कालापानीको पुरानो प्रतिवेदन कहाँ लुकाइयो ?

कालापानीको पुरानो प्रतिवेदन कहाँ लुकाइयो ?


■ डा. अम्बरिश पोखरेल

कालापानीको सम्बन्धमा एउटा कुराको खुलासा पुनः गर्नुपर्ने देखियो । त्यो हो– कालापानीको प्रतिवेदन पहिला नै तयार छ, पुरानो प्रतिवेदन कहाँ लुकाइयो ?

१. कालापानीबाट भारतीय सेना पछि हट्न नमानेपछि तत्कालीन सरकार अर्थात् राजा वीरेन्द्रले गोप्य रूपमा कालापानीदेखि लिम्पियाधुरासम्मको जमीन हाम्रो हो वा होइन, जाँचबुझ गरी प्रतिवेदन तयार गर्न लगाएका थिए ।

२. प्रतिवेदन तयार पार्ने संयोजकदेखि अन्य सबै सदस्यहरूलाई गोप्य राखेर आफ्नो काम गर्न भनिएको थियो र त्यो समितिले आफ्नो काम सम्पन्न गरेर प्रतिवेदन बुझायो । अर्थात्, सबै प्रमाणहरू एकत्रित गरेर सिलसिलाबद्ध गरिसकेको अवस्था थियो ।

३. यसरी अत्यन्तै गोप्य रूपमा तयार पारिएको प्रतिवेदन सिलबन्दी गरी नेपालको परराष्ट्र मन्त्रालयमा राखिएको थियो । के त्यो पोको अहिले मन्त्रालयमा छैन ? छ भने अहिले चाहिएको अवस्थामा समेत त्यो पोको नेपाल सरकारले किन खोल्दैन ? के त्यो पोकोमा प्रमाण अझै पुगेको छैन ? के अपुरो प्रतिवेदन त्यसरी सिलबन्दी गरेर राखियो ? त्यो कुरा त हुनै सक्दैन ।

४. यदि अहिले त्यो प्रतिवेदन छैन भने, कसले कहिले र कहाँ गायब पारेको हो ? त्यहाँबाट गायब पारेर उसले वा उनीहरूले कहाँ लागेर बुझाए वा राखेका छन् वा नष्ट गरे ? कम्तीमा पनि यो सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने समय यही हो कि होइन ?

५. पहिला नै तयार पारेको प्रतिवेदनको खोजी नगरी अहिले फेरि बजार हल्ला गराउँदै प्रमाण संकलन गर्ने भनेर नेपालको सीमानासँग गोरु बेचेको साइनो समेत नरहेका (केही सदस्यहरू मात्र) मानिसहरू राखेर किन नयाँ समितिको औपचारिक घोषणा गरियो ? (हेर्नुहोस्नेपाल-भारत सीमासम्बन्धी प्रमाण जुटाउन विज्ञ समूह गठन) यो कुराको पछाडि कुनै रहस्य छ वा सल्लाहकार वा सरकारको अनजानपन हो ? केही हप्तापछि मात्र भन्न सकिने देखियो यो समिति गठनको बारेमा ।

६. कसैलाई मेरो कुरामा शंका छ भने यसबारेका राम्रा जानिफकार भूपू परराष्ट्रमन्त्री (जस्तो कि रमेशनाथ पाण्डे) राजदूतहरुदेखि परराष्ट्रका देशभक्त कर्मचारीहरुसँग बुझ्न सक्नुहुन्छ । बुझौँ आफै सत्य तथ्य के हो ।

७. यो मामला अर्थात् कालापानीदेखि लिम्पियाधुरासम्मको जमीनऊपर पंक्तिकारको कुनै निर्यण छैन । सूचना तथा केही विश्वव्यापी मान्यताको मात्र चर्चा गर्ने गरेको छु । देशको सीमानाको रक्षा वा त्योउपरको विवादको समाधान हामी नागरिकले होइन, नेपाल सरकार (राज्य) र वार्षिक अरबौं बजेट खर्च हुने गरेको नेपाली सेनाको हो ।

८.यहाँ सांसद् सरिता गिरीले संसदमा उठाएको प्रस्न बहुत सान्दर्भिक देखिन्छ । उनले संसदमा रेकर्ड हुने गरी बोलेको विचार यस्तो छ– ‘…जहाँ सीमा विवाद हुन्छ वा सिमाना मिचिन्छ, त्यहाँ राष्ट्रको सेना तैनाथ हुने गर्छ, तर नेपाली सेना कहाँ छ र अहिले के गर्दै छ… ?’ उनको प्रश्न ठीक छ वा छैन ? आफै निर्णय गरौँ । यसरी अहिले रुखको टुप्पो वा पातको कुरा होइन, जरामा लागेको रोगको पहिचान गरी उपचार गरौँ । अस्तु ।