बहुउपयोगी गाँजाको खेतीलाई वैधानिक किन नतुल्याउने ?

बहुउपयोगी गाँजाको खेतीलाई वैधानिक किन नतुल्याउने ?



■ आरपी पाठक

संसारका झण्डै तीसभन्दा बढी देशले गाँजा खेतीलाई वैधानिकता दिएको छ । यसमध्ये अमेरिका क्यानडा थाइलैण्ड चिली अष्ट्रेलिया आदि पर्छन् । अमेरिकाका ३३ वटा प्रान्तमा गाँजा उत्पादन र बिक्री–वितरण गर्न कानुनतः नै खुल्ला गरिएको छ । नेपालमा पनि वि.सं. २०३३ सम्म यो वैधानिक नै मानिन्थ्यो । तर, कुनै तर्कलायक आधारविना नै यसलाई प्रतिबन्धित तुल्याइएको छ । कसको कुन अभीष्ट पूरा गर्न/गराउन यस्तो कानुन लगाइएको हो, खोजीको विषय बनेको छ ।

वास्तवमा गाँजाको लागि नेपाल विश्वप्रसिद्ध भूमि मानिन्छ । यो शिवको भूमि भएर पनि होला । सत्ययुगमा गाँजा शिवको प्रिय अम्मल मानिन्थ्यो । नेपालका हरेक भूभागका जनताले गाँजालाई अम्मल भन्दा पनि औषधी मान्छन् । पाचनतन्त्र कमजोर भयो भने यसलाई क्याप्सुल जस्तो बनाएर तातोपानीसँग खाने चलन छ । चिलिममा भरेर खानेहरू गाँजाका खास अम्मलीहरू हुन् । तर गाँजा पिएर अकालमा मृत्यु भएको र यसले उत्तेजित बनाएर अप्रिय घटना घटेको रेकर्ड सायदै होला ! त्यसैले गाँजा अम्मलमध्य पनि सुरक्षित अम्मल हो । तथापि, नौजवान र कलिला उमेरका लागि भने यस्ता अम्मल उचित होइन । त्यसैले उमेर समूह किटान गरेर मात्र यसको उपयोग गर्न मिल्ने कानुन बनाउन जरुरी छ । आन्तरिक खपतका लागि भन्दा निर्यात गर्न र औषधीय उपयोगका लागि मात्र खुल्ला गरिनु पर्दछ ।

विश्वप्रसिद्ध नेपाली गाँजा सेवनका लागि कुनैबेला संसारभरबाट पर्यटक नेपाल आउँथे । उनीहरूलाई नै हो हिप्पी भनिएको । आज हामी करोडौँ खर्च लगाइ विज्ञापन तथा प्रचारप्रसार गरेर भ्रमण वर्ष आयोजना गर्छाैं । यसको वैकल्पिक उपाय गाँजाको वैधानिकता हुन सक्छ । जब हामी गाँजालाई वैधानिकता प्रदान गर्छाैं तब संसारका गाँजाप्रेमी आफै नेपालतर्फ आकर्षित हुन्छन् । सामान्यतया हामी गाँजाबाट स्थानीय स्तरमै धेरै कुरा बनाउन सक्छौँ । गाँजा पहिलो कच्चापदार्थ हो । यसबाट चरेस बन्छ । दानाबाट तेल बन्छ । संसारकै महँगो हेम्पआयल जो विश्वबजारमा ५० एमएलकै लगभग साढे तीन सय रूपैयाँ पर्छ । यसले कपाल उमार्ने कार्यमा उपयोग हुन्छ भने डिप्रेसन भएकालाई अचुक औषधी मानिन्छ । गाँजाको दानाबाट स्वादिलो छोप (अचार) समेत बन्छ, जसले स्वास्थ्यमा सकारात्मक असर पार्दछ । तेल निकालेको पिनाको समेत अचारलगायतका औषधी बन्छ । यसले हाजमोलाको काम गर्छ । गाँजाको लोक्ताबाट विश्व प्रसिद्ध अल्लोको जस्तै कपडा बन्छ । पातबाट कागज बन्न सक्छ । डाँठबाट प्लाइउड बन्न सक्छ । गेडाबाट तेल अचार कैण्डी आदि बन्छ । गाँजाको पातको हरियालीबाट अक्सिजन उत्पादन भई ओजोन तहको संसक्षण समेत हुने हुनाले यो वातावरणका लागि समेत अत्यन्तै प्रभावकारी ठहर भैसकेको छ ।

डिप्रेसन, अल्जाइमर, क्यान्सर, ट्युमर, अपच, मसलपेन, क्रोनिकपेन, अर्थराइटिस्, आस्थामा, मृगौलासम्बन्धी रोग, पार्किन्सन, मुटुसम्बन्धी रोगमा गाँजाबाट औषधी बन्छ । सिंहदरबार वैद्यखानाले समेत लगभग २०० संख्यामा गाँजाबाट औषधी बनाउँछ ।

अमेरिकामा कृत्रिम प्रकाश दिएर गाँजाखेती गरिन्छ । गाजाँखेतीका लागि वर्षमा तीन सय दिन घाम लाग्ने वातावरण हुनुपर्छ । त्यसैले नै नेपाल यसको लागि अति उत्तम वातावरण भएको स्थान हो । यहाँ वर्षमा ३ सय ५० दिन घाम लाग्छ ।

विश्वबजारमा गाँजाको मूल्य र माग अत्यधिक छ । अझै नेपाली गाँजाको नाम–दाम नै अलग्गै छ भनिन्छ । सिंहदरबार वैद्यखानाले समेत लगभग २०० संख्यामा गाँजाबाट औषधी बनाउँछ । डिप्रेसन, अल्जाइमर, क्यान्सर, ट्युमर, अपच, मसलपेन, क्रोनिकपेन, अर्थराइटिस्, आस्थामा, मृगौलासम्बन्धी रोग, पार्किन्सन, मुटुसम्बन्धी रोगमा गाँजाबाट औषधी बन्छ । गाँजाको वाइनलगायतका पेय पदार्थ समेत बनाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनको आँकडाले सन् २०२५ सम्म स्ट्रेसको रोगी अत्यधिक हुनेछन् । त्यसको रोकथाममा गाँजा उपयोगी सिद्ध हुन सक्छ भनिएको छ ।

यति धेरै उपयोगी भएर पनि गाँजाको खेतीलाई वैधानिकता दिनुअगाडि राज्यले नियमनका उपायहरू समेत कानुनी रूपमा तय गर्नुपर्छ । निश्चित उमेर समुहलाई मात्र यसको कारोबारमा संलग्न गराउने विषयमा सोच्नुपर्छ । खेतीका लागि पकेटक्षेत्र तय गर्नु उपयुक्त हुनेछ ।

हालसम्म पकेटक्षेत्रको रूपमा नेपालको धादिङ, मकवानपुर र बझाङ जिल्लालाई मानिएको छ । गाँजाखेती गर्दा अन्य कृषि उपजमा परनिर्भर नहोस् भन्नका लागि खेतीयोग्य भूमिको कूल क्षेत्रफलको ५० प्रतिशत गाँजाखेतीको लागि छुट्याइयो भने बाँकी ५० प्रतिशतमा अन्न तरकारी र फलफुल अनिवार्य लगाउनुपर्ने नियम बनाउनु पर्छ । त्यसैले अन्य उपभोग्य कृषिउपजको आयात प्रतिस्थापनका लागि टेवा पुऱ्याउँछ । यसले बेरोजगारी अन्त्ये गर्दै पर्यटनको विकास गर्छ । नेपालीको प्रतिव्यक्ति आय विश्व प्रतिस्पर्धामा जान्छ । गरिबी निवारण हुन्छ ।

गाँजाको बजारीकरणचाहिँ सरकारले नै गर्नुपर्छ, ताकि यसबाट आय आम्दानीको सहज कर असुलीसमेत गर्न सकियोस् ।

गाँजाखेती उपयुक्त नहुने जिल्लालाई अन्य खेतीका लागि अनुदान दिनुपर्छ । यसले गर्दा पहाडी बाँझा जमिन हराभरा हुन्छन् । विदेश जाने युवा स्वदेशमा नै रमाउँछन् । बढ्दो राजनीतिकरणबाट देशले मुक्ति पाउँछ । समथर र खेतीयोग्य जमिन खण्डीकरण भई घडेरी बन्नबाट जोगिन्छ । युरोप अफ्रिका अमेरिका आदि देशबाट उपभोग लगानी र रोजगारीका लागि आउनेको संख्या बढ्छ । पुँजीको अभावमा वैदेशिक लगानीको आशा गरिरहनु पर्दैन । गैरसरकारी संस्था र विभिन्न जासुसी संस्थाको प्रभाव कम भएर जान्छ । अहिलेसम्म पनि झण्डै ६८ प्रतिशत जनसंख्या कृषिमा निर्भर भएका कारण गाँजा खेतीले देशको द्रुतगतिमा विकास हुने कुरालाई नकार्न सकिन्न । विभिन्न उपायहरू लगाएर संसारका दर्जनौँ देशले कोल्टो फेरिसक्दा समेत हामीहरू राजनीतिक गलफत्तीमा नै अल्झिरहेका छौँ । अब त हाम्रो पनि चेत खुल्ला कि ? त्यसैले समयमा नै कानुन बनाएर यसको उत्पादन र वितरणमा वैधानिकता दिनुमा नै देश र जनताको लागि हितकर सावित हुनेछ ।