अमेरिकामा गान्धीको प्रतिमा तोडफोड

अमेरिकामा गान्धीको प्रतिमा तोडफोड


अमेरिकास्थित भारतीय दूतावास अघिल्तिर रहेको महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ ।

एक अश्वेत अमेरिकी नागरिकको प्रहरी हिरासतमै मृत्यु भएपछि अमेरिकाभर शुरु भएको आन्दोलनका क्रममा गान्धीको प्रतिमामा तोडफोड भएको हो ।

प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुनअनुसार कारबाही गरिने अमेरिकी प्रहरीले जनाएको छ ।

गत मे महिनाको २५ मा अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मिनियापोलिसमा मृत्यु भएको थियो । अश्वेत ती व्यक्तिलाई श्वेत अमेरिकी प्रहरीले हत्या गरेको आरोप लागेको छ । हत्याको घटना प्रष्ट हुने भिडियो समेत सार्वजनिक भएको छ ।

भिडियो नै सार्वजनिक भएको र सर्वत्र दबाबपछि दोषी देखिएका प्रहरीलाई सरकारले सेवाबाट बर्खास्त गरेर कानुनी कारबाही प्रक्रिया शुरु गरिसकेको छ ।

तर पनि देशभरी विभिन्न स्वरुपमा आन्दोलन भइरहेको छ भने जनधनको समेत व्यापक क्षति भएको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले देशका तीन दर्जनभन्दा बढी सहरहरुमा कर्फ्यूसमेत लगाउनु परेको छ । आन्दोलन भएको एक हप्ताभन्दा बढी भइसकेको छ ।

गान्धीको प्रतिमामाथिको तोडफोड भने यही जुन २ र ३ तारिखको राति भएको बताइएको छ । तोडफोडका बारेमा अमेरिकास्थित भारतीय दूतावासले अमेरिकी अधिकारीहरुलाई जानकारी गराएको छ ।