‘एकादेशका प्रधानमन्त्रीको देशवासीको नाममा अपिल’

‘एकादेशका प्रधानमन्त्रीको देशवासीको नाममा अपिल’


■ दामोदर पौडेल

विश्व कोरोनाको संक्रमणले त्रस्त छ । नेपाल अछुतो छैन । कोरोना हाम्रो देशमा पनि त्रासको कारण बनेको छ र यसले जनजीवीकालाई नै नराम्रोसँग असर गरेको छ । हामी सचेत छौँ र अझै सचेतना तथा सबैको ऐक्यबद्धताको खाँचो छ ।

सचेतनामा र गरिने कार्यमा ऐक्यबद्धता महत्वपुर्ण विषय हो । यो एकताले लड्न पर्ने ठाउँमा लड्न सजिलो हुन्छ र भ्रमहरू पनि हट्छन् । यसको लागि पारदर्शिता र सहकार्य नै महत्वपुर्ण हुन् । इमान्दारी पनि उत्तिकै महत्वपुर्ण छ । मलाई याद छ कि भारतको चीन र पाकिस्तानसँग युद्ध हुँदा त्यहाँका महिलाहरूले औंठी, फुली, बुलाकीसमेत बेचेर देशको सुरक्षाको लागि खर्च होस् भन्ने चाहेका थिए र त्यसअनुसार काम गरेका थिए । तर दुःखका साथ भन्नु पर्दछ कि यहाँ यो जटिल घडीमा मास्क, किट, ज्वरो नाप्ने साधनमा मात्र हैन राहत दिनेले गाँस कटाएर दिएको राहत पनि आवश्यक नपर्नेले लिएर थन्क्याउने र बेच्नेसमेत गरेका सुन्नमा आयो । यसले को सामान्य इमान्दारी भएको मानिस विक्षिप्त हुँदैन होला । यसको निराकरण हुन आवश्यक छ । यो जटिल घडीमा सबै नागरिकहरू यो देशका सिपाही हौं । न्यायाधीश हौ र इमान्दार नागरिक हुँदै हौ र त्यो इमान्दारीको सक्रियताको मात्रा अधिकतम् रूपमा देखाउने समय यो नै हो भन्ने बेला आएको छ र यो काम पर्ने बेला हो ।

अहिले हरेकले अरु विवादसमेत सबै बिर्सेर इमान्दारीका साथ काम गरौँ । नहुनेलाई दिउँ र नहुनेहरू पनि यो प्राप्त सहयोगप्रति म ऋणी हुन पर्दछ र यसको हिसाबकुनै समयमा मैले पुर्ण रुपमा समाजका अप्ठेको परेकालाई सहयोग गर्नमा प्रयोग गर्नु पर्दछ भन्ने भावना लिउँ । राज्यका अंगसमेत सबैले हरेक कुरा पारदर्शी बनाउँ । काम गर्दै जाउँ र त्यो काम गोप्य रुपमा गर्दै नगरौँ । यसले गर्दा हामीहरूको इमान्दारी पनि अझ बढि पुष्टि हुन्छ । पारदर्शी बनेपछि केही कमजोरी भए पनि तत्काल सच्चिन्छ र गलत मानसिकताले प्रवेश गर्न पनि सक्दैन ।

हरेक काममा प्रतिपक्षी र सचेत समुदायलाई जानकारी दिउँ र सबैको सयहोग लिउँ तर सहयोग र पारदर्शिताको नाममा जटिल अवस्थामा कामलाई रोक्ने र ढिलो नगरौँ । इमान्दारी साथ काम गरेर पनि विरोध आएमा पछि सुनुवाइमा उभिन तायार छु भन्ने सोचेर काम गरौँ । यति गरेपछि तपाइले गल्ती गर्नुहुन्न । यो समाजसेवाको मुल मन्त्र हो ।

विवादहरू पनि आए । मैले देशको भूबनोट, खानपिनका तरिका, वतावरण, प्राकृतिक ब्यवहार प्रणालीले गर्दा कोरोनाले धेरै थिच्न नसकेको भन्दा हाँसो पनि गुन्जियो । ठिकै छ हाँस्नु पनि पर्दछ । तर तथ्यले त्यो देखाएको छ । कोरोनाको आक्रमण र मृत्युको सङ्ख्या जनसंख्याको अनुपातमा कम देखिएकोमा त्यसको पनि केही कारण त पक्कै छ । प्रमाणित नभए पनि हामीले हामीहरूले अनुभव गरेका आधारमा प्राकृतिक कसरत, परम्परागत खाना, सरसफाइमा ध्यान दिँदा केही घाटा छैन । यसले फाइदा छ र हामीहरूको परम्परा ठिक रहेछ भन्ने पनि प्रमणित हुन जान्छ । हाम्रा हिन्दु ऋषिमुनीहरूले गरेका काम ठिक रहेछन् भन्ने पनि प्रमाणित हुन्छ । मेरा भनाइहरूलाई अतिरञ्जित गरिए पनि मेरो आशय यही भएको अनुरोध छ ।

हरेक नागरिक सचेत भएर, टोल–टोलबाट सजगता अपनाउने हो भने कोरोना कमजोर हुन्छ र यसको अन्त्य हुने दिन पनि आउँछ । विरोध गर्ने बल यता लगाउँ र सकारात्मक दबाब दिउँ तथा सकारात्मक दबाबलाई डाडु–पनियो हातमा हुनेहरूले ब्यवहारमा उतारौँ । यो जटिल घडीमा सरकार र प्रतिपक्ष भन्ने हुंँदैन । हामी सबै सरकार हौँ र गल्ती गर्नेका विरुद्धमा त्यो तथ्यमा अरु हामी सबै प्रतिपक्ष हौँ । गल्ती गर्नेहरू प्रतिपक्षले विरोध नगरेमा पनि सजायको दायरामा आउनु पर्दछ । सचेत र इमान्दारहरू सबैले यो वा त्यो दल नभनी गल्तीलाई औंल्याउनु पर्दछ र त्योभन्दा पहिला गल्ती नगर्न सचेत गर्नु पर्दछ ।

परिस्थितिको जटिलता पनि बुझिनु पर्दछ । देशमा मृत्युको दहशत (त्रास) छ तर साथीहरू बेला न कुबेला सत्ताको छिनाझपटीमा पनि लाग्नुभयो । सरकार बदलिनु केही हैन, संधै सरकारमा बस्छु भन्ने लोकतन्त्रवादी पनि हुन सक्दैन । त्यो मैले पनि एक लोकतन्त्रवादीको हैसियतले वुझेको छु तर समयको जटिलता हेर्नुपर्थ्यो । कम्युनिष्टहरू विश्वभर प्रतिरक्षात्मक अवस्थामा आएकोले लोकतन्त्र मान्नुपर्ने अवस्था आएको भ्रम पनि दिइएको छ । त्यो हैन, बरु लोकतन्त्र र बहुलवाद नै कमजोर भएकोेले कम्युनिष्टहरू प्रतिरक्षात्मक अवस्थामा आएका हुन् । लोकतन्त्र र बहुलवादप्रतिको पुर्ण आस्था र समर्पणले नै हामीलाई जनप्रिय बनाउने छ । बीपीले कम्युनिज्ममा लोकतन्त्र थपिदिए समाजवाद हुन्छ भनेको र मदनले बहुदलीय जनवाद भनेको मात्र कुरालाई आत्मसात गर्दा पनि हामीसँग नेपाली दर्शनको महानता प्रयोगको आवश्यकताको मात्र कमी छ भन्ने देखिन्छ । विचार लक्ष्य होइन लक्ष्य त जनताको अधिकतम हित हो । सरकारको वा मेरो त गल्ती भए आरोप लगाएर केहीपछि पनि हटाउन प्रयास हुन सक्थ्यो । तर यही कारणले विपतमा हुन पर्ने एकबद्धतामा कमी आए के हुन्छ ? यो नेपाली नागरिकहरूले र दलभित्रका निश्पक्ष इमान्दार बहुसंख्यक साथीहरूले राम्रोसँग बुझ्नुभएको छ र यसको परिणाम समयले देखाउने छ ।

यसै अवस्था देशहरू सीमा विवाद चुलियो । विवादलाई हाम्रो पक्षमा वकालत गरेर तथा प्रमाणित गरेर कोरोनाका सम्बन्धमा नै ध्यान केन्द्रित गरिरहेको छ । जनता नै नरहे र गरिव देश भक्तहरू नै नरहे देशको सीमानाको के अर्थ होला र ? प्रायः मध्य वर्ग र उच्च वर्गकाहरू सुखको लागि विदेशमा जान चाहने, पैसाको लागि गलत कार्य र सम्झौता पनि गर्ने गर्दछन् तर गरिव जनतामा देश र देशको माटो नै प्यारो हुँदोरहेछ । तथ्यले देखाएका छन् ।

जुन देशमा रोटी–बेटीको सम्बन्ध छ, जुन देशसँग साझा संस्कृति र परम्परा तथा धर्म छ, जुन देशमा हामीहरूको साझा समुन्नति र विपत्ति जोडिएको छ त्यो देशसँग मिलेर नै जानु पर्दछ । कृत्रिम झगडाको कुनै अर्थ छैन । तर नजिक भएपछि विवाद पनि धेरै हुनु स्वभाविक हो । हाम्रा घर–छिमेकमा पनि त त्यस्तै हुन्छ । त्यस्ता छिमेकीलाई अप्ठेरो पार्ने काम गर्नु उपयुक्त हुँदैन र यसमा सचेत हुनु पर्दछ, तर त्यो छिमेकीले पनि हामीलाई हेप्न हुँदैन । हामीहरूको समान हैसियत र प्रमाणलाई बुझ्नु पर्दछ । एकता र मित्रता एउटा दिने र अर्को लिने मात्र गरेर हुन सक्दैन । यसै आधारमा सम्बन्धलाई हेरेमा विवाद सुल्झन्छन् । हामीहरूको प्रयास त्यसमा रहनु पर्दछ र रहन्छ ।

अरु छिमेकीहरूसँगको सम्बन्ध भौगोलिकताको आधारमा सुमधुर हुनै पर्दछ । सब छिमेकीसँगको निकटता अपरिहार्य हो र त्यो औचित्यको आधारमा हुने ब्यवहारले नै स्थापित हामीहरूको राम्रो भविष्य निर्धारित गर्दछ र बलियो बनाउँछ । हामीले अर्को मित्र राष्ट्रसँग त्यस्तो सुमधुरता कायम पनि गरेका छौँ ।

यस विषम परिस्थितिमा सबैले ब्यक्तिगत आम्दानी, राज्यबाट पाउने तलव सुविधाहरू समेत न्युनतम् आवश्यकताको आधारमा लिएर अरु पैसा राज्यलाई नै उचित ब्यवथापनको लागि दिने मानसिकता बनाउनु पर्दछ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको लगनशीलता र सुरक्षाको लागि ध्यान दिनै पर्दछ । खर्च कम तर मुख्य आवश्यक विषयमा सचेततापूर्ण किसिमले खर्च गर्नै पर्दछ । सबैलाई थाहा छ । पेट सबैभन्दा महत्वपुर्ण हो । यसलाई चाहिन्छ र यसैले दिन्छ पनि । त्यसैले उदारमनाहरू र राज्यका निकायले सम्भव भएसम्म देशका हरेक वडामा सामुहिक भान्साको ब्यवस्था गर्ने र त्यो भान्सामा दाउराको प्रयोग गर्ने, सबैले सामाजिक दूरी कायम राखेर काम गर्ने, खानाको आवश्यक हुनेहरूले नाम लेखाउने, अरु खाद्यान्न आफैले ब्यवस्था गर्ने र केवल खाना (भात, रोटी आदि) त्यहाँ उपलब्ध गर्ने र धेरै जनसंख्या भएको स्थानमा टोलमा नै त्यो ब्यवस्था गर्ने प्रबन्ध महत्वपुर्ण हुने छ । खानेहरूको लगत राख्ने र उनीहरूको लागि भएका खर्च पनि उनीहरूलाई जानकारी दिने अनि उनीहरूलाई समाजले के गरेको छ भन्ने जानकारी हुँदा उनीहरू पनि समाजप्रति आभारी हुने छन् । सम्भव भएको स्थानमा यसो गर्दा सहयोगको दुरुपयोग हुँदैन र खर्च पनि कम हुन्छ ।

अन्त्यमा, सेवा दिने कार्यमा मेरा दलका सवबै साथीहरूले म सरकार पक्षको हुँ त्यसैले मैले बढि सेवा गर्नु पर्दछ भन्ने सोच्न सकौँ र फाइदा लिनेमा हामी सबै नेपालीको बराबर अधिकार छ भन्ने ब्यवहार गरौँ । जनताले हामीमा त्यही त्याग छ भनेर नै हामीलाई सरकार बनाउन मत दिएका हुन् । यो कार्य सबैले गरे अझै राम्रो हुने छ । यसले हामीहरूको कद बढ्ने छ र कद बढाउने पनि यसरी नै हो । जालझेल, पैसा, विदेशी चलखेलको आधारमा कद वढाएर जनताको हित हुँदैन र जनतामा राम्रो तथा दीर्घकालीन सन्देश पनि जाँदैन । देश अझै गरिवीको गर्तमा जान्छ तर हामीलाई समुन्नत राज्य अनि जनता चाहिएको छ र त्यो हामीहरूको हातमा छ ।

नवराज एकादेशका राजा बनेका थिए, आज म एकादेशको प्रधानमन्त्री बनेको छु ।