स्पेनले फ्रान्स र पोर्चुगलसँगको सीमा खुला गर्ने

स्पेनले फ्रान्स र पोर्चुगलसँगको सीमा खुला गर्ने


कोरोनाभाइरसको अत्यधिक सङ्क्रमण भएका मुलुकहरूमध्येको यूरोपेली मुलुक स्पेनले महामारी नियन्त्रणका लागि बन्द रहेका फ्रान्स र पोर्चुगलसँगको सिमा नाकाहरूलाई यही जुन २२ पछि खुला गर्ने भएको छ ।

स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या क्रमशः कम हुँदै गएको र देशले सङ्क्रमण फैलिनबाट रोक्ने प्रयासस्वरूप विगतमा लिएका उपायलाई क्रमशः खुकुलो पार्ने नीति लिएको स्पेनका पर्यटनमन्त्री रेयस मारोटोले सञ्चारमाध्यमसँग बताएकी छन् । यही जुन २२ पछि फ्रान्स र पोर्चुगलसँगको सीमानाका लाई पुनः सञ्चालनमा ल्याइन उनले जानकारी दिएको एएफपीले जनाएको छ ।

सिद्धान्ततः १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने यसपहिलेको अनिवार्य शर्तलाई पनि ती नाकाबाट प्रवेश गर्ने पर्यटकका लागि हटाइने उनको भनाई छ ।

यसले फ्रान्सेली तथा पोर्चुगाली पर्यटकलाई स्पेनमा स्वागत गर्ने बाटोलाई महामारीपछि पुनः खुला गर्ने मारोटोको तर्क छ ।

स्पेनले देशव्यापी बन्दाबन्दीको घोषणा गरेको तीन दिनपछि फ्रान्स र पोर्चुगलसँगको सीमानाकालाई गत मार्च १७ देखि बन्द गरेको थियो ।

स्पेनमा बिहीबार (४ जुन) सम्म दुई लाख ४० हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित पुगेका छन् भने २७ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ ।

स्पेनले गत मे १५ पछि स्पेन प्रवेश गर्ने व्यक्तिले अनिवार्य दुई हप्ता ‘सेल्फ आइसोलेसन’ मा बस्नुपर्ने गरी अन्तर्राष्ट्रिय आगमनलाई खुला गरेको थियो । यो उपाय हवाई मार्ग, जल वा स्थल मार्गबाट आउने यात्रुका लागि जुलाई १ सम्मका लागि बाध्यकारी रहने निर्णय स्पेन सरकारले यस पहिले नै गरेको छ ।