बुद्ध एयरले भाडा घटायो

बुद्ध एयरले भाडा घटायो


निजी क्षेत्रको अग्रणी वायु सेवाप्रदायक कम्पनी बुद्ध एयरले भाडादर घटाएको छ । हवाई इन्धनको मूल्य घटेकाले सोहीअनुसार आफ्ना विभिन्न गन्तव्यमा भाडा समायोजन गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

हवाई दूरीअनुसार नेपाली यात्रुको हकमा अधितम रु एक हजार १ सय ५ देखि न्यूनतम रु २ सय २५ सम्म भाडादर घटाएको कम्पनीले जनाएको छ । सबैभन्दा बढी धनगढी र कम सिमरा गन्तव्य रहेको छ ।

नेपाल आयल निगमले गत अप्रिल १ तारिखदेखि हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु १५ घटाएको थियो । त्यस्तै बजेटमार्फत सरकारले इन्धनमा लाग्दै आएको पूर्वाधार कर बापतको रु १० पनि छुटको घोषणा गरेको थियो । बुद्धको माउन्टेन उडानमा रु ८ सय ६० घटेर दुई हजार २ सय ३० कायम गरिएको छ । काठमाडौं–भरतपुर जम्मा ६ सय ९५ बनाइएको छ । यो गन्तव्यमा रु २ सय ७० घटेको छ ।

त्यस्तै, काठमाडौं–पोखरा रु ३ सय ९५ घटेर रु एक हजार ३० बनाइएको छ । काठमाडौं–विराटनगर साविकको भाडामा रु ६ सय घटाई एक हजार ५ सय ६० कायम गरिएको छ । काठमाडौं–धनगढीमा रु एक हजार १ सय ५ घटेर जम्मा रु दुई हजार ८ सय ७० भएको छ भने नेपालगञ्ज गन्तब्यमा रु ८ सय १५ घटेर दुई हजार १ सय १५ बनाइएको कम्पनीले जनाएको छ ।

यसैबीच जुन १ तारिखदेखि प्रमुख पर्यटकीय गन्तव्य काठमाडौंदेखि पोखरा र चितवन आसपासका गन्तव्यको बजारीकरणको योजनामा जुटेको बुद्ध एयरले बन्दाबन्दी खुल्नासाथ उडानका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको मार्ग निर्देशनअनुसार बुद्धले ‘सुरक्षा निर्देशिका’ बनाएको छ । सुरक्षा निर्देशिकामा यात्रु, कर्मचारी जहाजको विशेष सरसफाइ, ऱ्याम्प बस, कार्गो, ट्रली, विभिन्न काउन्टर तथा कार्यालयलाई कसरी सुरक्षित राख्ने भन्ने उल्लेख छ ।

उक्त निर्देशिका अनुसार आफ्ना कर्मचारीलाई आगामी सातादेखि तालिम प्रदान गर्ने बुद्धले विज्ञप्तिमार्फत जनाएको छ ।