एमसीसीले नेपालबाट इन्डियामा कति अर्बको बिजुली बेच्ने हो, तथ्यगत तथ्याङ्क खोइ ?

(तेस्रो धार)

■ ए. पोख्रेल



■ इन्डियाले जलविद्युत होइन, आणविक विद्युतको उत्पादनबाट ठूलो मात्रामा आफ्नो उर्जाको आवश्यकता पूर्ति गर्ने गरेको छ, देशभित्र ।

■ जलविद्युतमा इन्डियालाई विशेष चासो छैन, किनभने उनीहरूसँग त्यो पैमानमा विद्युत उत्पादन गर्ने नदीहरू छैनन् । त्यही कारण उसले आणविक विद्युत शक्ति दिन–प्रतिदिन बढाउँदै गइरहेको छ। अनि, कृषिजन्य उत्पादनमा लागेका किसानहरुलाई एकदमै नगण्य मूल्यमा अर्थात् निःशुल्क जस्तो गरी विद्युत वितरण गरिएको छ ।

■ नेपालबाट लगेको बिजुली त्यहाँका किसानको लागि त आकाश छोएबराबर महँगो पर्ने हुन्छ, जसले गर्दा नेपालको बिजुलीलाई इन्डियन सरकारले महँगोमा किनेर, फेरि त्यहाँका किसानलाई सस्तोमा दिनुपर्ने हुन्छ । त्यो गर्नको लागि एमसीसीको तार टाँगिदै होला त ? शंका गर्ने आधार मजबूत देखिँदै आएको छ ।

■ अब नेपालसँग, आफ्नै ठूला नदीहरू पनि आफ्नो छैनन् । लगभग सबै ठूला नदीहरू इन्डियालाई हस्तान्तरण गर्ने काम सम्पन्न भइसकेको छ । यो अझ छुट्टै बहसको विषय हुन सक्छ ।

■ अनि नेपालीले वार्षिक, कहाँ–कहाँ बाट कति–कति हजार मेघावाट बिजुली निकालेर, कति अर्बमा बिजुली बेचेर, कति दशकपछि धनी हुने होला, यसको तथ्य र तथ्याङ्क खोइ ? कम्तीमा पनि अहिलेसम्म कुनै सरकारी नेपाली योजनाविद् वा नेपाल सरकारले वार्षिक यति हजार मेघावाट बिजुली निकालेर, वार्षिक यति अर्ब आम्दानी हुन सक्ने भनेर तथ्यपरक तथ्याङ्क समेत प्रस्तुत गरेका छैनन् । कुलमान घिसिङ नेतृत्व रहेको नेपाल विद्युत प्राधिकरणले समेत त्यो तथ्यांक सार्वजनिक गर्न सकेको छैन अहिलेसम्म किन होला ? सायद गलत तथा काल्पनिक तथ्याङ्क प्रस्तुत गरेर नेपाली जनतालाई भ्रममा राख्न उनले चाहेका छैनन् कारण यही हुनु पर्छ ।

■ कम्तीमा पनि एमसीसीअन्तर्गत नेपालले पनि बाह्र–तेह्र अर्ब खर्च गर्न सुरु गरिसकेको छ । त्यो प्रोजेक्टअन्तर्गत भए पनि नेपालले किन तथ्याङ्क सार्वजनिक गरेको छैन ? नेपालमा उत्पादन हुने गरेको महँगो बिजुली इन्डियाले किन्नु पनि पर्ला नि, किन किन्ने महँगो बिजुली ?

■ इन्डियनलाई विद्युत होइन, पिउने पानी तथा कृषिजन्य सिंचाईको विशेष चासो छ । जसबाट खर्बौंखर्ब डलरको कृषि जन्य उत्पादन, प्रयोग तथा निर्यात हुने गर्छ । उसका जल भण्डारहरु दिन–प्रतिदिन सुक्दै गइरहेका छन्, विभिन्न इन्डियन समाचारहरुले त्यही बताउँछन्। त्यसैले उसले हिमालको बाह्रमासे चिसो पानीमा आँखा लगाइरहेको छ, उसको आवश्यकता पिउने पानी तथा सिंचाई मात्र हो । बिजुली थिएन र भविष्यमा झन् हुँदैन पनि । आफ्नो आणविक विद्युतको उत्पादनमा निर्भर हुने कोशिश गरिरहेको छ, गर्नुपर्ने त्यही हो उसले ।

■ केही मानिसहरू भुटानले विद्युत बेचेर धनी तथा सुखी भएको कुरा बडो धुमधामका साथ प्रस्तुत गर्दछन् । कुनै एउटा समय र परिस्थितिमा भुटानले त्यो अवसर पाएको मान्ने हो भने पनि, नेपालको हकमा त्यो लागू हुन् कठिन साबित भएको छ, कारण नेपालका ठूला नदीहरू अब नेपालका रहेका छैनन् ।

■ सिंचाइको कुनै विकल्प छैन तर जल विद्युतको सट्टामा आणविक विद्युतको उत्पादन विश्वमा चलि आएको छ । कोरिया, जापान तथा अमेरिकनहरु आणविक विद्युतको प्रयोग गर्ने गर्छन्, जल विद्युत थोरै मात्र ।
अस्तु ।

प्रतिक्रिया