लकडाउनमा ‘सम्बन्ध’मा देखिएको समस्या

लकडाउनमा ‘सम्बन्ध’मा देखिएको समस्या


■ बबिता बस्नेत

विवाहित, अविवाहित हरेक मानिसलाई स्वतन्त्रता प्रिय लाग्छ, लागेको देखिन्छ तर पनि विवाहलाई ‘बन्धन’ किन भनिएको होला ? विवाहको रूपमा प्राप्त एकर्काको साथलाई बन्धनका रूपमा परिभाषित र अभ्यास गरिदिँदा मानिसहरू कति सकसका बीच बाँचिरहेका रहेछन् भन्ने कुराको विश्वब्यापी परिदृष्य ‘लकडाउन’ले देखाइदिएको छ । कोभिड–१९ का कारण भएको ‘लकडाउन’ले पति–पत्नी जतिबेला पनि घरमा संँगै बस्नुपर्ने अवस्थाले धेरै कुरुप परिस्थितिहरू निम्त्याएको विभिन्न घटनाले देखाएका छन् । यो विषयमा अनुसन्धान गर्ने हो भने त्यस्ता धेरै कुरा बाहिर आउने छन् जसले मानिसहरू जीवनसाथीको अवधारणा बदल्न चाहन्छन् भन्ने देखाउनेछ ।

कुनै जमाना थियो– अधिकांश पुरुषले केही श्रीमतीहरू विवाह नै गरेर घर ल्याउँथे । विवाहको ‘बन्धन’ महिलामा मात्रै लागु हुन्थ्यो । आफ्नो कमाई हुँदैनथ्यो, आर्थिक परनिर्भरताका कारण जे–जस्तो परिस्थिति आए पनि सहेर बस्नु पर्थ्यो । अहिले महिलाहरू पनि कामकाजी हुन थाले । बहुविवाहलाई निषेध गर्ने कानून बन्यो । परिस्थितिले फरक मोड लियो तर पति–पत्नी सम्बन्धमा जति बाहिर देखाइन्छ त्यति इमानदारी भने रहेको देखिँदैन ।

गत अप्रिल १४ मा टाइम्स अफ इन्डियामा प्रकाशित हिमानी अरोराको अनुभव धेरै कामकाजी महिलालाई झस्काउने खालको छ । जसको सारांश यस्तो छ– ‘कामकाजी भएकाले पतिसँगसँगै बिताउने समय कम हुन्थ्यो । लकडाउनले त्यो अवसर दिएकोमा म खुशी थिएँ । कार्यालयले ‘वर्किङ फ्रम होम’ लागु गरेपछि दुवै जना घरैबाट काम गर्न थाल्यौँ । पहिलो हप्ता सहजै बित्यो । मेरा पति प्रायः मोबाइल चलाइरहन्थे, ‘कति चलाएको होला !’ जस्तो लाग्थ्यो, खासै केही सोचिनँ । तर भित्री मनले भने ‘के हो यस्तो यो ? केही त छ’ भनिरहेको थियो । दिन बित्दै जाँदा उनको चुरोटको ब्रेक लामो हुँदै गयो । एक्लै बस्न मन पराउने, म नजिक नआइदिओस् झैँ गर्ने ! एक साँझ उनी चुरोट खान बरण्डामा निस्किनुअघि उनको पाइन्टको खल्तीमा फोनमा ‘भाइब्रेसन’को आवाज आयो । उनले चलाउँदै आएको फोन हातमै थियो, मेरो पनि फोन मसँगै थियो । म छक्क परेँ र उनलाई भनेँ, तर ‘खै मैले त सुनिनँ’ भने । भाइब्रेसनको आवाज रोकिएन, फोन भेटियो । मेरो पतिका दुइवटा फोन छन् भन्ने मलाई कहिल्यै थाहा थिएन । के–कसो हो खोजी हुने नै भयो । फोनमा एउटा मात्रै सेभ नगरिएको नम्बरबाट फोन र म्यासेजहरू आएको देखियो । म्यासेजमा के थियो कुरा गरी साध्य छैन ।

सम्बन्धमा इमान्दारी र ब्यक्तिगत ‘स्पेस’ फरक कुरा हुन् । कति मानिस सम्बन्धमा इमानदार हुँदाहुँदै पनि आफू कतिबेला उठ्ने, कतिबेला सुत्ने, के पढ्ने, के हेर्ने जस्ता कुरामा आफ्नै स्पेस चाहन्छन् ।

सधैं काममा ब्यस्त मेरो जीवनले उनमाथि शंका गर्ने कल्पना गर्नै दिएको थिएन । ‘मेरो ब्यक्तिगत स्पेसमा हस्तक्षेप नगर’ भन्ने उनको कुराले ठुलो चोट पुऱ्यायो । सोध्दा थाहा भयो, विगत ६ महिनादेखि उनको अफेयर रहेछ । मबाट लुकाउनका लागि अर्को फोन लिएका रहेछन् । दिनभरीको प्रयोगपछि फर्किंदा त्यो फोन अफिसमै राख्दा रहेछन् । लकडाउनका कारण फोन घरमा आइपुगेको रहेछ । बरण्डामा चुरोटको लामो ब्रेकको कारण पनि त्यही रहेछ । सब कुरा थाहा पाएपछि केही दिन हाम्रो बोलचाल भएन । त्यसरी जीवन चल्ने कुरा थिएन, मैले नै छुट्टिने प्रस्ताव राखेँ र भनेँ– ‘यति धेरै अविश्वासका बीच सँगै बस्न हुँदैन, हामी छुट्टिऔँ ।’ उनले भने– ‘म तिमीलाई धेरै माया गर्छु, छुट्टिने कुरा नगर, तिमीबिनाको जीवन मैले सोचेको छैन । तिमीलाई चोट नपुगोस् भनेर म अफिसमै फोन छोडेर आउने गर्थें, मलाई माफ गर ।’

‘लकडाउन’मै या त्यसअघि हामीमध्ये कतिलाई यस्तो घटना भएको होला ! महिला मात्र होइन पुरुषहरू पनि यस्ता घटनाका साक्षी भएका होलान् । फरकचाहिँ के हो भने माफी दिनेमा महिलाहरूको संख्या बढि छ, हुन्छ । यदि माफी दिए नै भने पनि पुरुषहरूले यस्ता घटनालाई जिन्दगीभर मुद्दा बनाइरहन्छन् । महिलाहरूले भने सकेसम्म चाँडै बिर्सिदिनु पर्छ, थाहा नपाएजस्तो गरिदिनु पर्ने हुन्छ । अहिले मोबाइल र सोसियल मिडियाका कारण यो करिव–करिव घर–घरको कहानी भएको छ । घटना के भए ? भन्दा पनि किन भइरहेका छन् ? यसको अर्थ के हो ? भन्नेतिर लाग्नुपर्छ होला । यसको अर्थ हो सही या गलत आफ्नो ठाउँमा छ, मानिसहरू आफ्नो ब्यक्तिगत स्पेस चाहन्छन् । तर त्यो स्पेसको प्रयोग महिला र पुरुषले फरक तरिकाले गरिरहेका छन् । पुरुषहरू घरमा पत्नीलाई ‘तिमीबिनाको जीवन त मैले सोचेकै छैन नि’ भन्दै प्रयोग गरिरहेका छन् भने महिलाहरू कोही अलिकति नजिक हुनासाथ आफू पूरै प्रेममा परेको ठान्दै सबै कुरा छोड्न तयार भएर प्रयोग गरिरहेका छन् । जसका कारण अन्तिममा दुःख पाउने महिलाहरू नै हुन्छन् । यस्ता घटानाका उदाहरण वैदेशिक रोजगारीका लागि बाहिर गएकाहरूको परिवार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका मुद्दा शाखादेखि अदालत हुँदै आफैंमा सीमित घटनासम्म यत्रतत्र छन् । ‘लक डाउन’ खुलेपछि यस्ता घटनामा वृद्धि हुने सम्भावना बढि छ ।

बाँच्दा मात्रै होइन मरेपछि पनि मुक्तिको कामना गरिन्छ, मुक्तिको अर्थ कसैको बन्धनमा नपर्नु हो । मरेपछि बन्धनलाई बाधाको रुपमा लिइएको छ, मरेपछि मात्र होइन ज्युँदै हुँदा पनि कुनै पनि प्रकारको बन्धन बाधा नै हो ।

मलेशियाका अखबारहरूमा पति–पत्नी सधैं घरमा बस्नु तनावपूर्ण रहेका विभिन्न सामाग्रीहरू प्रकाशित भएका छन् । लकडाउनका कारण ‘मि टाइम’ अर्थात् ‘आफ्नो समय’ नहुँदा दिनहरू कठिन रहेको र सम्बन्धमा दरार आएको मानिसहरूको भनाई छ । चीनमा ‘लकडाउन’पछि २५ प्रतिशत सम्बन्ध बिच्छेद बढेको कानून ब्यवसायीहरूले बताएका छन्, जुन सन् २००३ पछिको सबैभन्दा उच्च दर हो । सन् २००३ मा सार्सका कारण केही समय घरमा बस्दा हङकङ र चीनमा धेरैको सम्बन्धमा समस्या आएको थियो । छोटो समयमै धेरै मानिसहरू छुट्टिएका थिए । अहिले विश्वब्यापी रूपमै लकडाउनले पति–पत्नी सम्बन्धमा सङ्कट ल्याएको छ । सम्बन्धमा इमान्दारी र ब्यक्तिगत ‘स्पेस’ फरक कुरा हुन् । कति मानिस सम्बन्धमा इमानदार हुँदाहुँदै पनि आफू कतिबेला उठ्ने, कतिबेला सुत्ने, के पढ्ने, के हेर्ने जस्ता कुरामा आफ्नै स्पेस चाहन्छन् । तर कतिले भने यसलाई फरक ढङ्गले उपयोग गरिरहेका हुन सक्छन् । जे होस्, कोरोनाले धेरैलाई आफ्नो सम्बन्ध ‘टेष्ट’ गर्ने अवसर दिएको छ । सम्बन्ध बिच्छेदका कारणमा सँगै बस्दा स–साना कुरामा गरिने किचकिच, विवाहेत्तर सम्बन्ध र कुनै पनि समय शारीरिक सम्बन्धका लागि तयार हुनुपर्ने कुरा प्रमुख रहेका छन् ।

हामी प्रायः आफ्नो मान्छे आफूजस्तै हुनुपर्ने मान्यता राख्छौँ । प्रकृतिले हरेक मानिसलाई फरक बनाएको छ । हरेक मानिसका सोच र प्रवृत्तिहरू फरक छन् । कसैलाई के राम्रो लाग्छ, कसैलाई के, विषय र सन्दर्भहरूलाई हेर्ने दृष्टिकोणहरू फरक छन् । कसैलाई मन्दिर जान मन लाग्छ, कसैलाई डिस्को जान मन लाग्छ । जो जहाँ गए पनि चाहिएको चाहिँ आखिर खुशी नै हो । मानिसपिच्छे तनावहरू फरक छन् र ती तनावको ब्यवस्थापन गर्ने तौर–तरिकाहरू पनि फरक छन् । मिलेर अगाडि बढ्ने हो भने विवाह आफैमा राम्रो, ब्यवस्थित हुन मद्दत पुग्ने संस्था हो । तर सम्बन्धहरू आफ्ना लागि भन्दा अरुका लागि अघि बढिरहेका जस्ता लाग्छन् । समाजले के भन्ला, परिवारले के भन्ला ? यसलाई त बन्धनमैं राख्नुपर्छ, कहाँ जान्छ, जान्छे, के गर्छ, गर्छे के थाहा ? एकर्काप्रतिको शङ्कैशङ्कामा जिन्दगीका सुनौला दिनहरू खेर फाल्नेहरूको सङ्ख्या ठूलो छ ।

घरमा पत्नी कुक र वेट्रेस पतिचाहिँ रेष्टुरेन्टको ग्राहक जस्तो एउटा पकाउने, सर्भ गर्ने अनि अर्कोचाहिँ बसेर अर्डर मात्रै गर्ने दृष्य कतिले हेर्नुभयो र कतिचाहिँ प्रत्यक्ष पात्र भइरहनु भएको होला ।

हरेक मानिस आफैमा फरक हो, यसमा महिला, पुरुष या तेस्रोलिङ्गी भन्ने छैन । फरक पृष्ठभूमि, फरक विचार, फरक चाहना, इच्छा–आकाङ्क्षा भएका मानिसले सँगै जिन्दगी बिताउने कल्पना गर्नुृ र बिताउनु चानचुने कुरा पनि होइन । तर यो संवेदनशीलता र ‘पर्सनल च्वाइस’का बारेमा हामीकहाँ चर्चा नै हुने गरेको छैन । एकार्काको ब्यक्तिगत रोजाई र चाहनालाई सम्मान गर्नेहरूको सम्बन्ध जति सहज रूपमा चलेको छ, नगर्नेहरूको त्यतिकै तनावमय छ । महिला हुन् या पुरुष मानिसले अन्ततः चाहने स्वतन्त्रता हो, आफ्नो इच्छा या मर्जीको जीवन हो । बाँच्दा मात्रै होइन मरेपछि पनि मुक्तिको कामना गरिन्छ, मुक्तिको अर्थ कसैको बन्धनमा नपर्नु हो । मरेपछि बन्धनलाई बाधाको रुपमा लिइएको छ, मरेपछि मात्र होइन ज्युँदै हुँदा पनि कुनै पनि प्रकारको बन्धन बाधा नै हो । जबसम्म कसैको स्वतन्त्र अस्तित्व लडाइँ झगडाको विषय बन्छ त्यसले परिवार र समाजमा सम्बन्धलाई हेर्ने दृष्टिकोणमा समभाव ल्याउन सक्दैन ।

उ म होइन, मभन्दा फरक या छुट्टै मानिस हो, उसका र मेरा रुचिहरू फरक छन्, भनेर एकर्कालाई बुझ्न मात्रै सकियो भने धेरै असहज सम्बन्धहरू सहज भएर जान्छन् । यो लकडाउनले कतिलाई नजिक पनि बनायो होला, कतिलाई परिस्थिति आत्मसात गर्ने मौका पनि मिल्यो होला । तर जे–जे कुरा गरे पनि समस्या अन्ततः दृष्टिकोण, एटिच्युड र ब्यवहारकै कारण सिर्जना भएको हो । मलेशियाको महिला मन्त्रालयले प्रकाशित गरेको ‘लकडाउनका बेला घरमा बस्दा महिलाहरू राम्रो लुगा लगाएर चिटिक्क परेर बस’ भन्ने विज्ञापनले आलोचना पाए पनि त्यसले दिने अर्थ मन पराउनेहरूको सङ्ख्या ठुलो छ । घरमा पत्नी कुक र वेट्रेस पतिचाहिँ रेष्टुरेन्टको ग्राहक जस्तो एउटा पकाउने, सर्भ गर्ने अनि अर्कोचाहिँ बसेर अर्डर मात्रै गर्ने दृष्य कतिले हेर्नुभयो र कतिचाहिँ प्रत्यक्ष पात्र भइरहनु भएको होला । यस्ता कुराले सम्बन्धमा मिठास ल्याउँछन् भनेर सोच्नु सही हुँदैन ।