महानायकलाई जन्मदिनको शुभकामना

महानायकलाई जन्मदिनको शुभकामना


■ राजन घिमिरे

नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालको आज जन्म दिन । नेपाली चलचित्र कर्ममा लागेका कलाकारको जन्म दिनलाई लिएर सामाजिक सन्जाल तातेको र समाजिक सन्जालमा बढी ठाउँ पाएका कलाकारमा राजेश हमाल नै पहिलो नम्बरमा छन् भन्दा अत्युक्ति नहोला । उनका फ्यानहरू त भए नै, सहकर्मी र सहधर्मीहरूबाट पनि हमाललाई जन्मदिनको शुभकामना दिन होडबाजी नै चलेको छ । हरेक क्षेत्र, विधा, तह र तप्कामा आवद्धहरूबाट हमाललाई आएको शुभकामनाबाट प्रतीत हुन्छ कि उनको उचाई र लोकप्रियता नेपाली चलचित्रकर्ममा कति अग्लो छ भनेर ।

के सडक, के महल, के देश के विदेश, के बालक के वृद्ध महानायक राजेश हमालको क्रेज र उनका प्रशंसकहरूको संख्या गन्नु भनेको सूर्यलाई हत्केलाले छेके भन्नु जस्तै हो । नेपाली चलचित्रको ब्यवसायिक धारलाई नयाँ उचाई र वजन दिन सफल हमाल यस्ता अभिनेता हुन् जसको स्टाइल वा हाउभाउले देश–विदेश ततायो । क्रेज र लोकप्रियताको मापदण्ड त्यो कलाकारको स्टाइललाई दर्शकहरूले सिको गर्नु पनि हो । नेपाली चलचित्रकर्ममा कपाल पाल्नेदेखि लिएर हेहेहेहेहेहेहे… भनेर सम्वाद बोल्नेसम्मको हमालको सिको गरे दर्शकहरूले । उनको हेहेहेहेहेहे… , सम्वाद बोल्ने शैलीको त आज पनि अनुशरण गरिन्छ ।

यसरी डाइलग डेलिभरीमै वाहवाही कमाएका हमालको यो हाराहारीमा सम्भवतः कुनै चलचित्रकर्मी पुगेका छैनन् आजसम्म । आज पनि हमालले निर्देशक प्रकाश सायमीको चलचित्र पृथ्वीमा बोलेको ‘साथीको लागि यो हात सलाम हो, दुश्मनको लागि यो हात फलाम हो, यसैगरी नारायण पुरीको चलचित्र शंकरमा ‘ म शंकर हुं शंकर..’ जस्ता सम्वादहरूले आज पनि शानदारका साथ उही उचाई हात पारिरहेका छन् । २०–२५ वर्ष अगाडि हमालले बोलेको यस्ता सम्वादको चर्चा र लोकप्रियतामा आज पनि, न त कमी आएको छ न त ह्रास नै । उनको हातमा चलचित्र परोस या नपरोस् राजेश हमाल सधैं चर्चा र वाहवाहीमा । यो नै एउटा कलाकारको नाम, इज्जत, शान र दह्रो उपस्थिति होइन र ?

कुनै समय हमाललाई थोरै सिनमा राखेर र एउटा गीतमा मात्र प्रस्तुत गरेर निर्माताहरूले चलचित्र बिकाउँथे । उनको टाउको देख्नासाथ हलमा जनसागर ओइरहने समयमा पनि हमालले आफूमा घमण्ड कहिले प्रस्तुत गरेनन् । उनलाई आफ्नो प्रतिस्पर्धी ठान्दै अब हमालको दिन गयो भनेर इगो साट्नेहरूसँग पनि उनले सहकर्मीकै ब्यबहार गरे । राजेशलाई ढाल्छु भनेर आउनेहरू आज कुन कुनामा छन थाहा छैन, तर हमाल आज आइडियलको रूपमा शानका साथ लागि परिरहेका छन् । त्यसैले त उनलाई दर्शकहरूले महानायकको उपाधि दिएका हुन् ।

चलचित्र यूगदेखियूगसम्मबाट अभिनय यात्रा शुरू गरेका हमालले अभिनय गरेका चर्चित चलचित्रहरूमा देउता, वसन्ती, ढुकढुकी, यो मायाको सागर, अर्जुन, चाँदनी, मायाज बार, साथी, पृथ्वी, सीमाना, एक नम्बरको पाखे लगायतका छन् । पछिल्लो समय टेलिभिजन शो ‘को बन्छ करोडपति’ हमालको अर्को इनिङ थियो । अहिलेसम्म ३ सयभन्दा बढी चलचित्र र सयौँ टेलिभिजन विज्ञापनहरूमा आफ्नो दह्रो उपस्थिति जनाइसकेका यी महानायकको अब एउटै उद्देश्य छ चलचित्र निर्देशन गर्ने । यति बेला निर्देशन विधामा काम गर्ने तयारीमा रहेका नेपाली चलचित्र विधाका सर्वाधिक चर्चित यी नायकको निर्देशक बन्ने उद्देश्य चाँडै पुरा होस्, उनलाई हामी पनि जन्म दिनको मुरी–मुरी शुभकामना दिन चाहन्छौँ ।