यस्तो रहेछ रुकुम पश्चिम चौरजहारी घटनाको नालीबेली

यस्तो रहेछ रुकुम पश्चिम चौरजहारी घटनाको नालीबेली


रुकुम पश्चिम चौरजहारी सोतीमा घटेको बहुचर्चित ‘जातीय विभेद’का कारण भएको ६ युवाको हत्या–घटनाबारे मानवअधिकार तथा शान्ति समाजको नेतृत्वमा अधिकारकर्मी तथा सञ्चारकर्मीहरूले गरेको स्थलगत अध्ययन–अनुगमनपश्चात तयार गरिएको नागरिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।

शुक्रबार (३० जेठ) बुटवलमा एक कार्यक्रम गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । स्थलगत अध्ययन अनुगमनमा तत्कालीक संविधानसभा सदस्य एवं राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष विनोद पहाडी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईं, अधिवक्ता शिव गौडेल, पत्रकारद्वय माधव नेपाल र विनोद परियार संलग्न रहेका समाजले जनाएको छ ।

सत्य तथ्यमा आधारित रही घटनाको वास्तविकता समाजसामु ल्याउने उद्देश्यका साथ स्थलगत अध्ययन गरिएको भनी समाजद्वारा दाबी गरिएको ‘नागरिक प्रतिवेदन’मा सो घटनालाई अत्यन्त मसिनो गरी उल्लेख गरिएको छ । घटनाप्रति दिलचस्पी राखेर बुझ्न खोज्नेहरूका लागि उपयोगी हुने ठानेर यहाँ उक्त प्रतिवेदन जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

रुकुम (पश्चिम) चौरजहारी नगरपालिका वडा न. ८ सोती गाउँमा भएको घटनाका सम्बन्धमा अधिकारकर्मी तथा सञ्चारकर्मीद्वारा तयार पारिएको स्थलगत अध्ययन/अनुगमन प्रतिवेदन २०७७

प्रतिवेदन सार्वजनिक : २०७७ जेठ ३० गते

घटना भएको मिति : २०७७ जेठ १० गते साँझ ५:३० देखि ६:३० सम्म

घटना भएको स्थान : रुकुम (पश्चिम) चौरजहारी नगरपालिका वडा न. ८ सोतीगाउँ – भेरी नदी किनार

स्थलगत अध्ययन/अनुगमन गरिएको मिति : २०७७ जेठ २३ गतेदेखि २७ गतेसम्म

१.१ अध्ययनको उदेश्य :

२०७७ साल जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा न. ८ सोती गाउँ भेरी नदी किनारमा भएको घटनाको नागरिक तहबाट स्वतन्त्र रुपमा स्थलगत अध्ययन, अवलोकन र सरोकारवालाहरुसँग छलफल र अन्तरक्रिया समेत गरी घटनाको वास्तविकता सत्य तथ्यमा आधारित रहेर प्रतिवेदन सार्वजनिक गर्नु ।

स्थलगत अध्ययन, अनुगमनमा संलग्न व्यक्तिहरु :

 विनोद पहाडी, संविधानसभा सदस्य एवं केन्द्रीय अध्यक्ष, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल
 गोविन्द खनाल, केन्द्रीय वरिष्ठ उपसभापति, मानव अधिकार तथा शान्ति समाज
 बालकृष्ण चापागाईं वरिष्ठ पत्रकार तथा अधिवक्ता
 शिव गौडेल, अधिवक्ता – एडभोकेसी फोरम, रुपन्देही
 माधव नेपाल, वरिष्ठ पत्रकार
 विनोद परियार, पत्रकार

अध्ययन, अवलोकन र अनुगमनका प्रक्रियाहरु :

 घटना स्थलको स्थलगत अध्ययन
 मृतक परिवार, प्रत्यक्षदर्शीसँग भेटघाट/छलफल
 आरोपित पक्षसँग भेटघाट र सोतीगाउँका स्थानीयसँग छलफल/अन्तरक्रिया
 घटनामा परि घाइते भएका व्यक्तिहरुसँग छलफल
 प्रहरी, प्रशासन, जनप्रतिनिधि र नागरिक अगुवाहरुसँग छलफल
 सूचना तथा तथ्य संकलन

स्थलगत रुपमा अध्ययन गरिएका स्थानहरु :

 रुकुम (पश्चिम) चौरजहारी नगरपालिका वडा न. ८ भेरी नदी किनार र सोती गाउँ
 जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम
 जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम
 इलाका प्रहरी कार्यालय चौरजहारी
 चौरजहारी नगरपालिकाका
 मृतक चौरजहारी नपा १ टिकाराम नेपालीको घर
 मृतक परिवार जाजरकोट भेरी नपा ४ का नवराज विक सहित ३ जनाको घरमा भेटघाट
 मृतक परिवार जाजरकोट भेरी नपा ४ मटेला
 जिल्ला प्रहरी कार्यालय जाजरकोट
 अन्य सम्बद्ध सरोकारवाला नागरिक समाज र सम्बन्धित निकायहरु

२.१ पृष्ठभूमि :

जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा न. ४ रानागाउँका नवराज विश्वकर्मा १८ जना साथीहरु सहित जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा न. ८ सोती गाउँमा प्रेमिका सुष्मा मल्ललाई लिनका लागि भन्दै गएको देखिन्छ । त्यहाँ पुगेको बेला परिवार, जनप्रतिनिधि र गाउँलेहरुले चौतर्फी घेराबन्दी गरेर ढुंगामुढा गरी आक्रमण गरेका थिए । उक्त आक्रमणबाट ६ जना यूवाहरुको नृशंस हत्या भएको छ । स्थानीयहरुको क्रुर र बर्बर आक्रमणमा परि ६ जना यूवाहरुले ज्यान गुमाएको यो बिषयमा नागरिक तहबाट पनि अध्ययन र अनुगमन गरीसत्य तथ्य सार्वजनिक गर्न आवश्यक देखिएपछि मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा मानव अधिकारकर्मी एवं पत्रकारहरुको सहभागितामा यो अध्ययन/अनुगमन गरिएको हो । स्थलगत रुपमा गरिएको यो अध्ययनले सत्य/तथ्यलाई समेटेको छ । अध्ययन मिति २०७७ साल २३ गतेदेखि २७ गतेसम्म घटना स्थल, घटनाका पिडित परिवार, घाईते, आरोपित पक्ष, प्रहरी प्रशासन, जनप्रतिनिधि र अन्य नागरिक तहका सरोकारवालासँग भेटघाट र छलफल गरेर यो प्रतिवेदन तयार पारिएको छ ।

२.२ घटनाको संक्षिप्त विवरण :

जेठ १० गते नवराज विकलाई प्रेमिका सुष्माले अर्कै केटासँग विवाह गरिदिन लागेकाले आफूलाई भगाएर लैजान खबर गरेपछि नवराजले छिमेकका सञ्जु विक, सुदीप खड्का, गणेश बुढा मगर सहित साथीहरुलाई साथमा लिएर रुकुम पश्चिम चौरजहारी वडा न. ८ को सोतीगाउँ तर्फ लाग्छन् । दिनको १२ देखि १ बजेको विचमा रानागाउँबाट करिव १२ किमि टाढामा पर्ने सोती गाउँतर्फ हिड्छन । घाईते नवराजका साथीहरुका अनुसार नवराज विचविचमा सुष्मासँग कुराकानी गरिरहेकै हुन्छन् ।

ओरालो झर्दै गर्दा नवराजले मटेलाका लोकेन्द्र सुनारलाई पनि खबर गर्छन् । जाजरकोट र रुकुम जोड्ने झोलुङे पुल (धल्लाको पुल) मा आउदासम्म १९ जना साथीहरु जम्मा हुन्छन । मध्यपहाडी लोकमार्ग हुँदै सोती गाउँ जाने बाटो लाग्नुअघि एक जना भने घरतर्फ फर्किएपछि साँझ ५ बजेको सेरोफेरोमा नवराज १८ जना साथी सहित सोती गाउतर्फ लाग्छन । मध्यपहाडी राजमार्गबाट करिव २ किमि उकालो लागेपछि सोतीगाउँ पुगिन्छ । नवराज र उनका साथीहरु उकालो लाग्दै गर्दा ढुंगा खानीमा काम गरेकाहरुले पनि देख्छन् । नवराजलाई यसअघि कुटपिट भएकाले उनका साथीहरुले नचिनिने गरी मुखमा मास्क लगाएर नवराजलाई बीचमा राखेका हुन्छन ।

सुष्माको घरनजिकै नवराजका तीन जना साथीहरु जान्छन् । ती तीन जनालाई देख्नासाथ सुष्माको आमा प्रकाशी मल्ल जातीय रुपमा गालीगलौजमा उत्रिन्छिन् । ‘तँ डुमलाई अस्तिको कुटाई (वैशाख १७ गते) ले पुगेन अब तँलाई नमारी छाड्दिनँ’ भन्छिन् । सुष्मालाई लिन आएको ठाउँमा आमाले गाली गरेको सुनेपछि युवाहरु वैशाख १७ गते कुटपिटमा संलग्न सुष्माको दाजु पर्ने विनोद मल्लको घरतिर लाग्छन् । विनोद मल्ल घरमा नभएको जानकारी पाएपछि १८ जना युवाहरु गीत गाउँदै सामान्य अवस्थामा जाजरकोटतर्फ फर्कन्छन् ।

स्थानीय एक घरमा पानी खाएपछि मध्यपहाडी मार्ग भन्दा माथिको भागमा युवाहरु सुस्ताउछन् । त्यति नै बेला घाइतेहरुका अनुसार २ देखि ३ सय, प्रहरीका अनुसार १ सय देखि १ सय ५० को हाराहारीले हातमा घरेलु हतियार सहित ढुंगा र लठ्ठी बर्साउन थाल्छन् । एक्कासी हुलका हुल मानिसहरुले लखेट्न थालेपछि यूवाहरु ज्यान बचाउन भाग्छन् । घाईते प्रत्यक्षदर्शीका अनुसार पछाडिबाट मार मार भन्दै ढुंगा हान्न थाल्छन् ।

युवाहरु मध्यपहाडी सडकतर्फ दौडन्छन् । केहि पर लोकमार्गको दुवै तर्फबाट हुलका हुल मान्छेहरुले ढुंगा बर्साउन थाल्छन् र तीनतिरबाट १८ जना घेरिन्छन् । नवराज खोई भन्दै अनुहार हेर्दे पिट्न थाल्छन । ज्यान बचाउन अन्य विकल्प नभएपछि मकैबारी हुँदै भेरी नदी किनारतर्फ भाग्छन् । घाईते सुदीप खड्काका अनुसार नवराज सहित मृत्यू भएका ६ जनालाई भेरी नदी नपुग्दै छोपेर कुटपिट गरिएको थियो । चारैतिरबाट घेरेर पिट्न थालेपछि १० जना भेरीमा पसेर ज्यान बचाउन हेलिन्छन् । भेरीमा पस्दा पनि लगातार ढुंगा बर्सिन थालेपछि ५ जना रुकुमतिर अलमलिन्छन् । जसोतसो गरी भेरी पारी पुगेका ५ जनाले त्यहि पिटाई खान्छन । घाइतेहरुका अनुसार ‘हामीले खु्टटा समात्यौं, तर पनि छोडेनन, हसिया लठ्ठीले हानेँ ।’ त्यतिञ्जेलसम्म साँझको सवा ६ बजेको थियो । कुटपिट भइरहेको बेला प्रहरी आइपुग्छ । प्रहरीले सिठ्ठी बजाउदा पनि लठ्ठीले कुटपिट भइरहेको थियो । प्रहरीका अनुसार पनि घटनामा एकतर्फी कुटपिट चलिरहेको थियो । सन्तोष लामिछानेको नेतृत्वमा ४ जना प्रहरी घटनास्थलमा पुगेपछि १२ जना घाईते भएकाहरुलाई उद्धार गरी इलाका प्रहरी कार्यालय चौरजहारी लगिएको थियो । प्रहरीलाई भने वडा न. ८ का वडाअध्यक्ष डम्बर बहादुर मल्लले लकडाउनका बेलामा जाजरकोटबाट केटाहरु आएको र उनीहरुलाई नियन्त्रण गर्नुपर्छ भनेर खबर गरेका थिए । वडाअध्यक्षले प्रहरीलाई ढुंगाखानीमा आउन सूचित गरेपनि आक्रमण भने भेरी नदी किनारमा भइरहेको थियो ।

युवाहरुले कुटाई खाएको प्रहरीले देखेपनि कुटाई खाएका नवराजका साथीहरुलाई नै पक्राउ गरेर प्रहरीचौकी लगेको पाइन्छ । प्रहरीले पक्राउ गर्दा यूवाहरु काँपिरहेका थिए । सुदीप खड्काको नाकबाट रगत बगिरहेको थियो । कसैको टाउको, अनुहार र शरीरमा चोट लागेको थियो । प्रहरीले सामान्य सोधपुछ गरेर वडाअध्यक्ष र कुटपिटमा संलग्नहरुलाई घटनास्थलबाटै छाडेको देखिन्छ । प्रहरी, प्रत्यक्षदर्शी घाईतेहरुका अनुसार भेरी नदीको रुकुम र जाजरकोट तर्फ पनि पुल तरेर नवराजको समूहलाई कुटन आक्रमणकारीको टोली खटिएको थियो । जसले पूर्व योजनाअनुसार नै आक्रमण भएको देखिन्छ । प्रहरीहरु २०/२२ मिनेटभित्र घटनास्थलमा पुगेको बताउछन् । तर यो विचमा त्यति धेरै स्थानीय व्यक्तिहरु त्यो पनि घरेलु हतियार सहित एकैचोटी खनिनुले आक्रमणको पूर्व तयारी भएको देखिन्छ । स्थानीयहरुको साँघातिक आक्रमणका बाबजुद पनि नवराज र उनका साथीहरुले कुनै प्रतिवाद गरेको देखिँदैन । ७ देखि ९ बजेसम्म घाईतेहरुसँग सोधपुछमा प्रहरी जुट्छ । प्रहरी कार्यालयमा पुगेर सोधपुछ गरेपछि बल्ल प्रहरीलाई घटना फरक हो की ? भन्ने बुझाइ हुन्छ । लकडाउन उल्लघन गरेको आरोपमा गाउँलेहरुले लखेटेको बुझाई त्यतिञ्जेलसम्म प्रहरीलाई थियो । राती १० बजे जब जाजरकोटमा नवराज विकको शव भेटिन्छ त्यसपछि मात्रै प्रहरीको चासो बढ्न थालेको देखिन्छ । जेठ ११ गते प्रहरीले घाईते १२ जनालाई अभिभावकको जिम्मा लगाएर घर पठाएको थियो । ६ जना यूवाहरुको शव चोटपटक लागेको, पानीमा डुबेको भएपनि पेट नभरिएको अवस्थामा भेटिएको स्थानीयहरुले बताएका छन् । १० गतेदेखि २० गतेसम्म १० दिनको अन्तरालमा नवराज सहित सबैको शव भेटिएको थियो । सबै शवको पोष्टमार्टम गरी आफन्तलाई शव बुझाइएको र आ–आफ्नो धर्म सँस्कृति अनुसार दाहसंस्कार गरिएको आफन्तहरुले बताए ।

पिडित पक्षले अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्दा जातीय विभेदकै कारण सोती गाउँका सुष्माको परिवार, जनप्रतिनिधिले हत्या गरेको अभियोगमा जेठ १३ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जना विरुद्ध किटानी जाहेरी दिएका छन । प्रहरीले घटनामा संलग्न भएको आरोपमा सुष्माका वुवा विरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, वडा न. ८ का वडाअध्यक्ष डम्बर बहादुर मल्ल,केटीका दाजू सन्तोष मल्ल सहित २५ जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।

२.३ घटनाको सम्बन्धमा जाहेरी उजुरी दर्ता र कानूनी कारवाही :

जिल्ला प्रहरी कार्यालय जाजरकोट मार्फत जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) मा मृतकमध्ये नवराज बि.क को बाबु मुनलाल विक नेपाली समेत ३ जनाले मिति २०७७/०२/१३ मा किटानी जाहेरी दिएको देखिन्छ । कुल २७ जना बिरुद्ध परेको जाहेरीका आधारमा प्रहरीले मिति २०७७/०२/२६ गतेसम्म २५ जनालाई पक्राउ गरी अदातलबाट पक्राउपुर्जी र म्याद थप अनुमती लिई मुद्धाको अनुसन्धान गरिरहेको देखिन्छ । अन्यलाई समेत पक्राउ गरिएको भन्ने बुझिएको छ । थप अनुसन्धानका लागि सि.आइ.बि को टिम र विशेष सरकारी वकिलको कार्यालयबाट १ जना सरकारी वकिल समेत खटाइएको पाइयो ।

२.४ घटनाअघिका विवरण :

■ नवराज र सुष्मा मल्लको चिनजान २०७५ सालमा भएको बताईन्छ । जाजरकोटको कुदुमा भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा नवराज एक प्रतिस्पर्धी थिए । त्यहि बेला भएको चिनजानले पछि प्रेम सम्बन्धको रुप लिएको नवराजका साथीहरु बताउछन् । नियमित भेटघाट हुने र एकले अर्कोको फेसबुकमा तस्विरहरु समेत राखेर प्रेमलाई प्रगाढ बनाउन खोजेको देखिन्छ ।

■ जाजरकोटमा प्रत्येक वर्ष रमाईलो मेला लाग्छ । गत पुसमा सुष्मा पनि त्यहि रमाईलो मेला हेर्नका लागि पुस १२ गते नवराजको घर आएको पिडित परिवार बताउछन । रमाईलो मेला १४ गतेदेखि शुरु हुँदै थियो । त्यतिखेर सुष्मा नवराजको वहिनीको साथी भनेर आएकी थिईन । मेला शुरु हुनुभन्दा २ दिन अघि आएकी सुष्मा र नवराजसँगै हिड्न थालेपछि बुबा मुनलाल नानी को हुन्, किन घरमा आएको भनेर सोध्छन् । सुष्माले नवराजलाई मनपराएको कुरा सुनाउछिन् । त्यसको प्रतिउत्तरमा मुनलालले ‘नानीको उमेर पनि सानो छ, तिमी ठकुरीको छोरी हौ, हामी दलित (सानो जातका) हौं, समस्या हुन्छ अबदेखि हाम्रो घर नआउनु नवराजको साथ पनि छोड्नु’ भनेर सुझाव दिन्छन । तर सुष्माले बुवा माओवादीको राजनीति गर्ने र सानो ठूलो जातले केही फरक पर्दैन, हाम्रो उमेर पुगेको ८ वर्षपछि विहे गर्ने हो भनेको कुरा नवराजकीे आमा उर्मिला बताउँछिन । ४ दिन नवराजको घर बसेर सुष्मा चौरजहारी फर्किएको नवराजका परिवारजन बताउँछन् । पुस २९ गते नवराजको सानीआमाको जन्म दिनमा पुनः सुष्मा उपहार लिएर नवराजको घर बसेको कुरा परिवारले बताए । यसपछि नवराज र सुष्माविच फोनमा कुराकानी भइरहने परिवारजनको भनाई छ । नवराजका दिदी सुनिता विकका अनुसार सुष्माले नाता लगाएर बोलचाल हुन्थ्यो । ‘आमा बुवा, सोल्टीना भनेर सम्बोधन हुन्थ्यो, हामीले पनि बुहारी नै भन्न थालेका थियौं’ नवराजका आमा उर्मिलाले सुनाइन् ।

■ वैशाखमा सुष्माका भाई नवराजका घरमा आएको र नवराजलाई भिनाजुकै रुपमा सम्बोधन गर्ने गरेको बताईन्छ । सुष्माका भाई एक हप्तासम्म नवराजकै घरमा बसेपछि उनलाई छोड्नकै लागि बैशाख १७ गते नवराज साथीहरु सञ्जु विक, सुदीप खड्कालाई पनि साथमै लिएर चौरजहारी सोतीगाउँ जान्छन् । सुष्माको भाईलाइ पुऱ्याउन गएका नवराजमाथि अपशब्द प्रयोग गर्दै सुष्माका दाजू सन्तोष मल्ल सहितले कुटपिट गर्छन । नवराजलाई चोट समेत लाग्छ । परिवार र वडाअध्यक्ष डम्बर बहादुर मल्लले प्रहरीलाई खबर गरेर चौरजहारी प्रहरी कार्यालयमा एक रात थुनेको देखिन्छ । अन्तरजातीय विवाह स्विकार गर्न नसक्ने भएकाले अबदेखि सोती गाउँ नआउने चेतावनी सहित कुटपिट भएको नवराजका साथी सुदीप खड्काले बताए । कुटपिट गरी एक रात प्रहरी चौकीमा थुनेपछि चौरजहारी प्रहरी कार्यालयले घटनाको मिलापत्रका लागि फोन गर्छन् । तर वडाअध्यक्षले नवराजको आमालाई बोलाएर पठाउनु भन्छन र सोही अनुसार प्रहरीले बुझिलिएको कागज गरेर मिति २०७७/०१/१८ गते नवराज समेतलाई छाड्छ ।

■ छोरालाई लिएर फर्कर्दै गर्दा जाजरकोटका सुष्माका ठूलो वुवा पर्ने इन्द्रबहादुर मल्लले बाटोमा यो पटक बचेर आयौं, अर्कोपटक बाँचेर आउने आशा नगर्नु भन्दै धम्की दिएको पिडित परिवारको भनाई छ । त्यसको केहि दिनमा इन्द्रबहादुर मल्लले नवराज, सुदीप खड्काविरुद्ध उजुरी गरेका थिए । केटी पक्षले उजुरी गरेको भनेर जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उजुरी परेको प्रहरीले बताएपछि नवराज, सुदीप र उनका आमा प्रहरी कार्यालय पुग्छन । तर केटीपक्ष नआएको भनेपछि उनीहरु फर्कन्छन् । इन्द्रबहादुरले नवराजका वुवा मुनलाललाई भेटमा मल्लको सम्धी हुने खुब रहर छ भनेर होच्याएको मुनलालको भनाई छ ।

२.५ अनुगमनमा फेला परेका तथ्यहरु :

 सोती गाउँमा सुष्माकोे घर नजिक पुगेका यूवाहरुलाई देख्नेवित्तिकै आमा प्रकाशी मल्लले जातीय रुपमा अपमान गरी गाली गलौज गरेकी थिईन । त्यसपछि यूवाहरु विनोद मल्लबारे जानकारी लिएर गीत गाउँदै जाजरकोट तर्फ फर्किरहेका थिए । मध्यपहाडी मार्गनजिकै नवराजसहितका १८ जना यूवाहरु बसिरहेको बेला स्थानीयका अनुसार घरेलु हतियार सहित ढुंगा मुढा हान्दै चौतर्फी आक्रमण भएको देखिन्छ । प्रत्यक्षदर्शी तथा घाइते सुदीप खड्काका अनुसार ज्यान बचाउने कुनै उपाय नभएपछि भेरीमा १० जना हाम फालेका थिए । नवराज र अन्य ५ जनालाई भेरी किनार नपुग्दै कुटपिट गरेको दखिन्छ । प्रहरी नपुगेको भए आफूहरुलाइ पनि भिडले मार्ने थियो भन्ने भनाई घाइतेहरुको रहेको छ ।

 गाउँलेहरुको आक्रमणमा परेका यूवाहरुको शव भेरी नदीमा फेला परेको थियो । सबै मृतकहरुको टाउको, छाती, हात र खुट्टामा चोटपटक देखिएको, पेट नफुलिएको, पानी नभरिएको, शरीर नसुन्निएको देखिन्थ्यो ।

 लकडाउन उल्लघन गरेर यूवाहरु गाउँ पसेको भन्दै चौरजहारी नपा वडा न. ८ का वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए । तर घटनास्थलमा आउदा भने कुटपिट भइरहेको थियो । प्रहरीले सिठ्ठी बजाएपछि मात्रै कुटपिट हुन रोकिएको भन्ने प्रहरी नै बताउँछ ।

 स्थानीय प्रत्यक्षदर्शीका अनुसार निहत्था यूवाहरुमाथि एकोहोरो कुटपिट भएको थियो । त्यतिबेला कुटपिट नगर्न अनुरोध गर्दै चिच्चाउदा पनि गाउँलेहरुले लखेट्न छाडेनन् । युवाहरुले कुनै प्रतिवाद गरेको देखिदैन । गाउँलेहरु कोही पनि घाईते भएका छैनन ।

 प्रहरी २०-२२ मिनेटभित्र घटनास्थलमा पुगेको, कुटपिट भइरहेको भएपनि प्रहरीलाई गलत सूचना दिइएकाले १२ जना युवाहरुलाई पक्राउ गरी लगिएको देखिन्छ ।

 नवराज विक र सुष्माविच ७५ सालदेखि प्रेम सम्बन्ध रहेको दुवै पक्षबाट खुल्न आएको छ । तथापि बैशाख १७ गते केटीपक्षले नवराजलाई कुटपिट गरी प्रहरीमा एक रात थुनाएको कुरा खुल्दछ । सुष्मा मल्ल नवराजको घरमा जाने बस्ने र विवाह नहुँदै नाता लगाएर बोलाचाल हुने गरेको, सुष्माका भाईलाई छोड्न जादा बैशाख १७ गते कुटपिट गरी इलाका प्रहरी कार्यालय चौरजहारीमा एक रात थुनेको र छलफलमा नआईकन नवराजलाई आफन्तको जिम्मा लगाई पठाइएको देखिन्छ ।

 अन्तरजातीय प्रेम सम्बन्धलाई केटीका परिवारले स्विकार गर्न नसक्दा नवराजलाई गाउँमा आउन नदिने गरी सोतीका केही स्थानीयले पूर्व योजना बनाएको र नवराजको टोली आइसकेपछि लकडाउनको वहानामा नवराजको हत्याकै नियतले समग्र गाउँलाई नै उत्तेजित तुल्याई नृशंस तवरले ६ जनाको क्रुरतापूर्वक हत्या भएको देखिन्छ ।

२.६ निष्कर्ष :

■ रुकुम (पश्चिम) चौरजहारी नगरपालिका ८ सोती घटना नवराज विक र सुष्मा मल्ल वीचको अन्तरजातीय प्रेमका कारण घटेको प्रष्ट हुन्छ । सुष्माका अभिभावकले दलित युवालाई स्विकार गर्न नसकेकाले योजना बद्ध आक्रमणमा उत्रिएको देखियो ।

■ जेठ १० गते नवराज विकलाई सुष्मा मार्फत गाउँमा निम्तो दिई निश्चित व्यक्तिहरुको योजनामा भएको क्रुर र बर्बरतापूर्ण तवरले नृशंसतापूर्वक ६ जना युवाको सामूहिक हत्या भएको र अन्यले कुटाई खाएको तथ्यहरुले प्रष्ट्याउँछ ।

■ स्थलगत अध्ययन अवलोकन र अनुगमनबाट प्रशासन, जनप्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मीवीच घटनाबारे छलफल अन्तरक्रिया गर्दा, घटना जातीय भेदभाव छुवाछुत जस्तो अमानवीय कुप्रथाको कारणले घटेको देखियो ।

■ चौरजहारी सोतीगाउँको घटना भवितव्य हो भन्दै यस्तो जघन्य अपराधलाई सामान्यीकरण गर्नका लागि प्रभावशाली व्यक्ति÷निकाय÷समूहरु घटना घटेकै दिनदेखि नै केन्द्रदेखि स्थानीय तहसम्म सक्रिया देखिन्छ, जुन दुर्भाग्यपूर्ण छ । कुनै प्रतिवाद नगरी घर फर्कन बाटो लागिसकेका यूवाहरुलाई गाउँमा शान्तिपूर्ण रुपमा छलफल गर्न सक्ने आधार हुँदाहुँदै वडाअध्यक्ष जस्तो जिम्मेवार जनप्रतिनिधिको नेतृत्वमा एकतर्फी साघांतिक आक्रमण र हत्या गरी भेरीमा फालेको घटनाका पीडित प्रत्यक्षदर्शीहरुको बयानबाट पुष्टि हुन्छ ।

■ घटनामा नवराजसँगै गैरदलित समुदायका यूवाहरु गोविन्द शाही र गणेश बुढामगर मगरको समेत क्रुरता पूर्वक हत्या गर्नुमा दलित नवराजलाई साथ दिएको कारण नीजहरुलाई पनि कुटपीट गरीहत्या गरिएको देखिन्छ ।

■ अपराधिलाई राजनैतिक संरक्षण हुने गरेकाले दण्डहिनता मौलाउँदै गएका कारण यो घटना घटाउन आपराधिक मानसिकताले ग्रस्त समूह उत्प्रेरित भएको देखिन्छ ।

■ आक्रमणकारीले एकोहोरो रुपमा ति यूवाहरुमाथि धारिता हतियार, तिखा ढुंगाहरुले प्रहार गर्दै माथिबाट तल भेरी नदी तर्फ लखेट्दै गएका थिए । ती यूवाहरुले कुनै पनि प्रतिवाद गरेको देखिदैन । उनीहरुले आफूहरुलाई नमार्न, निरीहतापूर्वक अनुनय विनय गर्दछन् तर गाउँलेको जत्थाभित्रका आक्रमणकारीले निर्ममता पूर्वक ढुंगाले टाउको, मुखमा हिर्काएको/थिचेको तथ्यले प्रमाणित गर्दछ । केही घाईते यूवाहरु बाँच्नका लागि भेरीको भंगालोमा हाम फालेका तर पारीपट्टीबाट आएका आक्रमणकारीले ढुंगा प्रहार गरेकाले नदी तर्न नसकि मृत्यूवरण गर्नुपरेको कारुणिक अवस्था तथ्यगत रुपमा प्रमाणित भएको छ ।

■ आक्रमणमा प्रत्यक्ष संलग्नता देखिएका वडाअध्यक्ष डम्बर बहादुर मल्लले लकडाउन उल्लघन गर्न आएका यूवाहरुलाई पक्राउ गर्न भनि प्रहरीलाई समेत गलत सूचना दिएका छन् । घटना स्थलमा पुगेको प्रहरीले कुनै खालको प्रतिबाद नगरीआक्रमणबाट घाइतेहरुलाई बचाई सुरक्षाका लागि इप्रका चौरहजारीमा लगेको देखिन्छ । प्रहरीले घाईतेको उपचारपछि घटनाको वास्तविकता खुलेको देखिन्छ । यसले घटना योजनाबद्ध रुपमा भएको भन्न सकिन्छ ।

■ घटना घटेको दिन १० गते राती नै नवराज विकको शव भेटिएको छ । तर, यति हुँदा पनि प्रहरीले अन्य ५ जना जो वेपत्ता भएका थिए जानकारी हुँदा हुँदै पनि खोजी कार्य हुँदैन । यसमा वडाअध्यक्ष सहितको ठूलो संख्याका त्यहाँ आक्रमणमा उत्रेकाहरुलाई भेरीमा यूवाहरुलाई बगाएको कुरा जानकारी हुँदा पनि सोती गाउँका स्थानीयमा मानवीय संवेदना देखिदैन । उनीहरु घर गएर मस्त सुतेको देखिन्छ ।

■ नेपाल कानुनी रुपमा विस २०२० सालको मुलकी ऐनमै छुवाछुत मुक्त राष्ट्र घोषणा भयो । २०४७ सालको संविधान, २०६३ सालमा पुन जनआन्दोलपछि बनेको सरकारले छुवाछुतमुक्त राष्ट घोषणा गरेको छ । त्यस्तै जातीय भेदभाव कसुर र सजाय ऐन २०६८ ले फौजदारी अभियोगमा मुद्धा चलाउने गरी कानुनी रुपमा दण्डनीय अपराध मानेर कारवाही गर्ने कानुन बनेको छ । नेपालको संबिधान र फौजदारी अपराध संहिता २०७४ को परिच्छेद ९ दफा १६६ समेतको प्रतिकुलको घटना प्रेम सम्बन्धमा कारण भएको देखिन्छ । तर, तत्कालिन सशस्त्र युद्धको उदगम थलो, जातीय छुवाछुत मुक्त घोषणा गरी जातीय विभेदमा नमूना जिल्ला भनिएको रुकुम पश्चिममा जातीय विभेदकै कारण आततायी र कलंकित घटना घटेकाले यो घटनालाई जातीय विभेदसँग सम्बन्धित नभएको भन्ने प्रमाणित गर्न केहि नेतृत्व वर्ग तल्लीन रहेको भन्ने पिडितको गुनासो छ । यदि त्यसो भएमा यो सिंगो मानवता विरुद्धकै ठूलो अपराधको ढाकछोप हुनेछ । समग्रमा यो घटना अन्तरजातीय प्रेम सम्बन्धबाट सृजित परिप्रेक्ष्यमा प्रतिसोधको भावनाले प्रेरित जत्थाद्धारा भएको आक्रमणका कारण घटन गएको देखिन्छ ।

■ पीडित पक्षका नवराज विक सहितका युवा र किशोरहरुमा पनि २० बर्ष नपुगी बिवाह गर्न पाइदैन भन्ने कानूनी ज्ञान र सचेतनाको अभावले १७ बर्षकी प्रेमीकालाई लिन जानुने दुखद घटना निम्ताएको देखिन्छ ।

■ नवराज बिकले साथीभाइ जुटाई प्रेमिकालाई लिन उनको घर भएको सोतीगाउँमा गएको अवस्था छोपी रीस–इवी साँधेर बसेकाहरुले नियोजित आक्रमण गर्न लकडाउन वहाना बनाएको देखिन्छ ।

२.७ सुझावहरु :

■ यो घटना अन्तरजातीय प्रेमलाई गैरदलित अभिभावकले अस्विकार गरी ज्यानै जाने गरी आक्रमणमा उत्रेको हुनाले जातीय विभेदकै घटनाका रुपमा कानुनी कारवाही गर्नुपर्ने देखिन्छ ।

■ जातीय विभेदको मानसिकताले प्रतिसोधको भावना लिई समूहमा योजनाबद्ध रुपमा आक्रमण गरेको देखिएकाले संगठित अपराध अनुसार कारवाही अघि बढाउनुपर्ने देखिन्छ ।

■ यो घटना सम्बन्धमा संसदीय छानविन समिति गठन हुनु सकारात्मक रहेको छ । संसदीय छानविन समितिले दोषीहरुलाई कानुनी कारवाही गर्न र विभिन्न आवरणमा छुवाछुतलाई नै बढावा दिन खोज्नेहरुलाई निरुत्साहीत गर्ने गरी कार्य सम्पादन गर्नुपर्दछ ।

■ कानुनी सर्वोच्चता, विधिको शासन, न्याय र समानता कायम गरी संविधानमा उल्लेखित मौलीक हकलाइ कार्यान्वयन गर्न आवश्यक छ । सोही घटनाका पिडित परिवारलाई न्याय, राहत, क्षतिपूर्ती र घाईतेहरुको उपचारको सम्पूर्ण प्रवन्ध गर्नुपर्दछ ।

■ देशभरि सिलसिलाबद्ध रुपमा घटेका जातीय विभेदका घटनाहरुको एउटा कारण दण्डहिनताको निरन्तरता पनि हो । तसर्थ दण्डहिनताको कहालिलाग्दो सिलसिला अन्त्य हुनुपदर्छ । दोषी जो कोही भएपनि कानुन सम्मत दण्डीत हुनुपर्दछ ।

■ यस घटनालाई लिएर रुकुम (पश्चिम) जाजरकोट लगायत देशका कुनै पनि ठाउँमा कुनै पनि प्रकारको सामाजिक सदभाव – सहिष्णुता खलबलिने, द्वन्द्व सृजना हुने खालको वातावरण बन्न नदिन समयमै चनाखो हुनुपर्दछ ।

■ जातीय विभेद कानुनी रुपमा अन्त्य भएपनि व्यवहारमा अन्त्य नभएकाले त्यसको अन्त्यका लागि दीर्घकालिन योजना लागू गर्नुपर्दछ ।

३.१ घटनामा मृत्यू भएकाहरुको विवरण :

१ नवराज विक (२१ बर्ष) भेरी नगरपालिका ४, रानागाउँ जाजरकोट २०७७, जेठ १० गते राती
जाजरकोटको कालेगाउँ नजिक (घटनास्थलबाट २ कि.मि टाढा)
२ टिकाराम नेपाली (२० वर्ष) चौरजहारी नगरपालिका वडा न. १, रुकुम पश्चिम २०७७, जेठ ११ गते सांझ ५.३० बजे
जाजरकोटको छेडा नजिक (घटनास्थलबाट १३ कि.मि टाढा)
३. गणेश बुढा (बिएम) (१९ वर्ष) भेरी नगरपालिका ४, रानागाउँ जाजरकोट २०७७, जेठ १२ गते सांझ ६.२० बजे
जाजरकोटको मटेला नजिक (घटनास्थलबाट २२ कि.मि टाढा)
४ लोकेन्द्र सुनार (१८ बर्ष) भेरी नगरपालिका ११, मटेला जाजरकोट २०७७, जेठ १४ गते दिनको ३.३० बजे
जाजरकोटको मटेला नजिक (घटनास्थलबाट २२ कि.मि टाढा)
५ सञ्जु विक (१९बर्ष) भेरी नगरपालिका ४, रानागाउँ जाजरकोट २०७७, जेठ १५ गते दिनको ३.३० बजे
जाजरकोटको भेरी नदी किनार (घटनास्थलबाट १२ कि.मि टाढा)
६ गोविन्द शाही (१७ वर्ष) भेरी नगरपालिका ११, मटेला जाजरकोट २०७७, जेठ २० गते दिनको ४.३० बजे
जाजरकोटको भेरी नदी किनार (घटनास्थलबाट २२ कि.मि टाढा)

३.२ चौरजहारी सोती गाउँ पुगेका नवराजका साथीहरुको विवरण

१.नवराज विक भेरी नपा ४, जाजरकोट
२. टिकाराम सुनार चौरजहारी नपा–१, रुकुम (पश्चिम)
३. गणेश बीएम भेरी नपा–४, जाजरकोट
४. सन्जु विक भेरी नपा–४, जाजरकोट
५. लोकेन्द्र सुनार भेरी नपा–११, जाजरकोट
६. गोविन्द शाही भेरी नपा–११, जाजरकोट
७. महेश कार्की भेरी नपा ३ जाजरकोट
८. विभाग पुन भेरी नपा ३ जाजरकोट
९. भोला विक भेरी नपा–३, जाजरकोट
१०. सुदिप खड्का भेरी नपा–४, जाजरकोट
११. गोविन्द सुनार भेरी नपा–११, जाजरकोट
१२. मदन शाही भेरी नपा–४, जाजरकोट
१३. इन्द्रजब्ग शाह भेरी नपा–४, जाजरकोट
१४. जीवन विक भेरी नपा ४ जाजरकोट
१५. डिल्ली विक भेरी नपा–४, जाजरकोट
१६. सुनिल सुनार राप्ती सोनारी गाउँपालिका–४, बाँके
१७. सरोज भडेल भेरी नपा, जाजरकोट
१८. लालबहादुर खड्का भेरी नपा, जाजरकोट

३.३ सरोकारवालाहरुसँगको भेटघाट :

अनुगमन टोलीले मृतक नवराजका आमा उर्मिला विक, वुवा मुनलाल र दिदि सुनिता, मृतक सञ्जिव विकका वुवा बलराम विक, आमा सविता विक र श्रीमती सविना विक, मृतक गणेश बुढा मगर आमा राधिका र दाजू भरत कुमार बुढामगर, मृतक गोविन्द शाहीका आमा भिमि कुमारी बुढाथोकी शाही, फूपू दिदि यमूना शाही, मृतक लोकेन्द्र सुनारका आमा लक्ष्मी सुनार, मृतक टिकाराम नेपालीका वुवा चोमै नेपाली, आमा गिता नेपाली श्रीमती सुनिता सुनार, घाईते तथा प्रत्यक्षदर्शी सुदीप खड्का, मदन शाही, जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) प्रमुख डिएसपि ठग बहादुर केसी, रुकुम (पश्चिम)का प्रमुख जिल्ला अधिकारी उप्रेन्द्रराज पौडेल, जिल्ला न्यायधिवक्ता (सरकारी वकिल) केशवराज चापागाई, इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्मसिंह विष्ट, असई इप्रका चौरजहारी (घटनास्थलमा पुगेका प्रहरी) सन्तोष लामिछाने लगायतलाई भेटि विस्तृत जानकारी लिएको थियो । यसैगरी प्रहरी हिरासतमा रहेका आरोपितहरुको अवस्थाका बारेमा जानकारी लिइएको थियो । यसैगरी घटनाका सन्दर्भममा स्थानीयहरु सहित दर्जनौं व्यक्तिहरुसँग भेटघाट गरिएको थियो ।