कोरोनामाथिको विजयपश्चात छिमेकी देशहरुसँगको आवागमन खुला गर्दै अष्ट्रिया

कोरोनामाथिको विजयपश्चात छिमेकी देशहरुसँगको आवागमन खुला गर्दै अष्ट्रिया


Sagar Subedi, Vienna

अष्ट्रियाले बिहीबार (४ जुन) देखि लागु हुने गरी आफ्ना छिमेकी राष्ट्रहरु जर्मनी, हंगेरी, स्लोभाकिया, चेक गणतन्त्र, लिक्तेस्टाइन, स्विजरल्याण्ड, स्लोभानानियासँग जोडिएका नाकाहरु बिना रोकटोक आवतजावत गर्न सकिने बताएको छ ।

अष्ट्रियाका परराष्ट्रमन्त्री आलेक्सान्द्रा सालेनवर्गले यहाँ आयोजित प्रेस मिटमार्फत यसबारे जानकारी गराएका हुन् । ज्ञातव्य छ, इटालीमा कोरोना संक्रमण दर बढ्दै गर्दाको साता दिनभित्रै अष्ट्रियाले आफूसँग जोडिएका मित्रराष्ट्रहरुको सीमानाहरुमा चेकपोष्ट खडा गरी आवजजावतमा नियन्त्रण गरेको थियो।

कोराना माहामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अष्ट्रिया प्रवेश गर्न चाहने नागरिक या गैरनागरिकहरुका निमित्त नाकामा स्वास्थ परीक्षण गरी पोजिटिभ या नेगेटिभ जे नतिजा आए पनि १४ दिनको क्वारेन्टाइन बसेपछि मात्र बाहिर निस्कन पाइने नियम लागु गरेको थियो ।

अष्ट्रियाको आगमनसम्बन्धी बुधबार नयाँ प्रवधान आए पनि छिमेकी राष्ट्रबाहेक बाँकी विश्वसँग चाहिँ संक्रमण भित्रन सक्ने अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मको लागि आगमन या प्रस्थान रोकिएको परराष्ट्रमन्त्रीले जानकारी दिए ।

छिमेकी राष्ट्र इटालीले आर्थिक संकटलाई टाल्न विदेशी आगमनलाई खुला गर्ने भने पनि अष्ट्रियाले बाँकी छिमेकी देशहरुसँग नाका खोल्दै गर्दा इटालीसँगको नाकाहरु अर्को सूचना नआइन्जेलसम्मका लागि यथावत राख्ने जानकारी दिएको छ । यद्यपि, विशेष अवस्थामा अष्ट्रिया आउन चाहनेहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्न सकिने गरी आगमन खुल्ला गर्न सकिने जानाकारी दिइएको छ ।

अष्ट्रियाले कोरोना संक्रमणलाई विजयको दिशामा लैजाँदै गर्दा पछिल्लो अवस्थामा करिव चार सय संक्रमितमध्ये ६६ जना अस्पतालको साधारण बेडमा र २१ जना सघन कक्षमा भर्ना भएर उपचार गराइरहेका छन् भने बाँकी संक्रमितहरु आफ्नै घरमा क्वारेन्टाइनमा रहेका छन् ।