अमेरिकामा चलेको आन्दोलनका क्रममा ५५ अर्ब डलरबराबरको क्षति

अमेरिकामा चलेको आन्दोलनका क्रममा ५५ अर्ब डलरबराबरको क्षति


अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको छ ।

मिनियापोलिसका अधिकारीहरूलाई उद्धृत गर्दै एपीले जनाएअनुसार आन्दोलनका क्रममा भएको लुटपाट, आगजनी र तोडफोडका कारण यति ठूलो रकम बराबरको क्षति भएको हो ।

उनीहरूले अहिलेसम्मको प्रारम्भिक विवरण अनुसार २२० घरमा क्षति भएको छ भने क्षति भएका भवनहरूको सङ्ख्या त्योभन्दा बढी हुन सक्ने अनुमान गरेका छन् ।

प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु भएपछि उनको हत्या भएकोभन्दै देशभरी प्रदर्शन भइरहेको छ ।

मिनियापोलिसका मेयर जाकोब फ्रेयीले क्षति भएकाहरूलाई पुनर्निर्माण गर्न क्षतिपुर्तिका लागि राज्य तथा संघीय सरकारसँग आग्रह गरिने बताएका छन् ।

अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभरी प्रदर्शन गर्दै आइरहेका छन् ।

आन्दोलन हिंसात्मक हुदै गएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर निषेधाज्ञा आदेश पनि जारी गर्नु परेको थियो । कतिपय ठाउँमा निषेधाज्ञा पनि तोडेर प्रदर्शनकारीहरूले आन्दोलनलाई चर्काउँदै लगेका थिए ।

प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा १२ जनाको मृत्यु पनि भएको छ । यो बीचमा हजारौँ पक्राउ परेका छन् भने सयौँ घाइते भएका छन् ।