किन आए युवाहरू सडकमा ?

किन आए युवाहरू सडकमा ?


■ बबिता बस्नेत

आफ्नो देशमा गरिखाने ठाउँ नपाएपछि भारतका विभिन्न शहरमा काम गरेर जीवन धान्दै गरेका युवाहरू कोरोना महामारीका कारण घर फर्किनका लागि नाजुक क्वारेन्टिनमा बसिरहेका बेला राजधानी शहरमा सुकिला युवाहरू सडक तताइरहेका थिए । पढे-लेखेका, राम्रा लुगा लगाएका, अङ्ग्रेजीम लेखिएका प्ले कार्ड बोकेका ती युवाहरूको माग थियो- ‘आरडीटी होइन पीसीआर गरियोस्, बाहिरबाट आएकाहरूलाई क्वारेन्टिनका नाममा मापदण्ड नपुगेका दयनीय स्थानमा होइन न्युनतम सुविधायुक्त ठाउँमा राखियोस् ।’

यस्तै, उनीहरूको अर्को माग थियो- ‘कोरोना ब्यवस्थापनका नाममा खर्च भएको भनिएको १० अर्ब कहाँ गयो ? केमा खर्च भयो ? जानकारी दिइयोस् ।’ नेपालका आन्दोलनहरूको इतिहासमै खर्च भएको राज्यको सम्पत्तिको हिसाबकिताब माग्दै पहिलोपल्ट युवाहरू यसरी सडकमा आएका हुन् । युवाहरूले यस्ता पनि क्वारेन्टिन हुन्छन् ? भनेर प्रश्न उठाएको केही दिनमै कैलालीमा एक महिलामाथि सामूहिक बलात्कार भयो । अरुले थाहा पाए आफ्नो इज्जत जाने र परिवार बिग्रने डरले उनी आफूमाथि त्यति ठुलो अत्याचार हुँदा चिच्याउन पनि सकिनन् । आफ्नी आमालाई आफूमाथि भएको घटना सुनाउँदै गर्दा उनका भाइले नसुनेका भए त्यो घटना सायद बाहिर आउने पनि थिएन । बलात्कार गर्नेको भन्दा बलात्कृत हुनेको इज्जत जाने हाम्रो समाजमा बलात्कारका कैयौँ घटनाहरू परिवारको इज्जत र लाजका कारण बाहिर आउने गरेका छैनन् । यो घटनाअघि नै क्वारेन्टिनमा केही मानिसहरूको ज्यान गइसकेको थियो । क्वारेन्टिनमा मृत्यु र बलात्कार हुनु धेरै नै गम्भीर कुरा हो ।

राजधानीवासीका लागि यो युवाहरूको पहिलो सडक आन्दोलन होइन । कहिले पेट्रोलको भाउ बढेको नाममा, कहिले शैक्षिक मुद्दामा, कहिले केमा, राजनीतिक दलसम्बद्ध युवा तथा विद्यार्थीहरू विभिन्न माग राख्दै पटक–पटक सडकमा उत्रिएका छन् । उत्तेजक नारा–जुलुस, राजधानी सडकका रेलिङहरू भाँच्नेदेखि टायर बाल्नेसम्मका काम युवाहरूबाट भएका छन् । तर विभिन्न माग राखेर गरिएको सडक आन्दोलनमा नेपालको झण्डासहित युवाहरूको शालिन उपस्थिति भने काठमाडौंका सडकका लागि पहिलो अनुभव हो । ‘इनफ इज इनफ’ अर्थात ‘अब अति भयो’ ! धेरैको प्ले कार्डमा यही लेखिएको थियो । उनीहरूले राज्यको जवाफदेहिता चाहेका थिए । राजधानीका राम्रा मानिएका स्कुल-कलेजमा पढेका मात्र नभएर विभिन्न देशमा पढेर आफ्नै मुलुकमा केही गर्छु भनी फर्किएका युवाहरू आन्दोलनमा संलग्न थिए । जमात जुटाउनका लागि युवाहरूले सामाजिक सञ्जालको प्रयोग गरेका थिए ।

आन्दोलनमा सहभागी युवाहरूमध्ये आधाले मात्रै पनि विभिन्न निकायमा भएका काम र खर्चको विवरण माग्ने हो भने यो देशमा सुशासनका लागि हलचल आउन सक्छ । आन्दोलनले एक प्रकारको सजगता ल्याएको छ, निवेदन हालेर कानूनी रूपमै हिसाबकिताब माग्ने हो भने त्यसले परिणाममै सफलता प्राप्त हुने वातावरण बन्न सक्छ ।

२०७७ साल जेठ २७ गते मङ्गलबारदेखि सुरु भएको युवाहरूको आन्दोलन ‘अब कतिञ्जेल चुपचाप बस्ने ? हामी पनि यो देशका जागरुक नागरिक हौँ, मुलुकमा के भइरहेको छ हामीलाई थाहा छ भन्ने कुरा सरकारमा बसेकाहरूले जानकारी पाउनुपर्छ’ भन्ने उद्देश्यबाट निर्देशित देखिन्छ । आन्दोलनमा सहभागीहरूले रोजगारी मागेका थिएनन् (यद्यपि, रोजगारी प्राप्त गर्नु उनीहरूको अधिकार हो), पद मागेका थिएनन्, सरकार परिवर्तन गर पनि भनेका थिएनन् । मुलुकमा भइरहेका बेथितिहरूलाई हटाउने निःस्वार्थ भावनाबाट सुरु गरिएको आन्दोलनमा पछि स्वार्थ समूहहरू घुस्दै जाँदा अश्लील शब्द प्रयोग भएका ब्यानरदेखि भारत र एमसीसीसम्मलाई जोडेको देखियो । आन्दोलनले सफलता प्राप्त नगरोस् भन्ने उद्देश्यले ‘फेक’ समाचार र विचारहरू योजनाबद्ध रुपमा सार्वजनिक गरिए ।

युवाहरूको दबाबपछि कोरोनाको ब्यवस्थापनमा खर्च भएको विवरण भनी केही शीर्षक र त्यसमा भएको खर्च एकमुष्ट बाहिर ल्याइयो । जुन विवरण जवाफदेहिता प्रमाणित गर्न नभई आन्दोलन पन्छाउनका लागि मात्रै ल्याइएको थियो भन्न सक्ने आधारहरू छन् । यस प्रकारका राज्यले गरेका खर्चको सवालमा युवाहरूले गर्नुपर्नेचाहिँ सूचनाको हकको प्रयोग हो । नेपाली नागरिकलाई सार्वजनिक निकायमा भएका कुनै पनि काम–कारवाहीको बारेमा जान्न पाउने अधिकार छ । त्यसका लागि तोकिएको खाकामा निवेदन लेखेर सम्बन्धित कार्यालयमा सूचना माग्न सकिन्छ । उक्त आन्दोलनमा सहभागी युवाहरूमध्ये आधाले मात्रै पनि विभिन्न निकायमा भएका काम र खर्चको विवरण माग्ने हो भने यो देशमा सुशासनका लागि हलचल आउन सक्छ । आन्दोलनले एक प्रकारको सजगता ल्याएको छ, निवेदन हालेर कानूनी रूपमै हिसाबकिताब माग्ने हो भने त्यसले परिणाममै सफलता प्राप्त हुने वातावरण बन्न सक्छ ।

हरेक नेपालीलाई सम्मानित ब्यवहार गरियोस् भन्ने युवाहरूको चाहना र माग देखिन्छ । राज्यका विभिन्न संरचनामा बसेकाहरूबाट निराशाजनक ब्यवहार धेरै युवाहरूले भोगेको कुरा हो । कुनै सरकारी कार्यालयमा काम परेर गयो भने कर्मचारीहरूले गर्ने ब्यवहार आश्चर्यजनक हिजो पनि थियो, आज पनि छ । उच्च शिक्षाका लागि बाहिर जाने क्रममा लिनुपर्ने अनुमति पत्रदेखि पासपोर्ट बनाउने ठाउँ हुँदै एयरपोर्टसम्म युवाहरूले आफ्नो देशप्रति नै वितृष्णा लाग्ने गरीको ब्यवहार भोगेका छन् । युवाहरूलाई यो देशमा बस्न मन नलागोस् भन्ने कसैको चाहना छ भने अरु केही गर्नु पर्दैन, मालपोतदेखि यातायातसम्मका कुनै पनि सरकारी कार्यालय पठाइदिए हुन्छ । दिनभरी भुक्तमान खपेपछि साँझ घर फर्किएर उनीहरूले आफ्ना अविभावकलाई भन्नेछन्, यस्तो देशमा पनि के बस्नु ?

युवाहरूलाई यो देशमा बस्न मन नलागोस् भन्ने कसैको चाहना छ भने अरु केही गर्नु पर्दैन, मालपोतदेखि यातायातसम्मका कुनै पनि सरकारी कार्यालय पठाइदिए हुन्छ । दिनभरी भुक्तमान खपेपछि साँझ घर फर्किएर उनीहरूले आफ्ना अविभावकलाई भन्नेछन्, यस्तो देशमा पनि के बस्नु ?

विदेशमा राम्रो कलेज पढेकाहरूमध्ये कतिपय युवाहरू आफ्नै देशमा केही गर्न चाहन्छन् । खोजी गर्ने हो भने त्यस्ता युवाहरूको सङ्ख्या ठुलो छ । तर उनीहरूले काम गर्ने वातावरण शुन्य छ । कुनै ब्यापार ब्यवसाय गर्नका लागि स्वीकृति लिन मात्र पनि अनेक झन्झट ब्यहोर्नुपर्छ । केही वर्षअघि ‘मेरो देश मेरो लगानी’ भन्ने अभियानसहित अमेरिकामा पढेर आएका युवाहरूले केही गर्न खोजेका थिए । तर उनीहरूलाई यति प्रशासनिक झन्झट खडा गरियो कि केही गर्ने अवस्था नै रहेन । यो देशको प्रशासनिक संरचना र त्यहाँ काम गर्ने मानिसका ‘एटिच्युड’ ब्यहोर्न नसकेर थकित भई अन्ततः उनीहरू देश छोडेर फेरि बाहिरै गए ।

प्रत्येक वर्ष ठुलो संख्यामा ‘ग्राजुएट’ हुने युवाहरू के गरेर समय बिताइरहेका छन् ? राज्यले सोचेको छ जस्तो लाग्दैन । प्रयोग गर्ने ठाउँ नपाएपछि आफूले हासिल गरेको ज्ञान र सिप भुत्ते हुँदै जान्छ । गत वर्ष प्रधानमन्त्री युवा स्वरोजगारका नाममा आफ्ना कार्यकर्ताहरूलाई बाटोको झार उखेल्न लगाइयो । युवाका नाममा मुलुकमा मन्त्रालय नै खडा छ । तर तमाम युवाहरू ब्यापक फ्रष्ट्रेसनका बीच आफ्नो उर्वर जीवन फुर्सदिला भएर बिताइरहेका छन्, जुन उनीहरूको चाहना होइन । हरेक युवा आफ्नो खुट्टामा उभिन चाहन्छ, आफ्नै संसार बनाउन चाहन्छ, तर के गर्ने ? कहाँ जाने ? सही बाटो निर्देश गर्ने निकाय छैन । यस्तो बेलामा युवाहरू सडकमा नआएर कहाँ जान्छन् ? धन्न हामी नेपालीहरूको रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता मात्र होइन सहने शक्ति पनि धेरै छ । नत्र अहिलेसम्म काठ्माडौंका मात्र होइन हरेक प्रदेशका सडकमा युवाहरूको प्रदर्शन हुने थियो । स्कुल, कलेजमा अनेक प्रतिस्पर्धा पार गर्दै उच्चशिक्षा हासिल गरेका छन्, आफुलाई पढाउँदा कतिका अविभावक ऋणमा डुबेका छन्, मुलुकमा राजनीतिबाहेक अर्को अवसर छैन, के गर्ने ? सबै राजनीतिमै जाने ? अहिलेका युवाहरू राजनीतिबाट वाक्कदिक्क भएका छन् । आफु राजनीति गर्ने होइन, मुलुकको राजनीति सुध्रियोस् भन्ने चाहन्छन् ।

प्रत्येक वर्ष ठुलो संख्यामा ‘ग्राजुएट’ हुने युवाहरू के गरेर समय बिताइरहेका छन् ? राज्यले सोचेको छ जस्तो लाग्दैन । प्रयोग गर्ने ठाउँ नपाएपछि आफूले हासिल गरेको ज्ञान र सिप भुत्ते हुँदै जान्छ ।

युवाहरूको विशाल प्रदर्शनमा प्रयोग गरिएको राष्ट्रिय गीत, राष्ट्रिय झण्डा, प्रहरीप्रतिको शालिन ब्यवहार राजनीतिक दलहरूले पनि सिक्नुपर्ने कुरा हुन् । टायर नबाली, इँटाढुङ्गा प्रहार नगरी पनि सडक आन्दोलन हुन्छ भन्ने कुरा युवाहरूले सिकाएका छन् । राम्रो नियतले गरिएको आन्दोलनलाई अनेक नाम र संज्ञा दिँदै बाहिरी शक्तिबाट सञ्चालित भनी जुन आरोप लगाइयो त्यसबाट युवाहरूलाई थप फ्रष्ट्रेसन भएको हुन सक्छ । आन्दोलनको बीचमा धमिलो पानीमा माछा मार्न को–को छिरे यसै भन्न सकिन्न तर युवाहरूको सुरुवात कसैको उक्साहटमा गरिएको भन्न मिल्ने प्रकारको छैन । परम्परावादी राजनीतिलाई विश्वब्यापी रुपमै अहिले युवाहरूले चुनौती दिइरहेका छन् । युवाहरू सर्वसाधारणसँग बाटोमा हात मिलाउँदै, सेल्फी खिच्दै हिँड्ने क्यानडाका राष्ट्रपति जस्तो नेतृत्व चाहन्छन् ।

हामीकहाँ जस्तो जतिबेला पनि दौरा–सुरुवालमा ठाँटिएर वरीपरी गार्डहरूबाट घेरिएर बोल्दा पनि पैसा खर्च हुन्छ झैँ गर्ने नेतृत्व अब मानिसहरूको रोजाइमा पर्दैन । कोरोना ब्यवस्थापन हेर्ने मन्त्रीले साधारण लुगा लगाएर क्वारेन्टिनहरूमा यो मिलेन यसो गर्नुस्, यसलाई यसो गरुँ भनेर निर्देशन होइन आग्रह गर्दै अनुगमन गरेको हेर्न चाहन्छन् । दौरा–सुरुवाल यो पङ्क्तिकारलाई असाध्यै मनपर्ने पोशाक हो । करिव–करिव लोप हुन लाग्दा चारवटा लेख लेखेको रहेछु । तर आपतविपद जतिबेला पनि मन्त्रीहरू औपचारिक भएर हिँडेको देख्दा आँखा बिझाउने रहेछ । अहिलेको पुस्ता छिटो–छरितो काम चाहन्छ । अवसर पाए आफु पनि त्यसै गर्छ । सरल राजनीति र सहज प्रशासनिक काम कार्वाही नहुने हो भने यस प्रकारका आन्दोलनहरू बढ्दै जानेछन् ।