‘न्याय पाइएन आमा, माफिदेउ है !’

‘न्याय पाइएन आमा, माफिदेउ है !’


■ प्रमिला पाण्डे

आमा.. सक्नुहुन्छ भने मलाई माफ गरिदिनुस् । नवराजसहित ६ जना छोराहरूको न्यायको लागि दोषीलाई कार्वाहीको माग गर्न सकिनँ मैले ।

ब्राह्मण कुलकै भएकोले न्यायको ढोका ढक्कढकाउन सक्दिनँ भनेकी होइन आमा ! मलाई विश्वास गर्नुस् … ।

हुन त उच्च–निच, छुत–अछुत, माथिल्लो जात भनाउँदा हाम्रै पुर्खापुस्ताले नै बनाएका होलान्, र त आजसम्म जरा गाडिरहेको छ भेदभावले । उखेल्न नहुने भन्दै आएको बरपिपलको जरा बरु उखेलेको देखेका छौँ हामीले ।

तर उखेल्नुपर्ने जातीय विभेदको जरा कहिले उखेलिने हो थाहा छैन । उखेल्नकै लागि अर्को चन्द्रशम्शेर कहिले जन्मेलान् र सती प्रथालाई जस्तै उखेल्लान् भन्ने आशा गरेर बस्नु परेको छ तपाईंले न्यायको आश गरेजस्तै ।

सामाजिक संजालका भित्ता, माइतीघर मण्डला, संसदभवन, सडक ,चोक, चौतारातिर न्याय माग्नको लागि बसेका मानिसहरू । नाराजुलुस, धर्ना देख्दा ‘ओहो ! अब चैँ देशमा साँच्चिकै अपराधीले दण्ड पाउँछन् र निर्दोषले न्याय पनि’ भन्दै दङ्ग परेको वर्षौं भयो, तर न्यायको भने हातमा लागो शून्य ।

आजभन्दा २७ वर्षअघि चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा परि मृत्यु भएको भनिएका जननेता मदन भण्डारीले आफ्नै श्रीमती राष्ट्रप्रमुख हुँदासमेत न्याय पाउन सकेनन् । २०५८ सालमा राजा वीरेन्द्रको वंश नाश हुने गरी गरिएको दरबार हत्या काण्डको न हत्यारा पत्ता लाग्यो न कुनै प्रमाण नै ।

स्कुल जाँदै गर्दा एसिड प्रहारबाट घाइते भएकी मुस्कान खातुनले न्यायमा के पाइन् ? वर्षौंअघि दुई वर्षीय नाबालिका पुजा ठाकुर बलात्कृत भइकन पछि मारिइन्, उनको न्यायका लागि के–के गऱ्यो त सरकारले केही सुन्नु भो तपाईंले ?

यी मान्छेको न्यायका निमित्त सिङ्गो देश उर्लिएको थियो एकमत भएर त्यतिबेला पनि । पैसा, पहुँच र पावर सबथोक हुँदाहुँदै पनि त न्याय पाउन सकेनन् तिनले । अब भन्नुस् त, आमा तपाईं–हामी जस्ता सर्वसाधारणले न्याय मागेर पाउछौँ त ?

न्याय त राजनीतिको फोहोरी खेल जस्तो भएको छ । तराजु अन्याय तिर ढल्किँदै चुलिएको छ अचेल आमा । साइकलको ढकजस्तो भएको न्यायको ढकतराजुले तौलिएको अन्यायले सास्ती जनतालाई नै दिएको छ ।

स्कुल जाँदै गर्दा एसिड प्रहारबाट घाइते भएकी मुस्कान खातुनले न्यायमा के पाइन् ? वर्षौंअघि दुई वर्षीय नाबालिका पुजा ठाकुर बलात्कृत भइकन पछि मारिइन्, उनको न्यायका लागि के–के गऱ्यो त सरकारले केही सुन्नु भो तपाईंले ? छैन नि है…? र पनि त जनता तातिएकै थिए, उसैगरी न्यायका लागि । सरकार उही छ फरक यति हो, कोही अहिले प्रतिपक्षीमा बसेका छन् । अनि कसरी भनुँ आमा, म तपाईंको छोराको न्यायको लागि आवाज उठाएर साथ दिन्छु भनेर …!?

पाइँदै नपाइने न्यायका लागि म कति एकोहोरो कराउँ.. भन्नुस् न तपाईं आफै । सरकारले सायद जनतालाई काग सोच्यो होला र त हाम्रो पिना (आवाज) सुकेको सुक्यै भयो ।

यो सदन र सरकार निर्जीव हो ? कि त्यहाँ पुगेपछि मान्छे स्वतः निर्जीव बन्छ या बनाइन्छ, कठपुतली जस्तो । बुझाइदिनुस् न मलाई कोही माननीयले… ।

झुटा आश्वासन दिन सक्दिनँ आमा म तपाईंलाई । तपाईं मेरी पनि त आमा हो । आफ्नी आमालाई कसरी झुट बोल्न सकिन्छ र ? जो अनपढ भएर पनि अनुहारको भाव आँखाको इसाराले बुझ्नसक्नु हुन्छ । हाम्रो जीवनको बाटो सहज बनाउन निरन्तर लागिहरनु नै भएको छ सदिऔँदेखि ।

यो सदन र सरकार निर्जीव हो ? कि त्यहाँ पुगेपछि मान्छे स्वतः निर्जीव बन्छ या बनाइन्छ, कठपुतली जस्तो । बुझाइदिनुस् न मलाई कोही माननीयले… ।

होइन भने जन्मदिने बुवा, हाडनातामै रहेका आफन्तले गरेको यौन शोषण ती बलात्कृत निर्मलाहरूका आमाले कहिले भुल्ने ? खै त तिनलाई न्याय ! अपराधीलाई सजाय ।

ती सत्ताधारीको मन मुटु चै भगवानले मुस्ताङ्गे चट्टानकै बनाएका रहेछन् कि कसो…? हैन भने त घटना सुन्दै ठुलो हम्मरले हानेर मुर्छित भए जस्तो हुने कुरामा पनि सरकारको चैं नाडीको एउटा रौं समेत ठाडा हुँदैनन् त ।

सरकार ! राजस्व उठाउन र रेमिटेन्स भित्र्याउन मात्र निर्माण भए जस्तो लाग्छ । हुन त उसले पनि त हाम्रा बाले घरको जिम्मेवारी बोकेजस्तै देशको जिम्मेवार बोक्नुपर्ने हो । जसरी छोराछोरी जति भएनि अभावको महसुस हुन नदिन दिनरात हाडछाला घोट्छन बा । तर जनताले अभिभावकत्व पूरा भएको महसुस खै सरकारबाट कहिले गर्लान् देशमा !

मारिएका सन्तान फर्केर आउलान् भनेर त होइन । पीडित परिवारहरूले जिउँदो रहेका हरकोहीले सुरक्षित र स्वतन्त्र भएर बाँच्न पाऊन् भनेर कार्वाहीको माग गरेका हुन् । यो सत्ता र सरकारले आजसम्म पनि कुनै कठप्वालबाट न्यायको सानो तिरिन निस्कन दिएका छैन । अनि कसरी नारा र भाषणबाट न्यायको अपेक्षा गर्नुहुन्छ आमा ?

द्वन्द्वकालमा छोरा बेपत्ता पारिएका गंगामायाका दम्पतीले न्याय पाएनन् तर न्याय माग्दामाग्दै तिनको ज्यान गयो । कलिला बालबालिकाको बा आमालाई जनयुद्धका बेला घरैबाट युद्धमा लगेर होमियो र केटाकेटी टुहुरा भए । न तिनलाई त्यो बेला आश्रय दिइयो न त अहिलेसम्म न्याय नै । परिवार गुमाउँदाको पीडा संसद भवनमा कुर्सी तोडफोड गर्दै बस्ने माननीयलाई थाहा होला त ।

आजित भएका छौँ सबै मुकदर्शक बनेका नेतादेखि । यसैले अपराधीले प्रश्रय पाएको छ देशमा । न्याय नपाए गोर्खा जानू भन्ने भनाइ गोर्खाकै पीडितलाई त लागू भएन तपाईं–हामीले के आश गर्नु सरकारबाट ?

सरकार निर्लज्ज छ, न्यायका सवालमा अन्धो बन्छ । आँखा भएर पनि नभएको जस्तो । कान भएर पनि सुन्न नसक्ने जस्तो गर्छ । निदाएकोलाई जगाउन मात्र सजिलो हुने रहेछ आमा !

निदाएजस्तो गरेकोलाई जगाउन साह्रै गाह्रो… !

आजित भएका छौँ सबै मुकदर्शक बनेका नेतादेखि । यसैले अपराधीले प्रश्रय पाएको छ देशमा । न्याय नपाए गोर्खा जानू भन्ने भनाइ गोर्खाकै पीडितलाई त लागू भएन तपाईं–हामीले के आश गर्नु सरकारबाट ?

जातीय विभेदका कारण भएकाले मात्र होइन, यहाँ कुनै जघन्य अपराध गर्ने अपराधीले सजाय पाएको सुनेकी छैन पीडितले न्याय पाउने गरी । सरकारले नै गरेको अन्यायको पराकाष्ठा सम्झियो भने त, ज्यूँदै चितामा चढाएजस्तै हुन्छ । अब सोच्नुस् त आमा न्याय कहाँनेर कसले कति पाएका छन् ?

घटनामा एक–दुईजना अपराधी हुँदा त कार्वाही गर्न नसक्ने सरकारबाट सिंगै खलङ्गावासीलाई कार्वाहीको दायरामा ल्याउन सक्ने आश कति राख्ने ?

ढुङ्गाकै देउताको भर लाग्न थालेको छ आमा अचेल सरकारको भन्दा !

प्रार्थना गरौँ पशुपतिनाथसँग– ‘दण्डहीनताको अन्त्यको सुरुवात जाजरकोटबाट गरोस् देशले ।’