चल्न थालेको पनि तीन दशक (२०४७–२०७७) नै पूरा भएको छ । उल्लिखित चार वटा ‘तीन दशक’को निष्पक्ष मूल्याङ्कन या समीक्षा गर्नुपर्ने ठीक समय अब आएको छ र, यस क्रममा यहाँ जङ्गबहादुर राणाको शासनकालमा भएका कामको संक्षिप्त चर्चा गर्दै उनी किन राष्ट्रिय विभूति बन्न लायक छन् भन्ने तथ्य दर्शाउने प्रयास भएको छ ।

नेपालको इतिहासमा भीमसेन थापाले तीन दशक लामो शासन गरेका थिए र, जङ्गबहादुरले पनि तीन दशक नै शासन गरेका हुन् । त्यस्तै, राजाको सक्रिय नेतृत्वमा पञ्चायती व्यवस्था तीन दशकसम्म चलेको थियो भने प्रजातन्त्रका नाममा शासन चल्न थालेको पनि तीन दशक (२०४७–२०७७) नै पूरा भएको छ । उल्लिखित चार वटा ‘तीन दशक’को निष्पक्ष मूल्याङ्कन या समीक्षा गर्नुपर्ने ठीक समय अब आएको छ ।

संसारमा देशको एकीकरण र राष्ट्रियताको रक्षामा विशिष्ट योगदान पुऱ्याउने नेपोलियन बोनापार्ट र बिस्मार्कदेखि चङ्गेज खाँसम्मको उच्च मूल्याङ्कन भइरहँदा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक ढाल्ने र उनको तस्बिरमा पदप्रहार गरिने यो मुलुकमा जङ्गबहादुरको उचित कदर नहुनु अस्वभाविक होइन । तर, यस्तै अस्वाभाविकताको निरन्तरताले अब नेपालको अस्तित्व रक्षा हुन सम्भव देखिँदैन । त्यसैले इतिहासका हरेक पात्र, प्रवृत्ति र तिनका भूमिका तथा योगदानको सही एवम् निष्पक्ष मूल्याङ्कन गर्न अब विलम्ब गरिनु हुँदैन ।

संसदीय प्रजातान्त्रिक प्रणाली भत्काएर अस्थिरता र दीर्घ अराजकता निम्त्याउनेहरूलाई केही वर्षयता देशमा उच्च सम्मान दिइँदै छ । प्रचण्ड–बाबुरामको नेतृत्वमा बहुदलीय प्रजातान्त्रिक प्रणाली, शान्ति, विकास, एकता र स्थिरताविरुद्ध शुरु गरिएको हिंसात्मक युद्धमा हज्जारौँ निर्दाेष नेपालीले ज्यान गुमाए, लाखौँ नेपाली लुटिए, लाखौँलाई आफ्नै मुलुकभित्र शरणार्थी बनाइयो, अर्बौं रूपैयाँबराबरको भौतिक संरचना नष्ट गरियो र, मुलक पचासौँ वर्ष पछाडि धकेलियो । त्योभन्दा पनि पीडादायक पक्ष देशको एकता नास गरियो, मौलिक धर्म, संस्कृति र सभ्यताविरुद्ध जथाभावी हमला गर्ने अभियान चलाइयो, सामाजिक सद्भाव भत्काइयो र देशको सार्वभौमिक सर्वोच्चतालाई जगैदेखि खल्बल्याइयो । यस्ता (कु)कार्यका नाइकेहरूलाई यो पुस्ताका हामीले प्रधानमन्त्री र नेता बनाएको ब्यहोरा इतिहासमा पढेर भोलिको पुस्ता हाम्रो नालायकीप्रति रुन थाल्ने हुन् कि हाँस्ने ? हो, हामी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई भन्दा उहाँको शालिक ढाल्नेहरूलाई ‘महान्’ ठान्ने समयको साक्षी बस्दैछौँ । देशको एकता, राष्ट्रियता, धर्म–संस्कृति र सामाजिक सद्भावसहित समृद्धिको पक्षमा उभिएकाहरूलाई नाजायज करार दिँदै हामी विखण्डन, अनेकता र अधर्म पक्षका पात्रहरूको प्रशस्तिगानमा समय खर्च गर्दैछौँ, त्यसैले हाम्रो यो पुस्तालाई इतिहासकै लाचार, कायर, विवेकहीन, नालायक ठहर गर्ने निर्णयमा भोलिको पुस्ता पुग्यो भने त्यो नाजायज हुने छैन ।

हो, हामी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई भन्दा उहाँको शालिक ढाल्नेहरूलाई ‘महान्’ ठान्ने समयको साक्षी बस्दैछौँ । देशको एकता, राष्ट्रियता, धर्म–संस्कृति र सामाजिक सद्भावसहित समृद्धिको पक्षमा उभिएकाहरूलाई नाजायज करार दिँदै हामी विखण्डन, अनेकता र अधर्म पक्षका पात्रहरूको प्रशस्तिगानमा समय खर्च गर्दैछौँ, त्यसैले हाम्रो यो पुस्तालाई इतिहासकै लाचार, कायर, विवेकहीन, नालायक ठहर गर्ने निर्णयमा भोलिको पुस्ता पुग्यो भने त्यो नाजायज हुने छैन ।

जतिबेला जङ्गबहादुर कुँवर राणाले सत्ता प्राप्त गरे त्यसताक नेपालमा प्रजातान्त्रिक शासन प्रणाली र कानूनी शासन थिएन । तीन दशकसम्म अधिनायकवादी शासन सत्ता सञ्चालन गर्ने भीमसेन थापाले हिंसा र छलकपटको सहारा लिएको जङ्गबहादुरले बुझेका थिए । सत्तामा पुग्ने बाटो चाकडी, षडयन्त्र, छलकपट र हिंसाबाहेक अर्को कुनै नभएका बेला जङ्गबहादुरले भीमसेन थापाको सोही मार्ग अवलम्बन गरेका हुन् भन्न सकिन्छ । चन्दा नदिएको, आफूलाई सहयोग नगरेको या फरक विचार समूहको भएका कारण जङ्गले खोजि–खोजि कसैको हत्या गरेनन् । हत्याराका रूपमा इतिहासमै अङ्कित जङ्गबहादुरबाट आत्मरक्षाका क्रममा कोत र भण्डारखाल काण्डमा गरी करिव पाँच दर्जन ब्यक्तिको मात्र हत्या भएको देखिन्छ । त्यसबेला संसदीय प्रजातन्त्र अस्तित्वमा रहेको भए आफूले प्रधानमन्त्री पद पाउन निर्दोष जनताको गर्धन छिनाउने र पढाइरहेका शिक्षकलाई आततायी ढङ्गले हत्या गर्ने काम सम्भवतः जङ्गबहादुरबाट हुने थिएन, चुनावी प्रतिष्पर्धाबाट आफूलाई सत्ताको केन्द्रभागमा पुऱ्याउने विवेक, क्षमता र सामथ्र्य पनि उनमा देखिन्छ । सत्तामा पुगिसकेपछि आफ्नो शासनकालमा जङ्गबहादुरले देशका निम्ति जे–जति कार्य गरे, त्यस आधारमा उनको उदय नभएको भए इतिहासको पानामै मात्र नेपालको अस्तित्व सीमित हुने थियो कि भन्ने तथ्यहरूले देखाउँछ । आफ्नो ब्यावसायिक प्रवद्र्धनका लागि हिमाल चढ्न जाँदा मरेका मान्छेलाई समेत राष्ट्रिय विभूति बनाउने यो देशले इतिहासमा अद्वित्तीय योगदान पुऱ्याउने जङ्गबहादुर राणालाई राष्ट्रिय विभूतिका रूपमा अङ्कित गरी सम्मान नदिँदा सच्चा देशभक्त र कर्मवीर नेपालीहरू निरुत्साहित हुने स्थिति बन्दै आएको छ ।

देशका निम्ति विशिष्ट योगदान पुऱ्याउने महानायकहरूलाई तिनका अन्य कमजोरी या आलोचनात्मक पक्षलाई विस्मृतिमा राखि विश्वमै उच्च सम्मान दिने गरिएको छ । विश्वको सर्वाधिक हिंस्रक तथा निन्दनीय मानिएका चङ्गेज खाँलाई मङ्गोलियाले करिव एक हजार वर्षसम्म निन्दा र घृणा गऱ्यो । तर पनि देशको एकीकरणमा विशिष्ट योगदान पुऱ्याएको भन्दै केही वर्षअघि मात्र चङ्गेजलाई राष्ट्रिय विभूतिको सम्मान दिएको छ । जङ्गबहादुर चङ्गेज खाँ जस्ता आपराधिक मानिस नभएको उनका कार्य व्यवहारले सिद्ध गरिसकेको छ । एउटा तुच्छ पद पाउनका निम्ति देशको अस्तित्व नै दाउमा लगाउने र राष्ट्र एवम् राष्ट्रियताविरुद्धको ‘परिवर्तन’मा निमित्त नायकको निर्णायक भूमिका निर्वाह गर्नेहरूलाई निर्लज्ज ढङ्गले ‘नायक’ मान्नेहरूले एकपटक देशको इतिहास पढ्न र इतिहासको मर्म आत्मसात गर्न जरुरी छ । यहाँ जङ्गबहादुरबाट उनको शासनकालमा भएका अविष्मरणीय कार्यहरू बुँदागत रुपमा प्रस्तुत गरिएको छ, जसले जङ्गबहादुरलाई राष्ट्रिय विभूतिको सम्मान दिन योग्य देखाउँछ ।

त्यसबेला संसदीय प्रजातन्त्र अस्तित्वमा रहेको भए आफूले प्रधानमन्त्री पद पाउन निर्दोष जनताको गर्धन छिनाउने र पढाइरहेका शिक्षकलाई आततायी ढङ्गले हत्या गर्ने काम सम्भवतः जङ्गबहादुरबाट हुने थिएन, चुनावी प्रतिष्पर्धाबाट आफूलाई सत्ताको केन्द्रभागमा पुऱ्याउने विवेक, क्षमता र सामथ्र्य पनि उनमा देखिन्छ ।

१) जङ्गबहादुरले आफू सत्तामा आएको दुई वर्षपछि वि.सं. १९०५ मा जङ्गी किताबखानाको स्थापना गरी कर्मचारीहरूको विवरण लिपिबद्ध गर्ने व्यवस्था गरेका थिए ।

२) राजदरबारभित्र उत्पन्न कलहका कारण मुलुकमा उत्पन्न राजनीतिक अस्थिरताको अन्त्य गरी स्थिरता दिने काम उनीबाट भएको थियो ।

३) नेपालको ‘प्रत्युत्पादक’ परराष्ट्र नीति परिवर्तन गरी राष्ट्रहितकेन्द्रित नीति अवलम्बन गर्ने व्यक्ति पनि जङ्गबहादुर नै थिए ।

४) कसैलाई बोक्सी आरोप लगाउन नपाइने र लगाएमा कानूनी कारबाही गर्ने व्यवस्था उनले गरेका थिए ।

५) पहिलो पटक राजमार्ग निर्माणको अवधारणा जङ्गबहादुरले अघिसारेका थिए । पूर्व मेचीदेखि पश्चिम डोटीसम्म राजमार्ग निर्माण गरी त्यसको दुवैतर्फ वृक्षारोपण समेत गर्नका लागि उनले वि.सं. १९०६ मा तीन लाख रुपैयाँ विनियोजन गरेका थिए ।

६) महामारीको रूपमा फैलिएको विफर रोगविरुद्ध खोप लगाउन उनले देशब्यापी अभियान चलाएको र त्यसनिम्ति पर्याप्त मात्रामा कर्मचारी खटाएका थिए ।

७) देशको कार्यकारी प्रमुखको हैसियतमा पहिलो विदेश (युरोप) भ्रमण (वि.सं. १९०७ मा) गरी त्यस समयको सर्वशक्तिमान मुलुक बेलायत पुगेर देशलाई अन्तर्राष्ट्रिय चिनारी तथा हैसियत दिलाउने काम जङ्गबहादुरबाट भएको थियो ।

८) बेलायत भ्रमणका क्रममा १९ तोपको सलामी लिएर नेपाल विश्वको एक सार्वभौम मुलुक भएको सन्देश उनले संसारलाई दिएका थिए ।

९) नेपालमा अङ्ग्रेज जे चाहन्छन् त्यही मात्र हुने होइन भन्ने कुराको सन्देश दिँदै लाहोरकी महारानी चाँद कुँवरलाई शरण दिएर सार्वभौम मुलुकको ब्यवहार जङ्गले गरेका थिए । अङ्ग्रेजहरूको हमलापछि लाहोरकी महारानी चाँद कुँवर लुकिछिपी काठमाडौं आएको जानकारी उनीहरूले पाएर सुपुर्दगीका लागि जङ्गबहादुरमाथि दबाब दिइँदा उनले सुपुर्दगी गर्न अस्विकार गरेका थिए । चाँद कुँवरलाई आवश्यक भत्तासहित नेपालमै रहने व्यवस्था गरिएको थियो ।

१०) आफूले अवलम्बन गरेको देशको मौलिक धर्म (सनातन वैदिक हिन्दु) संरक्षण र त्यसको पालनाप्रति जङ्गबहादुर प्रतिबद्ध थिए । बेलायत भ्रमणका क्रममा म्लेच्छले छोएको नखाने भन्दै महारानीले दिएको रात्रिभोजमा फलफूल मात्र खाएको, यात्रारत रहँदा आफू सवार स्टिमरमा गोबध भएको सूचना पाएपछि त्यसमा कडा प्रतिवाद गरेको र महारानी चाँद कुँवरलाई शरण दिने क्रममा पनि इस्ट इण्डिया कम्पनी सरकारलाई ‘आफूहरूले अपनाएको धर्म’को मर्म बताउँदै शरण पर्न आएकालाई मरण गर्न नसकिने तर्क दिएर धर्मप्रतिको आफ्नो प्रतिवद्धता जाहेर गरेका थिए ।

११) फ्रान्सको भ्रमण गरी नयाँ सम्बन्ध बनाउँदै नेपाल ब्रिटेनको उपनिवेश नभई सार्वभौम देश भएको सन्देश दिने काम जङ्गबहादुर राणाबाट भएको थियो ।

१२) काठमाडौंमा आफ्नै तोपखाना र बारूदखाना स्थापना गरी सुरक्षा सामाग्रीमा आत्मनिर्भर हुने प्रयास जङ्गबहादुरले गरेका थिए ।

१३) बेलायतको अनुकरण गरी सन् १८५२ मा काठमाडौं (हाल नेपाल बैंक लिमिटेडको मूख्यालय रहेको स्थान) मा संसद भवन निर्माण गराउने काम उनीबाट भएको थियो ।

१४) देशमा कानूनी राजको प्रत्याभूति दिलाउन पहिलो पटक जङ्गबहादुरले सन् १८५३ को डिसेम्बर १९ मा मुलुकी ऐन जारी गरेका थिए । त्यसअघि शतप्रतिशत हुकुमी व्यवस्था थियो ।

१५) जङ्गबहादुरले सन् १८५३ मा दरबार स्कूलको स्थापना गरी संस्थागत रूपमा शिक्षा दिने प्रणाली अपनाएका थिए ।

१६) सन् १८५५ मा ब्रिटिस भारतसँग नौ बुँदे सन्धि गरी त्यसको एउटा बुँदामा नेपालको नागरिक नरहेका ब्यक्तिलाई नेपाल अधिराज्यको शासन सत्ता नसुम्पिने व्यवस्था गरेका । जङ्गले यसो गर्नुको मूल कारण देशको सार्वभौमसत्ता नेपालीमै निहित गरी राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्नु थियो ।

१७) ल्हासा ब्यापार गर्ने नेपाली ब्यापारीहरूमाथि तिब्बतमा लुटपाट र हत्यासमेत हुन थालेपछि आफ्ना जनताको जिउधन रक्षा गरिदिन तिब्बत सरकारलाई बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएपछि युद्धमार्फत तिब्बतलाई झुकाएर नेपाल र नेपालीको हित हुने गरी सन्धि गर्न (१८५६ मार्चमा २४ मा) जङ्गबहादुर सफल भएका थिए ।

१८) सन् १८१५ को डिसेम्बरमा भएको सुगौली सन्धिबाट गुमेको पश्चिम तराइको भूभाग (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) कुटनीतिक कौशल प्रयोग गरी फिर्ता लिन जङ्गबहादुर सफल भएका थिए । नेपालको इतिहासमा यसलाई महान् सफलताको रूपमा लिइन्छ ।

१९) बाँकेमा नेपालगञ्ज नामाकरण गरी शहर बसाउने कार्य जङ्गबहादुरकै समयमा भएको हो । यस कार्यमा सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गर्ने सुब्बा शिद्धिमान राजभण्डारीलाई कर्णेलको पदवी दिई जङ्गबहादुरले उच्च सम्मान दिएका थिए । नयाँ शहरको नाम नेपालगञ्ज राख्ने र शहर बसाउने कार्यमा शिद्धिमान राजभण्डारीले मूख्य भूमिका निर्वाह गरेका थिए ।

२०) सन् १८६० को मे ६ तारेखमा जङ्गबहादुरले ‘काठमाल अड्डा’ नामक एक सरकारी कार्यालय स्थापना गरी काठ तस्करी तथा जथाभावी रुख कटानमा नियन्त्रण ल्याएका थिए । जङ्गको यो कदमले आम जनतामा रुख काट्न नहुने चेतनाको सञ्चार गरी वन संरक्षणका निम्ति उनीहरूलाई प्रेरित गरेको थियो ।

२१) युरोपिएन शैलीका भवन निर्माण तथा अन्य प्रविधि भित्र्याउने कार्य पनि जङ्गबहादुरबाट नै भएको थियो ।

२२) देशको सीमा सुरक्षित तुल्याउन जङ्गबहादुरले सन् १८६० को अक्टोबरमा नेपाल–भारत सीमानामा प्रत्येक एक माइलको अन्तरमा सीमास्तम्भ (जङ्गे ढुङ्गा) राख्न रणोदीप सिंहलाई निर्देेशन दिएका थिए । आदेशको कार्यान्वयन देशको पूर्वी सीमानाबाट भएको थियो । त्यसअघि दुई मुलुकबीच सीमाना छुट्टयाउने स्तम्भहरूको व्यवस्था थिएन ।

२३) पहिलो पटक जङ्गबहादुरले नै जनगणना गर्ने कार्यको थालनी गरेका थिए । वि.सं. १९१७ मा भएको पहिलो जनगणनाले नेपालको जनसङ्ख्या ५२ लाख देखाएको थियो ।

२४) अधिकार प्रत्यायोजन गर्दै तराईमा मालपोत उठाउन ‘चौधरी’हरूको व्यवस्था गरी राजश्व वृद्धि गराउने कार्य जङ्गबाट भएको थियो ।

२५) सन् १८६२ मा रणोदीप सिंहको नेतृत्वमा नेपाल अधिराज्यको सम्पूर्ण नापी कार्य (पहिलो पटक) शुरू गराउने कार्य जङ्गबहादुरबाट भएको थियो ।

२६) मठ, मन्दिर र गुम्बाहरू जिर्णोद्वार गरी पूर्ववत अवस्थामा पुऱ्याउने कार्य जङ्गले गरेका थिए । स्वयम्भू र बौद्ध गुम्बाको जिर्णोद्वारका निम्ति उनले चीनबाट नै कालिगढ झिकाएका थिए । यसबाट जङ्गबहादुर पुरातात्विक एवम् धार्मिक सांस्कृतिक महत्वका राष्ट्रिय सम्पदाहरूको संरक्षणप्रति सम्वेदनशील भएको देखाउँछ ।

२७) गोकर्णको वन संरक्षण निम्ति चारैतिर पर्खाल लगाउने कार्य जङ्गबहादुरले गरेका थिए । गोकर्ण र नागार्जुनमा वृक्षारोपण गराउने तथा विभिन्न जीवजन्तुहरू झिकाएर छोड्ने काम पनि उनले गरेका थिए ।

२८) मानिसको जन्म र मृत्युको रेकर्ड राख्ने (दर्ता गराउने) कार्य जङ्गले वि.सं. १९२० मा शुरु गराएका थिए ।

२९) विदेशी राजदूतावासको गतिविधि संदिग्ध लागेपछि जङ्गबहादुरले वि.सं. १९२१ देखि राजदूतसहित राजदूतावासका कार्मचारीलाई स्वेच्छापूर्वक घुमफिर गर्न र नेपालीलाई राजदूतावास प्रवेशमा रोक लगाइदिएका थिए ।

३०) पूर्वी पहाडतिर जग्गा नापी गर्दा धेरैले तोकिएभन्दा बढी जमिन लिएर त्यसको मालपोतसमेत नतिरिकन उपभोग गर्ने गरेकोले जङ्गबहादुरले त्यस्तो जमिन खोसेर भूमिहीन र सुकुम्बासीहरूलाई उपलब्ध गराइदिएका थिए ।

३१) भोट (तिब्बत)सँगको ब्यापारिक मार्ग सुविधाजनक बनाउन वि.सं. १९२२ मा जङ्गबहादुरले सर्भे गराएका थिए, र त्यसै वर्ष उनले नेपाल अधिराज्यको नक्सा तयार पार्न लगाएका थिए ।

३२) जनसाधारणलाई समयको जानकारी गराउन जङ्गले वि.सं. १९२३ देखि टुँडिखेलमा तोप पड्काउने चलन चलाएका थिए ।

३३) बागमती नदीले तराइको सयौँ बिघा जमिन बगाएकोले जङ्गबहादुरले नदीमा बाँध बनाउन बजेट विनियोजन गरेका थिए । यो कार्य तराइका जमिन्दार तथा चौधरीहरूको आग्रहमा भएको थियो ।

३४) काठमाडौंको पुस्तकालयमा अङ्ग्रेजी र भारतीय पुस्तकहरूको आवश्यकता देखिएकोले जङ्गबाट विदेशी पुस्तक आयात गर्न रकम व्यवस्था भएको थियो ।

३५) महिलालाई सक्रिय तुल्याउन ‘लेडिज कोर्ट’ स्थापना गरी त्यहाँ महिलाबाहेक कुनै पनि पुरुष उपस्थित हुन नपाउने व्यवस्था उनले गरेका थिए ।

३६) साल्मी, भोटे र कोचे–मेचेहरूको पानी नचल्ने परम्परा तोड्न उनीहरूको हातबाट पानी पिइ जङ्गले नयाँ परम्परा बसाएका थिए ।

३७) वि.सं. १९२४ मा तराइतिर महा–अनिकाल परेकोले भारतबाट तीन लाख रुपैयाँबराबरको अन्न आयात गरी पीडित जनतालाई वितरण गराउने जङ्गबहादुरले त्यस वर्ष अधिराज्यभर मालपोत मिनाहा गराएका थिए ।

३८) आपतकालीन स्थिति आइपरेमा मात्र खर्च गर्ने गरी ‘कौशी’ नामक ढुकुटी खडा गरेर जङ्गले शुरुमा ११ करोड रुपैयाँ राखिदिएका र वर्षेनी रकम थप गर्दै जाने व्यवस्था मिलाएका थिए ।

३९) सङ्कटको समयमा खाद्यान्नको समस्या नहोस् भनी गाउँ–गाउँ तहसम्म अन्न सङ्ग्रहित रहने ‘धर्म भकारी’ खडा गर्ने व्यवस्था जङ्गबहादुरले गरेका थिए ।

४०) वि.सं. १९२६ मा नेपाल–तिब्बत व्यापारलाई सहज तुल्याउन ‘बार्टर’ प्रणाली लागु गर्नका निम्ति भोटसँग सम्झौता भएको थियो । भोटबाट नुन र नेपालबाट चामल सट्टापट्टा हुने व्यवस्था गरी जङ्गले जनतालाई सुविधा पुऱ्याएका थिए ।

४१) आयुर्वेदिक उपचार पद्धतिको विकासलाई सहजता दिन काबुल, सिक्किम, भुटान, दार्जिलिङ, नैनीताल, सिम्ला र कास्मिरतिरबाट विभिन्न जडिबुटीका विरुवा आयात गरी नागार्जुन, छरिया र गोकर्णको वनमा लगाउने कार्य जङ्गबहादुरबाट भएको थियो ।

४२) न्यायिक प्रक्रियालाई सहज र न्यायसंगत बनाउन जङ्गबहादुरले वादी–प्रतिवादी लगाउने व्यवस्था गरेका थिए ।

४३) सरकारी भवनहरूको संरक्षण एवम् मर्मत सम्भार गर्ने र कर्मचारीहरूको खान्गी (पारिश्रमिक) तथा दर्जासहितको विवरण राख्ने व्यवस्था निम्ति जङ्गले स्याहा–दफ्तरखानाको स्थापना गरेका थिए ।

४४) स्वास्थोपचारलाई व्यवस्थित गर्न वैद्यखानाको स्थापना गर्ने काम जङ्गबहादुरबाट भएको थियो ।

४५) बागमती नदीकिनारको थापाथलीदेखि कालमोचन घाटसम्म सिँढी तथा चितास्थल निर्माण गर्ने काम पनि जङ्गबाट नै भएको थियो ।

४६) पहिलोपटक नेपालमा छापाखाना भित्र्याएको पनि जङ्गबहादुरले नै हो, जसलाई ‘गिद्दे प्रेस’ नामाकरण गरिएको थियो ।

४७) जङ्गबहादुरले नेपाली सेनाको आधुनिकीकरणमा विशेष ध्यान दिएका थिए । सेनाको तालिम, पोसाक, खाना र हातहतियारमा उनको विशेष ध्यान रहने गर्दथ्यो ।

४८) हुलाकी मार्गहरूको सुधार गरी हुलाक सेवालाई ब्यवस्थित गर्ने कार्य जङ्गबहादुरबाट भएको थियो ।

यसरी यस लेखमा जङ्गबहादुरबाट भएका अठचालिस महत्वपूर्ण कार्यको उल्लेख गरिएको भए पनि उनीबाट सम्पन्न भएको काम यति मात्र होइन । जङ्गबहादुरको कुटनीतिक चातुर्य, न्यायिक क्षमता, राष्ट्र र धर्मप्रतिको इमानदारी तथा दूरदर्शी कार्य ब्यवहारको वर्णन यो सानो लेखमा सम्भव हुन सक्दैन ।
जङ्गबहादुरले निजी जीवनमा पर्याप्त गल्ती गरेका भए पनि देशको अस्तित्व, स्वतन्त्रता र सार्वभौमिकता रक्षाको प्रश्नमा उनी किञ्चित कतै चुकेका छैनन् । त्यो समयमा जङ्गबहादुर पैदा नभएको भए नेपालको अस्तित्व नै नरहने सम्भावना थियो भन्न सकिने अनेकौँ आधार छन् । यस्ता ऐतिहासिक ‘महानायक’लाई राष्ट्रिय विभूतिको सम्मान दिन विलम्ब गर्नु भनेको देशप्रति समर्पित सबै नागरिकको अपमान र उपेक्षा गर्नु हो । सम्बन्धित सबैको नयन चक्षु खुलोस्, जय मातृभूमि ।

OOO

यो पनि हेर्नुहोस्-
भीमसेनपथ कि जङ्गवाद ?
कसरी भयो राजनीति सफल, देश असफल ?
संविधान संशोधनपछिको सकस !