प्रदेशसभा सदस्य शाहीद्वारा स्वास्थ्य सामग्री प्रदान

प्रदेशसभा सदस्य शाहीद्वारा स्वास्थ्य सामग्री प्रदान


आरपी उपाध्या, नवलपरासी

कोरोना भाइरसको महामारीको समयमा जोखिम उठाएर सीमावर्ती क्षेत्रमा कार्यरत सञ्चारकर्मी एवम् सुरक्षाकर्मीहरूलाई प्रदेश ५ को प्रदेशसभा सदस्यद्वारा स्वास्थ्य–सुरक्षा सामग्री प्रदान गरिएको छ ।

प्रदेश ५ का प्रदेशसभा सदस्य अजय शाहीले इलाका प्रहरी कार्यालय बेलाटारीका सुरक्षाकर्मी र आधा दर्जन सङ्ख्यामा सञ्चारकर्मीहरूलाई पीपीइ सेट, मास्क, गगल्स, सेनेटाइजरलगायत सामग्री प्रदान गरेका हुन् ।

प्रदेशसभा सदस्य शाहीले सुस्ता गाउँपालिका दक्षिणी सीमावर्ती इलाकामा सीमा सुरक्षा कार्यमा खटेका सशस्त्र प्रहरीका जवान र अन्य पचास सर्वसाधारणलाई पनि कोरोना भाइरसको प्रकोपबाट बचाउने तथा इलाकामा प्रयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

यस्तै, प्रतापपुर स्वास्थ्यकेन्द्रलाई पनि उल्लिखित स्वास्थ्य सामग्री सांसद शाहीले निजी खर्चमा उपलब्ध गराएका र आवश्यकताअनुसार थप सामग्री आगामी दिनमा पनि उपलब्ध गराउने जानकारी दिएका छन् ।

प्रदेश ५ यतिबेला संक्रमणको उच्च जोखिममा रहेकोले प्रदेशवासीले विशेष सावधानी अपनाउनु आवश्यक रहेको उल्लेख गर्दै सांसद शाहीले प्रदेशमा प्रभावकारी ढङ्गबाट स्वास्थ्यपरीक्षणको दायरा बढाउन र सर्वसाधारणलाई राहत उपलब्ध गराउन आफूले प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आएको पनि बताए ।