रुकुम घटनाबारे रेखाको प्रश्न- ‘किशोरीको चरित्र हत्या गरेर पीडितले न्याय पाउलान् ?’

रुकुम घटनाबारे रेखाको प्रश्न- ‘किशोरीको चरित्र हत्या गरेर पीडितले न्याय पाउलान् ?’


■ राजन घिमिरे

अभिनेत्री रेखा थापाले रूकुम घटनाको दोषीमाथि कारवाही गर्न जोडदार माग गरेकी छिन् । ‘घटनासम्बद्ध दोषीहरूमाथि कारवाही र निर्दोषलाई अविलम्ब न्याय दिनु पऱ्यो’ उनले भनेकी छिन् ।

नेपाली कलाकारिताको क्षेत्रमा फरक र विशिष्ट पहिचान बनाएकी रेखा कलाकारितासँगै विभिन्न विकृतिविरुद्धका अभियान तथा सामाजिक क्रियाकलापमा पनि सशक्त अभियन्ताको रूपमा क्रियाशील रहँदै आएकी प्रभावशाली व्यक्तित्व हुन् ।

उनले रूकुम घटनासँग जोडिएकी किशोरीको चरित्र हत्या गर्ने र नारी अस्मिताको धज्जी उडाउने कार्य भएकोमा रोष प्रकट गरेकी छन् । मृतकहरूको पक्षमा न्यायको आवाज उठाउँदै गर्दा एक किशोरीमाथि ज्यादति गर्न नहुने औंल्याउँदै रेखाले प्रतिप्रश्न गरेकी छन्– ‘फेरि पनि उत्पीडित वर्गमाथि प्रहार भयो जस्तो लागेको छ । समाजको कुरीतिविरुद्ध उभिएर अन्तरजातीय प्रेम गर्ने साहस भएकी किशोरीको चरित्र हत्या गरेर कसलाई न्याय मिल्छ ?’

‘दोषीलाई कानुनी कारवाही हुनुपहिले नै एउटी केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पति बजारमा लिलाम गर्नुपर्ने ? नेपालमा न्याय पाउन केटी मान्छेले इज्जत गुमाउनु पर्ने ?’ भन्दै रेखाल छानबिनकै क्रममा रहेको घटनामा पीडित युवतीको बारेमा अनर्गल कुरा लेख्ने या बोल्ने छुट कसैलाई छैन’– उनले सजग गराएकी छिन् ।

‘बाहुन, क्षेत्री, जनजाति वा अन्य जातजातिलाई गाली गरे पनि गर्नुस् तर एउटी केटीको पेटीकोट समातेर कस्तो विद्रोहको कल्पना गर्न खोजेको ?’

‘घटनामा बाहुन, क्षेत्री, जनजाति वा अन्य जातजातिलाई गाली गरे पनि गर्नुस् तर एउटी केटीको पेटीकोट समातेर कस्तो विद्रोहको कल्पना गर्न खोजेको हो’ भन्दै अभिनेत्री एवम् सामाजिक अभियन्ता रेखाले घटनाको बारेमा तथ्य बजारमा आउनुअगाडि नै किशोरीलाई मानसिक तथा सामाजिक पीडा दिँदा भोलि भावावेगमा आई सहनशीलताको बाँध टुटेर ती किशोरीले आफ्नो देह त्याग गरिन् भने यसको जिम्मेवारी कसले लिने ? भनेर चिन्ताका साथ सवाल उठाएकी छन् ।

अन्तर्जातीय प्रेम गरेका कारण जसरी ती किशोरीको चरित्र हत्या गर्न खोजेर जातिवादी सोचलाई झन् धेरै बालबालिकामा स्थापित गर्ने खोजिएको भन्दै रेखाले एक किशोरीको इज्जतमाथि खेलबाड गरेर न्याय पाइने हो भने भोलि कुनै पनि छोरीले कसैलाई माया गर्ने छैनन् भन्ने तर्क अघिसारेकी छन् । उनले अगाडि थपिन्– ‘एउटा १७ वर्षीया किशोरीलाई मानसिक र सामाजिक उत्पिडन नदिउँ, सम्बन्धित पक्ष, निकाय र समाजसमक्ष मेरो बिन्ती छ !’

जातीय विभेद गरिएको घटनाका रूपमा चर्चामा रहेको रुकुम घटनाप्रति एकपक्षीय ढङ्गले हेर्ने उपक्रम बढिरहेको परिवेशमा अभिनेत्री रेखा थापाको यस धारणाले नयाँ तरङ्ग पैदा गर्न सक्छ । घटनाको अर्को पाटोलाई उपेक्षा गरिएको सन्दर्भमा रेखाको यस धारणाप्रति सबैले ध्यान पुऱ्याएर व्यवहार गर्नु आवश्यक देखिएको छ ।