मानवजीवनको निरन्तरता या पूर्णविराम : द्विविधामा निराकार

मानवजीवनको निरन्तरता या पूर्णविराम : द्विविधामा निराकार


■ देवप्रकाश त्रिपाठी

दिउँसो ल्याएको काँचो माछा र केही हरियो सागपात खाएर सदाझैँ आ–आफ्ना ओछ्यानमा सुते । अभ्यस्त त एकैछिनमा घुर्न पनि थालिहाल्यो, तर निराकारलाई निद्रा परेन ।

उनी सोच्न थालिन्, ‘म एक दिन मर्नेछु । उमेरका कारणले मर्ने पालो मेरो नै पहिले आउनेछ, अर्थात् म उसकै काखमा मर्नेछु । त्यसपछि ऊ एक्लै हुनेछ । कसरी बाँच्ला ऊ, कसरी मर्ला ? उसलाई साथी त चाहिएला, तर म उसलाई कसरी साथी खोजिदिन सकुँला ? मसँग पनि कुनै उपाय छैन, एउटै उपाय छ, तर म उसकी आमा हुँ । मैले उसलाई साथी दिनका लागि अन्यथा सोच्न पनि सक्दिनँ । म उसलाई एक्लो बनाउन पनि चाहन्न, साथी दिन पनि मुस्किल छ । हे ईश्वर ! म के गरौँ ?’

उनी निदाउन सकिनन् । रातभर छटपटी भइरह्यो निराकारलाई । पहिले प्रलयको पीडा, त्यसपछि छोरालाई ठूलो बनाउने चिन्ता, अब एउटा असाध्य प्रतीत हुने पीडा थपिएको छ उनीमाथि । अबका प्रश्नको पीडा प्रलयको भन्दा चर्को महसुस उनलाई हुन थालेको छ । रात छर्लङ्गै बित्यो । पूर्वाकाश रातो बनाउँदै सूर्य देखापऱ्यो । निराकारको आँखा पनि आकाशभन्दा कम रातो थिएन । जब अभ्यस्तले ‘आमा किन आँखा रातो ?’ भनेर सोध्यो, त्यसपछि मात्र उनी झस्किन् ।

‘प्रलयपूर्वका आफन्त, तिम्रो पिता, त्यसबेलाको संसार सम्झन पुगेछु, रातभरि निद्रा परेन,’ निराकारले आफैलाई छल्दै छोरालाई आश्वस्त पारिन् ।

यस्तो भयो भने त बिरामी परिहालिन्छ नि । अब सोचेर के अर्थ छ आमा ? बिर्सिदिनुस् सबै कुराहरू । मान्नुहोस्, त्यो एउटा सपना थियो ।’

‘होइन बाबु, सपना त्यो हो कि यो वर्तमानचाहिँ सपना हो मैले छुट्याउन सकिरहेकी छैन ।’

‘हामी सपनाकै पात्र रहेछौँ भने पनि यो एउटा सपनाको यथार्थ हो आमा । अहिले पृथ्वीमा हामी दुई जना मात्र छौँ, जो प्रलयबाट पनि जोगियौँ । जब प्रलयले निल्न सकेन भने हामी कुनै प्रयोजनकै लागि बाँचेका हौँला । सपनामै बाँचिरहेका प्राणी रहेछौँ भने पनि वर्तमानको चुनौतीलाई त हामीले सामना गर्नैपर्छ । बितेको कुरामा चिन्ता गरेर आफैंलाई सताउनुभन्दा भविष्यबारे चिन्तन गरौँ न आमा,’ अभ्यस्तले लामो सास तान्दै भने ।

भविष्य झन् निष्पट्ट अन्धकार छ, कसरी त्यसबारेमा चिन्तन गर्न सकिएला । फेरि चिन्तन गरेरै पनि के हुनेवाला छ र ?’

‘होइन आमा, सोच्दै जाँदा कुनै न कुनै उपाय त निस्केला नि । आमाले नै मलाई भन्नुभएको होइन, प्रलय हुनुअघिको पृथ्वीमा कुनै बुद्धले चिन्तनमननद्वारा नै जीवनको मार्ग पहिल्याएको भनेर । हामी पनि चिन्तन गर्दै जाँदा एउटा निष्कर्षमा कसो नपुगिएला ?

‘हाम्रो निष्कर्ष कुनै जवाफ नभएर एउटा प्रश्नकै रूपमा मात्र उभिने यथार्थजस्तो देख्छु बाबु म ।’

‘प्रश्न कहाँ निष्कर्ष हुन्छ आमा, प्रश्न त सधैं निष्कर्षमा पुग्ने वा जवाफ खोज्ने साँचो मात्र हुन्छ, होइन र ?’

‘जे–जति चिन्तन गरे पनि हामीसँग केवल दुई वटा विकल्प छन् । बौद्धमार्ग अवलम्बन गरेर निर्वाण प्राप्तितर्फ अग्रसर हुनु या सृष्टिलाई निरन्तरता दिनु ।’

‘निर्वाणप्राप्तिको अवस्था र सृष्टिको निरन्तरताबीच त्यति ठूलो दूरी छ र आमा, जो एकअर्काका विकल्प बन्न सक्दछन् ?’

‘हो अभ्यस्त, निर्वाण प्राप्त गर्नु भनेको मोहरहित हुनु हो । धर्ती, आकाश, हामी आफैं र हामीहरूको परिवेशप्रति हामी मोहित छौँ । यति मोहित छौँ कि त्यसबाट अलग्गिने कुराको कल्पना पनि गरिँदैन । हामीले जे देखी–भोगिरहेका छौँ, यी सबै केही होइन, तर हामीलाई यिनै सम्पूर्ण हुन् भन्ने लाग्छ । आफूप्रतिको मोह छ, आफ्नो नामप्रतिको मोह छ, नाम जो आफू होइन र आफ्नो पनि होइन त्यसप्रतिको मोहले असाध्यै सताइन्छन् मानिस । देखिएको आफ्नो कहिल्यै थिएन र कहिल्यै हुने पनि छैन, तर यो सत्य स्वीकार गर्न मोहले नै छेकबार लगाइरहन्छ । यही मोहका कारण नै जीवनमा अनेकौँ किसिमका दुःख र व्यवधानहरू आइरहन्छन् ।

जीवन र जगत्का प्रति यस किसिमको मोह छउन्जेल मानिसमा दुःख कायम रहन्छ । बुद्धले यो दुःखबाट मुक्तिका लागि निर्वाण प्राप्त गर्नुपर्छ भन्नुभएको थियो । निर्वाण त्यो अवस्था हो जहाँ जीवन र जगत्का सम्पूर्ण सुख, दुःख, इच्छा, निराशा आदि केहीले पनि छुन सक्दैन । सबै किसिमका तृष्णाबाट मुक्त होइन्छ । प्रेम, विवाह, सन्तान, सृष्टिको निरन्तरताको चाहनाभन्दा धेरै टाढाको अवस्था हो निर्वाण उसबेला ज्ञाताहरू अमृतभन्दा मीठो, महभन्दा गुलियो, सगरभन्दा माथि पुगेको अवस्था हो निर्वाण भन्ने गर्थे । मलाई लाग्छ– शब्दहरूमा व्याख्या गर्न नसकिने अवस्था निर्वाण हो जो निर्वाणको अवस्थामा पुग्छ उसले जिउँदैमा मुक्ति प्राप्त गर्छ । कसैको प्रशंसा र गालीले पनि उसलाई किञ्चित छुँदैन,’ निराकारले एकै सासमा भनिन् ।

‘आमा, के बुद्धले सबै मानिसलाई निर्वाण प्राप्तिको दिशामा लाग्न उपदेश गर्नुहुन्थ्यो ?’

‘हो अभ्यस्त, निर्वाणप्राप्तिको अधिकार हरेक चेतनशील प्राणीलाई छ भन्नुहुन्थ्यो बुद्ध । तर, चेतना भए पनि पशुपक्षीमा ज्ञान प्राप्त गर्ने प्रत्यय र विवेक कमजोर भएकोले बुद्धको उपदेश मानिसहरूमा मात्रै लागू हुन सक्दथ्यो ।’

‘त्यसोभए बुद्ध पृथ्वीबाट मानिसको अस्तित्व लोप गर्न चाहनुहुन्थ्यो, हो ?’

‘होइन, मानिसलाई ज्ञान दिनुहुन्थ्यो र मुक्ति प्राप्तिका लागि प्रेरणा दिनुहुन्थ्यो ।’

‘त्यसो होइन आमा, बुद्ध सबै मानिसहरूलाई निर्वाण प्राप्तिका लागि प्रेरित गर्नुहुन्थ्यो । उहाँले भनेको सबैले मानेको अवस्था हुन्थ्यो भने सबै मानिसले जिउँदैमा मोक्ष प्राप्त गरेका हुन्थे । सबैले मोक्ष प्राप्त गर्नु अर्थात् निर्वाण प्राप्त गर्नु भनेको मानवजीवनको निरन्तरता रोकिनु त हो । कसैले विवाह गर्ने थिएनन् । सन्तान पैदा गर्ने थिएनन् । अनि एउटा निश्चित कालखण्डमा गएर मानिसको अस्तित्व लोप हुन्थ्यो, होइन र ?’

‘अँ, त्यसरी त हो । सबैलाई निर्वाण प्राप्त गर्ने प्रेरणा बुद्धको थियो, निर्वाण प्राप्त गरेपछि कसैले पनि विवाह गर्ने र सन्तान जन्माउने काम गर्दैनथे । अनि एक निश्चित समयमा पृथ्वीमा मानिसको अस्तित्व समाप्त हुनसक्थ्यो ।’

‘पृथ्वीमा मानिसको अस्तित्व नै समाप्त गरेरचाहिँ बुद्धलाई के फाइदा पुग्ने रहेछ नि ?

‘बुद्धले आफ्नो फाइदाका लागि कहिल्यै सोचेनन्, मानिसलाई दुःखबाट मुक्त गर्नका लागि मात्र उनले चिन्तन गरेका हुन् ।’

‘ठीक छ, मानिसलाई दुःखबाट मुक्त गर्ने सोच एकदमै राम्रो हो । तर, त्यसो गर्दा पृथ्वीलाई नै मानवमुक्त बनाउनु उचित हो र आमा ?’

‘हो, म यही कुरा सोच्दै छु । मानिस भएर वा नभएर पृथ्वीलाई के फरक पर्छ ? पृथ्वी नै नभएर ब्रह्माण्डलाई के फरक पर्छ ? केही नभएर र कोही नभएर केहीलाई र कसैलाई के फरक पर्ला ? यही नै म सोचिरहेकी छु । हिजोको हाम्रो पृथ्वी कस्तो थियो । कति मानिस र अरू प्राणीहरूको आश्रयस्थल यो बनेको थियो । आज पृथ्वीमाथि मानवका रूपमा हामी मात्र छौँ । हामी मात्र भएकोमा हामीलाई फरक परेको छ, तर पृथ्वीलाई या यो ब्रह्माण्डलाई, सृष्टिलाई के फरक परेको छ त ? हामी धेरै भ्रमित छौँ । पृथ्वीमा मानिस मात्र होइन, कहीँ पनि केही पनि नरहे पनि र ब्रह्माण्डमा पृथ्वीकै अस्तित्व नरहे पनि केही फरक पर्ने छैन ।

यसरी सोच्दा मानवजीवनको निरन्तरता रहनुपर्ने वा नपर्ने प्रश्नमा अल्झिरहनुपर्ने पनि देख्दिनँ । तर, मैले निर्वाण प्राप्त गर्न पनि सकेकी छैन । त्यसैले मानवजीवन निरन्तरताको मोहबाट म मुक्त छैन । उपभोक्ता हुँदा न उपभोग्याको महत्व हुन्छ । उपभोग गर्ने कोही वा केही नहुने अवस्थामा महत्वपूर्ण भन्ने कुनै वस्तु या पदार्थ ब्रह्माण्डमा रहन्नन् । जे रहन्छन् ती सबै महत्त्वहीन हुन्छन् । सृष्टिका सबैभन्दा प्रभावकारी उपभोक्ता मानिस हुन्, पृथ्वीलाई रूग्ण बनाउने र सुन्दर बनाउने दुवै भूमिकामा मानिस प्रभावकारी हुन सक्छन्, हुँदै आएका छन् । त्यसैले म मानवमुक्त पृथ्वीको कल्पना गर्न पनि सकिरहेकी छैन ।

‘आमा, तपाईं कति दुविधाग्रस्त ! मानवजीवनको निरन्तरता या यसमा पूर्णविराम दुईमध्ये एउटा निष्कर्षमा तपाईं पुग्दा हुँदैन ? एउटा आज्ञाकारी पुत्रका रूपमा म तपाईंका दुईमध्ये कुनै पनि निर्णयको सहर्ष स्वागत गर्नेछु । तपाईं निर्णय लिँदा बुद्धको निर्वाणप्राप्तिको अवस्थालाई मात्र किन, कुनैबेला भगवान् कृष्ण र उहाँको गीताको पनि खुबै चर्चा गर्ने गर्नुहुन्थ्यो, त्यसलाई पनि आधार बनाउनुहोस् न ! बुद्धको मोक्ष, कृष्णको कर्तव्य र तपाईं–हाम्रो दायित्व आदि सबै कुराका आधारमा तपाईं एउटा निष्कर्षमा पुग्नु उचित होला कि आमा ?

निराकारले बडो गम्भीरताका साथ अभ्यस्तका कुरा सुनिन्, तर शब्द ओठबाट खसेन, टाउको मात्र हल्लाइरहिन् । मध्याह्न हुन लागिसकेको थियो ।

अभ्यस्तले भन्यो, ‘भोक लागेन आमा ? जाऊँ अब खानेकुराको खोजीमा ।’

दुवै त्यहाँबाट निस्किए । नित्यकर्मका लागि खोलाकै किनारमा आउनुपर्ने बाध्यता थियो उनीहरूलाई । आमा–छोरा हात समाउँदै खोलातिर ओर्लिए ।
(क्रमशः)

पहिलेको खण्ड हेर्नुहोस्–

सिङ्गो पृथ्वीमा बचेका दुई मानव– आमा-छोरा !