मानवता उद्यान

मानवता उद्यान


■ रमेश भट्टराई ‘सहृदयी’

नेपथ्यमा लघारिएको रामराज्य
राता झण्डाहरूमा अल्झिएर
थला परेका परेवाहरू
स्वाधीनताको बलिबेदीमा चढ्दा
देउकी, झुमा या छाउको भङ्गालोमा भक्कानिँदा
आमाको आँचल रगताम्मे भएपछि
तुहिन्छन् गर्भका बालिका
भोजन, चेतन र उल्झन भिरेर
अनायास,
मानवताका पर्खाल ढलेछन् ।

बुद्धत्व ढल्दा,
हिटलरी दम्भ बल्दा
विदुरनीतिभित्रको धिमे बजाएर
युधिष्ठिर–सत्यता कृष्ण–वंशी धुनभित्र बज्थ्यो,
तर,
आँशुको घुड्कीमा
राष्ट्रियता खोतल्ने धृष्टता सहन्न
‘अतिथि देवो’ लत्याएर
मानवताहीन स्वार्थको दुर्गन्धमा
भो, अन्ध अनुकरणका डोरी चुँडाऊ
आमाको गालाको खोँच हेर त !
भो, अब मेरै भ्रातृत्व सौम्यता फर्काऊ ।

सुस्ता, लिम्पिया या दशगजा चेपिँदा
आसन्दिको लज्जाबोध हुन्छ,
माटोको टीका लगाएर
अस्ताचलसम्मका इतिहास पल्टाएपछि
हो, आमा
म चोइटिएर, दलिएर कुण्ठित कदापि बन्न सकिनँ
सङ्घर्षको लेखोटभित्र
म पुर्ख्यौली शान, मान र म्यान भिरेरै
हरपल शारदीय हवामा
चन्द्र–सूर्य एकताभित्र
अञ्जुलीभरि बन्धुत्वबोधको उद्यान बसाउँछु ।

नागबेली जिन्दगीमा
छरपस्ट मोती बटुल्दै
बलेँसीमा दबिएका रैथाने शिल्पमा
विज्ञानको रम्य जादु गाँसेर
धकेलिएको पसिना ढिक्का बटुल्दै
मौलिक मानवताको स्थायी उद्यान जगाउँछु ।