नेपाल-भारत-चीन सम्बन्धको परिप्रेक्ष्यमा वीपी र राजा महेन्द्रका एकाध प्रसङ्ग

नेपाल-भारत-चीन सम्बन्धको परिप्रेक्ष्यमा वीपी र राजा महेन्द्रका एकाध प्रसङ्ग


■ केशवप्रसाद भट्टराई

१. राममनोहर लोहिया र जयप्रकाश नारायण जस्ता भारतका समाजवादी नेताहरूसँगको वीपी कोइरालाको निकट राजनीतिक सम्बन्ध भारतीय काङ्ग्रेसका नेता तथा प्रधानमन्त्री नेहरूलाई त्यति सहज अनुभव भइरहेको थिएन ।

त्यसमाथि भारतले वहिष्कार जस्तै गरेको इजरायलसँग नेपालले दौत्य सम्बन्ध स्थापना गर्ने निर्णय गऱ्यो र प्रधानमन्त्रीको रूपमा वीपीले इजरायलको औपचारिक भ्रमणसमेत गरे ।

२. सोभियत सङ्घका सर्वोच्च नेता निकिता ख्रुश्चेभ वीपीका प्रशंसक मात्रै थिएनन्,

प्रमुख अन्तर्राष्ट्रिय समस्या र चुनौतीहरूलाई सामना गर्ने सवालमा वीपीले तेस्रो विश्वका नेताको रूपमा महाशक्तिहरूलाई सघाउनुपर्ने र मध्यस्थता गर्नुपर्नेसम्मको विचार ख्रुश्चेभको थियो ।

राष्ट्र सङ्घ महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर गएको बखत वीपीद्वारा आयोजित एउटा भेटघाट समारोहमा सबैभन्दा पहिला आउने र सबैभन्दा पछाडि कार्यक्रम स्थलबाट बिदा भएर जाने व्यक्ति नै तत्कालिन विश्वका दुई सर्वाधिक शक्तिशाली नेतामध्येका एक ख्रुश्चेभ थिए ।

३. इरानका प्रधानमन्त्री मेनोचर इकबाल वीपीका उस्तै प्रशंसक थिए र इजरायलको अरब मुलुकहरूसँगको सम्बन्धमा रहेका समस्याहरूको समाधानमा वीपीको योगदान विश्वले पाउनुपर्ने उनको भनाइ थियो ।

चीनसँगको सीमासम्बन्धी समस्या वीपीले टुङ्ग्याए र सगरमाथा नेपालको रहेको प्रमाणित गरे र नेपालको भएको कुरामा माओ र चाउ एनलाई लाई सहमत गराए ।

स्मरणीय छ चीन भ्रमणमा रहेका बखत वीपी जुन होटेलमा रहेका थिए त्यही होटेलमा अकस्मात माओ पुगे र त्यहीं दुई नेताको भेटघाट र वार्ताको आयोजना गरिएको थियो ।

सम्भवतः माओले वीपीबाहेक कुनै विश्व नेतालाई उनी बसेकै होटेलमा भेटेनन् ।

४. तत्कालिन नेपाल र भारतलाई वीपीको यो अन्तर्राष्ट्रिय व्यक्तित्व स्वीकार्य भएन !

०१७ साल पुस १ गते आयो !

५. २०१८ सालमा राजा महेन्द्रको प्रत्यक्ष शासन विरूद्ध निर्वाशनमा रहेका काङ्ग्रेस नेता सुवर्ण शमशेरको नेतृत्वमा नेपाली काङ्ग्रेसले सशश्त्र गतिविधि संचालन गर्यो क्ष्

त्यो त्यति व्यापक र सशक्त बन्दै गएको थियो कि तत्कालीन शाही नेपाली सेनाका प्रधान सेनापति निर शमशेर जबरा ( पछि नेपालका फिल्ड मार्शल र राणा प्रधान मन्त्रीहरू बाहेक नेपालमा फिल्ड मार्शल हुने एक्लो व्यक्ति )ले राजा महेन्द्रलाई भेटेर नेपाली सेनाको क्षमता कागज जस्तै पातलो भैसकेको र काङ्ग्रेसले कुनै एउटा नयाँ मोर्चा खोल्ने बित्तिकै सैन्य संगठन गर्ल्यामगुर्लुम हुने सम्भावना रहेकोले तत्काल समस्याको राजनीतिक समाधान खोज्न बिन्ती गरे ।

६. त्यसपछि राजा महेन्द्रले डा. तुलसी गिरी र विश्वबन्धु थापालगायतका व्यक्तिहरूलाई आफूले वीपीलाई थुनामुक्त गरेर राजनीतिक वार्ता गर्ने निर्णय गरेको बताए ।

गिरी र थापाले आफ्नो थुनामा रहेका वीपीसँग त राजाले जतिखेर पनि वार्ता गर्न सम्भव हुने भएकोले केही दिन बाटो हेर्न आग्रह गरे ।

राजा केही दिन प्रतीक्षा गर्ने भए ।

केही दिनमा चीनले भारतमाथि आक्रमण गऱ्यो ।

७. राजा महेन्द्रले चीनको उक्त आक्रमणको विरोध गरे ।

सीमा समस्याको समाधानमा आर्ता र समझदारीको वातावरण निर्माण गर्नुपर्नेमा युद्ध र आक्रमणको औचित्य नरहेको उनले बताए ।

यसले नेपाल र भारतबीच विद्यमान तनावलाई एकाएक अन्त्य गरायो ।

भारत–चीन युद्धको स्थितिमा नेपालसँगको समस्या जटिल रहन दिन नसकिने बताएर नेहरूले सुवर्ण शमशेरलाई सबै सशस्त्र गतिविधि अन्त्य गर्न आग्रह गरे ।

नेपाली काङ्ग्रेसले त्यसै गर्ने निर्णय गऱ्यो ।

भारतले नेपालविरूद्ध लगाएको नाकाबन्दी पनि अन्त्य गऱ्यो ।

सम्बन्ध सामान्य बन्यो ।

१९६५मा नेपाल र भारतबीच एउटा रणनीतिक सम्झौता समेत सम्पन्न भयो ।

८. १९७१को बंगलादेशको स्वतन्त्रता आन्दोलनलाई नेपाली काङ्ग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनकै अङ्ग बतायो ।

बङ्गलादेशका जनताले नेपालको प्रजातन्त्रको लागि समेत लडिरहेका वीपीको भनाई थियो र त्यहाँको स्वतन्त्रताको ज्योति निभ्यो भने नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रकाश पनि निभ्ने उनको विचार थियो ।

त्यसैले आफूले सङ्कलन गरेर राखेको दुई ट्रक हतियार पनि नेपाली काङ्ग्रेसले बङ्गलादेशको स्वतन्त्रता सेना (मुक्ति बाहिनी)लाई उपलब्ध गराएको थियो ।

उक्त हतियार सापटीको रूपमा मुक्तिबाहिनीलाई उपलब्ध गराउन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले जयप्रकाश नारायणमार्फत वीपीलाई अनुरोध गरेकी थिइन् ।

काङ्ग्रेस नेता सुशील कोइराला, चक्र बास्तोला र एकजना हतियारविज्ञ पूर्वसैनिक अधिकारीहरू सो हतियार हस्तान्तरण गर्न बङ्गलादेश गएका थिए ।

तर नेपाल सरकार प्रष्ट रूपमा पाकिस्तानको पक्षमा देखिन्थ्यो ।

नेपाली प्रेसले पाकिस्तानको आन्तरिक मामिलामा भारतको व्यवहारको उग्र विरोध गरिरहेको थियो ।

९. त्यतिखेर अमेरिका र चीनको सम्वन्ध घनिष्ट हुँदै गएको थियो र भारत र सोभियत सङ्घबीच सुरक्षासन्धिको चरित्र बोक्ने २०वर्षे शान्ति र मैत्री सन्धि भएको थियो ।

अमेरिकाको तर्फबाट राष्ट्रपति रिचार्ड निक्सन र उनका सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले माओ र चाउ एन लाइलाई फोन गरेर चीनले हिमालतर्फबाट भारतमाथि आक्रमण गरेमा आफूले आफ्नो सातौँ जंगी बेडाद्वारा बंगालको खाडीहुँदै भारतमाथि आक्रमण गर्ने बताएका थिए र त्यस्तो आक्रमण गर्न चीनलाई बारम्बार दबाब दिइरहेका थिए ।

स्मरणीय छ अमेरिकी जंगी बेडामध्ये उक्त बेडा सवैभन्दा शक्तिशाली मानिन्थ्यो र उक्त बेडा बंगालको खाडीमा प्रवेश गरिसकेको थियो ।

उता सोभियत सङ्घले चीनसँगको सीमानामा आणविक क्षमतासहितको ठूलो सैन्य क्षमतालाई तैनाथ गरिसकेको थियो ।

दुनियाँ तेस्रो विश्व युद्धको सङ्घारमा रहेको देखिन्थ्यो ।

१०. डिसेम्बर ७, १९७१ मा राष्ट्र सङ्घ महासभाको भारत र पाकिस्तानबारे विशेष बैठक थियो ।

उक्त बैठकले भारत र पाकिस्तानलाई तत्काल युद्ध बन्द गर्न र दुवै मुलुकलाई आफ्ना सेनालाई पूर्ववत स्थितिमा लैजान आग्रह गर्ने निर्णय गर्दै थियो ।

स्पष्ट रूपमा उक्त निर्णय पाकिस्तानको पक्षमा हुन्थ्यो ।

नेपालले उक्त निर्णयको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको थियो तर मतदानको दिन एकाएक राष्ट्र संघका लागि नेपालका प्रतिनिधि अनुपस्थित रहे ।

उनलाई अन्तिम क्षणमा आएर राजा महेन्द्रले त्यस्तो अनुपस्थितिको लागि निर्देशन दिएका थिए ।

इन्दिरा गान्धीले नेपाली काङ्ग्रेसको हतियार बङ्गलादेश पुऱ्याइदिएको गुनको बदला राजाले यसरी चुक्ता गरिदिएका थिए ।

भारतीय सेना नै बङ्गलादेश झरेको अवस्थामा इन्दिरा गान्धीलाई काङ्ग्रेसको दुई ट्रक हतियार किन चाहिन्थ्यो र ? स्पष्ट छ– त्यो काङ्ग्रेसलाई हतियारविहीन पार्ने र राजासँगको सम्बन्ध सुधार्ने उनको रणनीतिको अङ्ग थियो ।

११. त्यसले एकै साथ भारतसँगको राजा महेन्द्रको सम्बन्धलाई सहज र सुमधुर बनायो ।

नेपालको आन्तरिक राजनीतिमा आफूमाथि बढ्दै गएको दबाबलाई पनि उनले कम पारे ।

जनवरी १५, १९७१ मा राजाले स्वतन्त्र राष्ट्रको रूपमा बङ्गलादेशलाई मान्यता दिए ।

आन्तरिक राजनीतिका सवालमा वीपी कोइरालासँग वार्ता र समझदारीको सम्भावनाबारे पनि व्यापक गाइँगुइँ चलिरहेको बखत नेपालले बङ्गलादेशलाई मान्यता दिएको १५ दिनमै चितवनको दियालो बङ्लामा आराम गरिरहेका राजाको हृदय गति बन्द भएर निधन भएको समाचार रेडियो नेपालले दियो ।