देउरालीको याद

देउरालीको याद


■ दुर्गा किरण तिवारी ‘क्षितिज’

प्रिय देउराली !
आज सुख्खा बगरजस्तै
अत्यन्तै मायाको प्यासी म
कोषौँ परको तिम्रो सम्झना
र मायामा तड्पिइरहेकी छु
तिम्रो त्यो अथाह सन्दौर्य खोजिरहेकी छु
यो कुरूप शहरमा ।

यस प्यासी बगरमा
तिम्रो मीठो साथ
अव्यक्त व्यथाहरू पोख्न
तिमीसँगै मीठा–मीठा संवाद गर्न
अनि तिमीसँगै सुस्ताउन
म हर्दम तिम्रै यादमा छु,
प्रिय देउराली !

म जब एक्ली हुँदा
आएर बस्ने मेरो भञ्ज्याङ् !
तिमीसँग मेरो गुनासो छ,
पीडामा आएर सुस्ताउने
मेरो आधार खै ?

मलाई सुटुक्क आएर झौंकाउने
बताससँग गुनासो छ,
फेरि एकपल्ट
मीठो आभासले छुनै छोड्यौ
मीठो स्पर्श गर्नै छोड्यौ तिमीले ।

ती पखेराभरि राताम्मे फुलेका
लालीगुराँससँग मेरो गुनासो छ,
अचेल तिमी मुस्कुराउँदै
मेरो शिरमा सजिनै छोड्यौ,
तिमी मुस्कुराउँदा
म पनि तिमीसँगै कति हौसिन्थें
मेरा लालीगुराँसहरू

ती हरियाली बुट्यानहरूसँग मेरो गुनासो छ
मेरो साथ सौहार्दमय हुनै छोड्यौ
म रुँदा तिमी सुसाउँथ्यौ
तर अब सुसाउनै छोड्यौ
ती छहरा छाँगाहरूसँग गुनासो छ,
मेरा विचलित मनसँग छङ्छङाउनै छोड्यौ ।

ए मेरी सेती !
तिमीसँग मेरो दुखेसो छ,
तिमी मसँग मीठो धुन बनी गुन्जिनै छोड्यौ ।

प्रिय देउराली !
आज यो कङ्क्रिटको शहरमा
ढुङ्गाजस्ता मनहरूसँग म
जिउँदै मुर्दासरि उभिएकी छु
पलपल तिम्रो यादमा ।

प्रिय देउराली !
हेर, जब सम्झुन्छु तिमीलाई
मन भरङ्ग हुन्छ
यो सहरमा मुर्दालाई पनि लुछिन्छ
अरूको के कुरा गरूँ ?
तिमी सबैमा प्राण भर्थ्यौ
तिमीसँग सुस्ताउन आउँदा
अनि कानैमा आएर सुस्तरी भन्थ्यौ
‘तिमी शहरमा
आहत हुँदा मलाई सम्झनू’ दुर्गा

ती लालीगुराँस,
ती हरिया बुट्यान
ती छहरा छाँगा समेतको
त्यस मनोरम प्रकृतिले भन्ने गर्थ्यो
‘त्यो सुक्खा बिरानो ठाउँमा
प्यासी हुँदा मायाको हामीलाई स्मरण गर्नू
पक्कै तिमीमा उल्लास आउनेछ दुर्गा’ ।

प्रिय देउराली !
म तिम्रै यादमा
दिनहरू काट्दै यो बिरानो
दुनियामा संवेदना नभएको शहरमा
अपनत्व नभएको कङ्क्रिटको शहरमा
म तिम्रै यादमा तड्पिइरहेकी छु
तिम्रै यादमा
प्रिय देउराली !