अष्ट्रेलियनलाई ठगी गरेको आरोपमा सिड्नीमा दुई नेपाली पक्राउ

अष्ट्रेलियनलाई ठगी गरेको आरोपमा सिड्नीमा दुई नेपाली पक्राउ


राजन घिमिरे

अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका दुई नेपाली ठगीको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक युवक र एक युवती रहेका छन् । उनीहरुले ८५ वर्षीया अष्ट्रेलियन वृद्धालाई बैकिङ कारोबारमा ठगेको समाचारमा उल्लेख गरिएको छ ।

ठगीको आरोपमा सिड्नी प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको बुझिएको छ । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा मुद्दामा लगाइएको अष्ट्रेलियाको नाइन न्युजले जनाएको छ ।

ठगीमै परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक कल आएको थियो । फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए । पैसा बुझाएपछि वृद्धा प्रहरीमा गइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो ।

प्रहरीले वृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपाली गिरी र भट्टराईलाई पक्राउ गरी दुवैलाई मंगलबार पारामाटास्थित स्थानीय अदालतमा उपस्थित गराएको थियो । गिरी र भट्टराईलई अदालतले पनि जमानतमा नछाड्ने बताइएको छ । उनीहरुको दोस्रो सुनुवाई आगामी अगष्ट २० मा हुने बताइएको छ ।