चार वर्षीया बालिकालाई बलात्कार गरेर युवक फरार

चार वर्षीया बालिकालाई बलात्कार गरेर युवक फरार


आरपी उपाध्या, नवलपरासी

पश्चिम नवलपरासीको मंगलापुरमा चार वर्षीय बालिका बलात्कृत भएकी छन् । सरावल गाउँपालिका वडा नं. ४ मंगलापुर निवासी बालिकालाई वडा नं ४ ललितपुरका २६ वर्षीय राजकुमार सहनीले बलात्कार गरेको सरावल ४ का वडा अध्यक्ष छोटेलाल यादवले जानकारी दिए ।

बालिकाकी आमाले आफू नुहाइरहेको समयमा गत आइतबार दिनको करिव ३ बजे बालिका घरमा एक्लै खेलिरहेको बेला मिठाइको प्रलोभन देखाएर सहनीले बलात्कार गरेको बताइन् ।

बालिका रोएपछि आमा दौडिएर सो स्थानसम्म पुग्दा सहानी फरार भइसकेका थिए ।

छोरी रोइरहेको अवस्थामा फकाउँदा फुलाउँदा नमानेपछि बालिकाले गुप्ताङ्गतिर इसारा गरिन् र हेर्दा पेट डम्म फुलेको तथा संवेदनशील अंगबाट रगत बगिरहेको देखेपछि मंगलापुर स्वास्थ्य चौकी उपचारका लागि लगिएको थियो ।

स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मीले बालिकाको अवस्था गम्भीर देखेपछि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको छ । सो घट्नाबारे वडा अध्यक्ष छोटेलाल यादवले जानकारी पाउनसाथ गोबरहिया प्रहरी चौकी र जिल्ला प्रहरी कार्यलयलाई खबर गरेका थिए ।

बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त भएलगत्तै गोबरहिया र जिल्ला प्रहरी टोली मंगलापुर पुगेको थियोे ।

घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी वीरेन्द्र थापाले बताए ।